मुस्लिम मतदाता भन्छनः दोस्रो चरणको चुनाव रमादान अघि गराऊ
स्थानीय तह निर्वाचनका लागि ३, ४ र ६ नं. प्रदेशमा उत्सवको वतावरण रहेका बेला दोस्रो चरणअन्तरगत निर्वाचन हुने ५ नं. प्रदेशलगायत तराई क्षेत्रका मुस्लिम समुदायका मतदातामा भने मतदान गर्न पाइन्छ की पाइदैन भन्ने चिन्ता बढेको छ ।
यस समुदायका मतादाता तथा उमेदवारहरु १३ जेठ भित्रै चुनाव भइदिए हुन्थ्यो भन्ने आशा गरिरहेका छन् किनकी त्यसपछि मुस्लिमहरुको पर्व रमादान शुरु हुदैछ ।
“रमादान भन्दा अघि चुनाव भइदिए हुन्थ्यो, त्यसपछि चुनावमा लाग्न गाह्रो हुन्छ” बाँकेको जानकी गाउँपालिका–३ का जगतराम कुर्मी भन्छन् ।
२७ वैशाखमा सुबहरात पर्व मनाएर रमादानको तयारीमा जुटेका उनी चुनाव प्रचारमा कसरी जाने चिन्तामा छन् । नेकपा (माओवादी केन्द्र)बाट वडा अध्यक्षको उमेदवारको टिकट पाएका कुर्मी भनछन, “हाम्रो पर्व शुरु हुने वितिक्कै चुनाव लाग्छ, प्रचारमा जाने की पर्व मनाउने गाह्रो भएको छ ।”
सुबहरात पर्वलाई रमादान आगमनको रुपमा लिइनछ । यो पर्व मनाएपछि रमादानको तयारीमा जुट्ने गरिन्छ ।
सरकारले १, २, ५ र ७ नं. प्रदेशमा दोस्रो चरणअन्तरगत ३१ जेठमा निर्वाचन गर्ने निर्णय गरेको छ । जस अनुसार राष्ट्रिय निर्वाचन आयोगले चारवटै क्षेत्रमा उमेदवारको मनोनयन दर्तादेखि चुनाव चिह्न प्रदान गर्नेसम्मका कार्यक्रम १८ देखि २२ जेठसम्म तोकेको छ ।
“त्यो ठ्याक्कै पर्वको बेला हुन्छ । मतदाता भन्दा उमेदवारलाई झन गाह्रो हुन्छ” नेपालगञ्ज उपमहानगरपालिका–८ बाट वडा अध्यक्षमा नेकपा (एमाले)को उमेदवारको लागि प्रयास गरिरहेकी तलक परविन खान भन्छिन् । अझ महिलालाई मतदात गर्न जान पनि अप्ठ्यारो हुने उनी बताउँछन् ।
खान भन्छिन, “व्रत बसेको बेला घर बाहिर निस्किनै गाह्रो मान्छन । भोक भोकै मतदान गर्न त कसरी जालान !”
मुस्लिम पात्रो अनुसार नौं महिना पर्ने रमादान यो वर्ष १३ जेठदेखि ११ असारसम्म (२७ मेदेखि २५ अप्र्रिलसम्म) मनाइदैछ । यो बेला मुस्लिम समुदायका महिला तथा पुरुष व्रत बस्छन् । बिहान ४ बजेभन्दा अगाडी पानी पिउछन भने एकै पटक साँझ ७ बजेपछि मात्रै खाना खान्छन् । त्यो बीचमा पानी पनि खादैनन् । यो बेला प्रायः बाहिरी काममा पनि निस्किने गरेको उनीहरु बताउँछन् ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा मुस्लिमको जनसंख्या ४.४ प्रतिशत अर्थात ११ लाख ६४ हजार २५५ रहेको छ । जसमध्ये तराई क्षेत्रमा ११ लाख ७ हजार ४५२ छ । विशेष गरी २ र ५ नंं. प्रदेशका बाँके, रौतहट, कपिलवस्तु, बारा, सुनसरी लगायतका जिल्लामा मुस्लिम समुदायको जनसंख्या अत्यधिक छ ।
“३१ जेठमै चुनाव भयो भने महिलाहरु मतदान गर्न जादैनन्” नेपाल मुस्लिम समाज, बाँकेका अध्यक्ष मोहमद शेर वागवान भन्छन् । पुरुषलाई समेत मतदान गर्न जान गाह्रो हुने उनी बताउँछन् । दिनभरी भोकै बसेर चुनावी प्रचार प्रसार कार्यक्रममा जान मुस्लिम समुदायका नेता कार्यकर्ता असहज हुने उनको भनाइ छ ।
मुस्लिम समुदायका मतदाता, कार्यकता, नेता मात्रै होइन, अगुवाहरु पनि स्थानीय तहको निर्वाचन रमादान अघि वा पछि गर्न उपयुक्त हुने बताउँछन् ।
“रमादान सकिएपछि त ढिलो हुन्छ होला, रमादान भन्दा अघि गरिदिए हुन्थ्यो” नेपालगञ्जको जामा मस्जिदका अध्यक्ष रहिस अहमद सिद्धिकी भन्छन् । उनी १३ जेठसम्म गरेपनि मुस्लिम समुदायका मतदाता, उमेदवारलाई सहज हुने बताउँछन् । “२० वर्षपछि चुनाव हुदैछ । हाम्रो पनि अधिकारको कुरा हो, मतदान गर्न पाउनुपर्छ” अध्यक्ष सिद्धिकी भन्छन ।
तराईका बाँके, रौतहट, कपिलवस्तु, बारा, पर्सालगायतका जिल्लामा मुस्लिम समुदायको मत निर्णायक हुने गरेको छ ।
बच्चु विक/केशव राना, बाँके