सरकार धाँधली गर्न उद्दत छ: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चुनावमा धाँधली गर्न उद्दत रहेको आरोप लगाउँदै सरकारले लोकतान्त्रिक मूल्यमान्यता विपरितका काम गरिरहेको बताएका छन् ।
एमाले भरतपुर महानगर कमिटीको आयोजनामा आज नारायणगढमा भएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले दोस्रो चरणको चुनाव अघि बजेट ल्याउने तयारी गरेको, प्रशासनलाई आतंकित पारेको र अदालतलाई धम्काएको भन्दै सरकारको आलोचना गरे ।
उनले ठाउँ ठाउँमा एमालेका कार्यकर्तामाथि हमला भैरहेको बताउँदै थपे, "विभिन्न ठाउँमा विभिन्न व्यक्ति मरिरहेको घटना भए पनि न्याय दिन्छु भन्न नसक्नेलाई कांग्रेसले बोकेको छ ।"
माओवादीले युद्धका नाममा युवाहरुको भविष्य बर्बाद पारेको बताउँदै ओलीले बाँदरमुढे घटनाको स्मरण गरे ।
उनले भने, " बाँदरमुढे घटनाका घाइते अझै यहीँ छन्, टाँडीमा ढलाइएका कृष्ण अधिकारीकी आमा अझै अस्पतालमै छिन्, माओवादीको भाटा खाएका कांग्रेस कार्यकर्ताका ढाडमा अझै सुम्लाका डाम छन् ।"
उनले सबै क्षेत्रमा एमालेको नेतृत्व भयो भने मात्रै देश समृद्ध बन्ने दाबी गरेका थिए ।