घरेलु हतियारसहित उम्मेदवारका छोरा पक्राउ
नुवाकोटको तार्केश्वर गाउँपालिकाबाट माओवादी केन्द्रका दुई जना कार्यकर्ता घरेलु हतियारसहित पक्राउ परेका छन् ।
माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेदवार कमलाकुमारी तामाङका छोरा शमशेर तामाङ र सहयोगी राजेन्द्र तामाङलाई एक थान खुकुरी र तीन थान फलामको रडसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले जानकारी दिए ।
तामाङद्वयले प्रचार अभियान पछि घर फकर्दै गरेका सोही गाउँपालिकाका नेपाली कांग्रेसका कार्यकर्तालाई हतियार देखाउँदै धम्क्याएकाले नियन्त्रणमा लिएर तारुका प्रहरी चौकीमा राखी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
यस्तै विदुर नगरपालिकामा नेपाली कांग्रेसका जिल्ला सचिव तथा नगरप्रमुख उम्मेदवार ध्रुव अधिकारीका भाइ सुरेन्द्रराज अधिकारी सहित कांग्रेस कार्यकर्तालाई एमाले कार्यकर्ताले हातपात गरेको नेपाली कांग्रेसले जनाएको छ ।
विदुर नगरपालिका ९ को दशमुरेमा निर्वाचनको प्रचारप्रसार सकेर निवासतर्फ फर्कदै गरेका अधिकारी र उनका सहयोगीलाई हिजो राति १०ः०० बजे एमाले कार्यकताहरुले अवरोध गरी हातपात गरेका थिए ।
आफ्ना कार्यकर्तामाथि भएको आक्रमण र धम्कीको कांग्रेस नुवाकोटले भत्र्सना गरेको छ ।