रिपोर्टबिहिवार, बैशाख २८, २०७४

परिवर्तनको कोसेढुंगा: स्थानीय तह निर्वाचन

मुकेश पोखरेल

चितवनका मतदाता र राजनीतिक कार्यकर्ता पार्टीभन्दा विकासको पक्षमा उभिने उम्मेदवारलाई जिताउने मनस्थितिमा छन्।

कांग्रेसको प्रचारमा हिंडेका शिवराम सुनार । सबै तस्वीर: मुकेश पोखरेल

साइकलमा चारतारे झण्डा फहराउँदै नेपाली कांग्रेसको उम्मेदवारका लागि भोट माग्दै हिंडेका शिवराम सुनार भरतपुर महानगरपालिका–९ मा भेटिए।

“कांग्रेसको सक्रिय कार्यकर्ता पनि भएकोले चुनावी माहोल बनाउन हिंडेको छु” उनले भने, “हाम्रोभन्दा विकास गर्न सक्ने अरू उम्मेदवार रहेछन् भने उसैले भोट पाउनुपर्छ।” 

पहिलो चरणअन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ मा ३१ वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा चितवनका मतदाता, राजनीतिक दलका कार्यकर्ता सबै पार्टीभन्दा सक्षम उम्मेदवारको पक्षमा देखिएका छन्।

जिल्लाका विभिन्न गाउँ र शहरमा भेटिएका मतदाताले त विकास गर्न सक्ने व्यक्तिलाई भोट दिने बताए नै सुनारसँगै निर्वाचन अभियानमा लागेका कांग्रेसका सक्रिय कार्यकर्ता दीपकराज घिमिरेले पनि यसपटक दलभन्दा उम्मेदवार महत्वपूर्ण भएको बताए। उनी भन्छन्, “सक्षम र इमानदारलाई पार्टीभन्दा माथि उठेर जिताउनुपर्छ।”

२० वर्षसम्म स्थानीय निर्वाचन नहुँदा गाउँटोलको विकास नभएको बुझाइ चितवनभर छ। त्यसैले सबै यो या त्यो दल नभनी विकास गर्न सक्ने उम्मेदवारलाई जिताउन चाहन्छन्।

भरतपुर–१० हाकिमचोकका कृष्ण कोइरालाले पहिले माओवादी र लक्ष्मीप्रसाद रिजाल (६०) ले एमालेलाई भोट दिने गरेकोमा यसपटक स्थानीय तहको समस्या बुझेको उम्मेदवारलाई जिताउने बताए।

दलका कार्यकर्तामा समेत आएको यो सोचले स्थानीय तह निर्वाचनले विगतको भन्दा फरक प्रवृत्ति देखाउने लक्षण छ। मतदाताले स्थानीय तहको चुनावलाई संसदीयभन्दा बढी महत्व दिएका छन्। भरतपुर–१० का रमेश वस्ती भन्छन्, “हाम्रा लागि यो स्थानीय चुनाव त्यसै पनि बढी महत्वको छ।”

दुईवटा संविधानसभा निर्वाचनमा माओवादीलाई समर्थन गरेकी पसेनीकी मीना बस्नेत र रत्ननगर–१३ अमेलियाकी देवा पौडेल पनि पहिलो स्थानीय तह चुनावमा उम्मेदवारहरूकै परख गरिरहेका छन्। “भोट पाएर केन्द्रमा जाने चुनाव यो होइन” पौडेल भन्छिन्, “गाउँमा विकास गर्न सक्ने उम्मेदवार जुन पार्टीको हुन्छ, उसैलाई जिताउने हो।”

प्रतिबद्धताको होड
घरघर पुग्न थालेका विभिन्न दलका उम्मेदवारहरूलाई मतदाताले स्थानीय विकासको लागि थरीथरीका बाचा गराइरहेका छन्। इच्छाकामना गाउँपालिका–४ स्वराथोकका मनबहादुर गुरुङ विगतमा उम्मेदवारहरू भोट नपाउँदासम्म सबै गर्छु भन्ने, तर निर्वाचन सकिएपछि हानेको 'ढुंगा हुने' गरेकाले यसपटक मतदाताहरू पहिल्यै सचेत भएर प्रस्तुत भएको बताउँछन्। इच्छाकामना गाउँपालिकामा चेपाङ र गुरुङ समुदायको बाहुल्य छ।

१२ वैशाख २०७२ को महाभूकम्पबाट सबभन्दा बढी प्रभावित भएको ठाउँ हो, चितवन जिल्लाको इच्छाकामना गाउँपालिकामा पर्ने स्वराथोक। भूकम्पपछि राहत समेत नपाएका स्वराथोकवासीले उम्मेदवारहरूसँग 'बासको व्यवस्था गर्ने' शर्त राखिरहेका छन्।

भरतपुरमा एमालेको चुनाव प्रचार।

साढे ११ हजार मतदाता रहेको इच्छाकामना गाउँपालिकामा बासपछि बत्ती र खानेपानीको समस्या छ। मतदाताहरूले बास, बत्ती र पानीलाई स्थानीय निर्वाचनसँग जोड्ने मौका पाएका छन्। अहिलेसम्म राहत र घर बनाउन नपाएको बताउँदै मनबहादुर गुरुङ भन्छन्, “जसले गरिदिन्छ घर बनाउने जोहो, उसले पाउँछ भोट।” 

दलहरूले समाजमा प्रभाव–प्रतिष्ठा भएकाहरूलाई उम्मेदवार बनाएको बताएका छन्। यसबाट पनि यो स्थानीय तह निर्वाचनमा दलभन्दा व्यक्ति आकर्षण भएको देखिन्छ। उम्मेदवारहरूले त्यही मुताविकको प्रतिबद्धतापत्र गाउँगाउँ पुर्‍याएका छन्।

नेकपा एमालेका तर्फबाट इच्छागाउँपालिका प्रमुखको उम्मेदवार बनेका नारायणप्रसाद अधिकारीले जोत्ने गोरुमा अनुदान र गरीबलाई चाडबाड भत्तादेखि चेपाङ संग्रहालय निर्माणसम्मको योजना अघि सारेका छन्। यो प्रतिबद्धतापत्रले चुनाव जित्न असम्भव प्रतिबद्धता पनि गर्ने होड चलेको देखाउँछ।

एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका रहेको चितवनमा एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा र स्वतन्त्र उम्मेदवारहरूले समृद्धिलाई प्रमुख चुनावी मुद्दा बनाएका छन्।

भरतपुर महानगरपालिका प्रमुखमा माओवादी उम्मेदवार बनेकी रेणु दाहालले २० वैशाखमा चनौलीमा आयोजित आमसभामा चितवन समृृद्धिको सपना आफूले पूरा गर्ने बताइन्।

चुनाव प्रचारका लागि वडा कार्यालयमा जम्मा भएका कांग्रेस कार्यकर्ता

महानगर प्रमुखमा एमालेका उम्मेदवार देवी ज्ञवालीले त्यही दिन रामनगरको बेलचोकमा उभिएर चितवनलाई कृषि, स्वास्थ्य, शिक्षा, व्यवस्थित बसोबास र औद्योगिक केन्द्र बनाउने योजना सुनाए।

कांग्रेस र माओवादीले केन्द्रमा तालमेल गरेपछि कांग्रेस उम्मेदवार दिनेश कोइरालाले चाहिं महानगरपालिका प्रमुखको उम्मेदवारी फिर्ता लिएका छन्। माओवादी उम्मेदवार दाहालका लागि उम्मेदवारी फिर्ता भएपछि कांग्रेस कार्यकर्तामा व्यापक असन्तोष देखिन्छ।

नारायणी र राप्तीको कटान रोक्दै नदी किनारमा रिङ्गरोड बनाउने, सुकुम्बासीलाई व्यवस्थित बसोबास गराउने, पर्यटन प्रवर्द्धन, मेडिकल सिटी, कृषिमा आधुनिकीकरण, अत्याधुनिक सभाहल, खेल मैदान निर्माण, निकुञ्जसँग जोडिएका पटियानी, जगतपुर र मेघौलीको विशेष विकास गर्ने सबै दलका उम्मेदवारहरूको योजना छ।

नेपालको मध्यभागमा रहेको भरतपुर महानगरपालिकाको चुनावमा छोरी रेणुलाई उम्मेदवार बनाएकोले प्रधानमन्त्री दाहालको जित या हारसँग जोडेर हेरिएको छ।

चुनाव प्रचारमा जुटेका माओवादी कार्यकर्ता।

आगामी संघीय निर्वाचनमा भरतपुर महानगरपालिका समेत पर्ने निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने मनस्थितिमा रहेका दाहालले जोखाना हेर्न पनि १ लाख ५० हजार २७४ मतदाता रहेको यो चुनावमा छोरीलाई उम्मेदवार बनाएको बुझाइ छ। महानगरपालिकाभित्रै कृष्णपुरमा घर भएका प्रधानमन्त्री दाहालले छोरीलाई उम्मेदवार बनाएका कारण पनि ठूला दलका उम्मेदवारहरूबीच मतदातालाई विकासको वचन दिने प्रतिस्पर्धा छ। 

उत्साह र सौहार्दता
निर्वाचनले चितवनमा दशैं–तिहार जस्ता ठूला चाडबाडको जस्तो हलचल ल्याएको छ। मानिसहरू आफ्ना कामहरू थाती राखेर चुनावी माहोलमा होमिएका छन्। भरतपुर–११ की इन्दिरा न्यौपानेको विचारमा, बेथितिको अन्त्य र रोजगारी तथा विकासको आशाले सबै चुनावमा यो विधि लागेका हुन्। ठेलामा फलफूल व्यवसाय गर्ने उनले आफू पनि वैशाख अन्तिमको १० दिन चुनाव प्रचारमै होमिने बताइन्।

गर्मीका कारण उम्मेदवारहरूको घरदैलो कार्यक्रम बिहान ७ देखि १० बजे र बेलुका ४ देखि ७ बजेसम्म चलिरहेको छ। त्यो समयमा गाउँटोलमा उत्सव जस्तै हुन्छ। उम्मेदवार र कार्यकर्ताहरूले बोक्ने रङ्गीविरङ्गी झ्ण्डा, तुल–व्यानरदेखि गीतसंगीतले रौनक बढाउँछ।

भोट माग्दै टोलका घरघरमा आउने दलहरूको टोलीले तिहारको सम्झ्ना गराइरहेको भरतपुर–४ धर्मचोककी राधिका सापकोटाले बताइन्। पहिलो पटक मत खसाल्न लागेका युवा पुस्ताले त यो चुनावलाई झ्न् रमाइलो मानेर स्वागत गरेका छन्।

२०६४ र २०७० सालको संविधानसभा निर्वाचन राम्रोसँग नियालेकी स्मिता रेग्मी यो पटक भोट खसाल्दै छिन्। अध्ययनको लागि बाग्लुङको गल्कोटबाट चितवन झरेकी स्मिताको लागि स्थानीय तहको चुनाव किन पनि विशेष बनेको छ भने उनका बुवा चन्द्रदत्त रेग्मी नै वडा अध्यक्षको उम्मेदवार छन्।

२१ वैशाखमा गल्कोट फर्किएकी उनले टेलिफोनमा भनिन्, “हाम्रो पुस्ताको पहिलो भोटमा स्थानीय सरकार बन्दैछ, एकदमै रमाइलो र खुशी लागेको छ।” 

भोट माग्दै राप्रपा कार्यकर्ता।

२०५४ सालको स्थानीय निर्वाचन पछि जन्मेका चितवन खैरहनीका अविनाश सुवेदीलाई भने पहिलो पटक भोट हाल्न लागेको स्थानीय तहको चुनाव अनौठो लागिरहेको छ।

संविधान बनाउनेलाई जिताउने भनेको सुन्दै हुर्किएका उनलाई स्थानीय तहमा आफैंले भोट दिएर जनप्रतिनिधि चुनेपछि विकास हुन्छ भन्ने लागेको छ।

दिनहुँ दैलोमा आउने उम्मेदवारहरूले दिएका पर्चापम्प्लेट र प्रतिबद्धतापत्र ध्यानपूर्वक पढिरहेका १९ वर्षीय सुवेदीले यही उम्मेदवारलाई भोट दिन्छु भनेर निर्णय गरिनसकेको बताए। त्यसको लागि उनीसँग पर्याप्त समय पनि छ।

पहिले एक पार्टीले अर्को पार्टीको चुनावी कार्यक्रम देख्नै हुँदैनथ्यो। प्रचार अभियानमा कार्यकर्ताबीच झ्डप भैहाल्थ्यो। अहिले त्यो अवस्था छैन। चितवनमा चुनाव प्रचार–प्रसारका क्रममा भेट हुँदा दलहरूको समूहले हात मिलाउँदै र अँगालो मार्दै एकअर्कालाई विजयको शुभकामना दिएको देखिन्छ।

गाउँटोलमा कांग्रेस, एमाले, माओवादी र राप्रपाका टोलीहरूले सँगसँगैजसो चुनावी प्रचार गरेको पनि देखियो। “जसले जिते पनि सबैको उद्देश्य स्थानीय विकास हो” भरतपुर– ३ मा माओवादीबाट वडाध्यक्षका उम्मेदवार बनेका खेमराज पाण्डे भन्छन्, “अनि किन एकअर्कालाई शुभकामना नदिने?”

चितवन र नवलपरासीमा दलहरूको निर्वाचन अभियान संचालन गर्ने कार्यालय पनि नजिक नजिकै छन्। दलहरूको यो परिपक्वता र सधैं एउटै दलको चुनाव चिह्नमा नभई सबभन्दा योग्य उम्मेदवार हेरेर मतदान गर्ने मतदाताहरूको मनस्थितिलाई नियाल्दा नेपाली समाजले परिवर्तनको फड्को मार्न लागेको देखिन्छ।

फरक उम्मेदवार उस्तै कार्यशैली
पृष्ठभूमि फरक भए पनि स्थानीय तह निर्वाचनमा राजनीतिक दलका अजेण्डा, प्रचारशैली र चिन्ता भने उस्तै छन्।

मानबहादुर जिसी, उम्मेदवार, नेकपा (एमाले)।

१९ चैतमा निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गरेपछि कास्की निर्वाचनमय बनेको छ। पहिलो पटक नेकपा (एमाले) ले चुनावी सभा गरेर अघि बढाएको सरगर्मी नेपाली कांग्रेसहुँदै नेकपा (माओवादी केन्द्र) ले पनि अघि बढाएका छन्। दलहरूले गाउँ तहमा घरदैलो, स–साना भेला, सभा आयोजना गरेर आफूलाई अब्बल भनिरहेका छन्। 

कास्कीका एक महानगरपालिका र चार गाउँपालिकामा चुनिने ३७० जना स्थानीय प्रतिनिधिका लागि झ्ण्डै १५०० जनाको उम्मेदवारी परेको छ। जिल्ला निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीका अनुसार, पोखरा–लेखनाथ महानगरपालिकामा मात्र ८६३ जनाले उम्मेदवारी दिएका छन्।

निर्वाचन कार्यालयका अनुसार, जिल्लामा कुल २ लाख २४ हजार ८०६ जना मतदाता रहेका छन्। जिल्लामा महिला मतदाता १ लाख २० हजार २३० छन् भने पुरुष १ लाख ४ हजार ५७६ जना। जसमध्ये पोखरा–लेखनाथ महानगरपालिकामा १ लाख ६७ हजार मतदाता छन्।

उस्तै अजेण्डा
सत्तारुढ माओवादी केन्द्रले १५ वैशाखमा पोखरा–लेखनाथ महानगरस्तरीय चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्‍यो। प्रतिबद्धता पत्र निकाल्नेमा माओवादी केन्द्र अघि देखिए पनि मुख्य तीनवटै पार्टीको प्रतिबद्धतामा खासै फरक पाइँदैन।

रामजी कुँवर, उम्मेदवार, नेपाली कांग्रेस।

पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्र, आसपासका शहरलाई स्मार्ट सिटी, समृद्ध र नमूना महानगर, क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, हरियाली शहर बनाउने जस्ता योजना साझा छन्। सबैले व्यवस्थित बसपार्कलगायत पूर्वाधार विकासका योजना पनि छुटाएका छैनन्।

पोखरा–लेखनाथ महानगरपालिकामा कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार रामजी कुँवर आफूले चुनाव जिते पोखरालाई हरियाली शहर बनाउने बताउँछन्। “पोखरालाई ग्रीनसिटी बनाउने र ट्राफिक व्यवस्थापन गर्नेछु”, उनी भन्छन्। 

एमालेका मेयर उम्मेदवार मानबहादुर जिसीको जोड पनि वातावरण संरक्षण गर्दै पोखरालाई अन्तर्राष्ट्रिय पहिचानसहितको सुन्दर पर्यटकीय शहर बनाउने भन्ने नै छ। “पोखरेली नागरिकलाई सुशासनको अनुभूति दिलाउने गरी काम गर्छु”, उनी भन्छन्।

२१ वैशाखमा कांग्रेससँगको तालमेलपछि माओवादी केन्द्रका मेयरका उम्मेदवार विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएका छन्। चुनावी दौडमा बाहिरिनुअघि लामिछानेले आफू पोखरा उपत्यका विकासको गुरुयोजना बनाउने र जग्गा वर्गीकरणमा केन्द्रित हुने बताएका थिए।

कांग्रेसका मेयरका दावेदार कुँवर नेपाल टे्रड युनियन कांग्रेसको वरिष्ठ उपाध्यक्ष हुन्। उनी २०३६ सालदेखि ट्रेड युनियन आन्दोलनमा संलग्न छन्। कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यसमेत रहिसकेका उनले जनस्वास्थ्य विषयमा स्नातक गरेका छन्।

तर, उनी स्थानीयस्तरको राजनीतिमा भने सक्रिय थिएनन्। उनलाई इमानदार र सज्जन नेताका रूपमा कांग्रेसले अघि सारेको बताएको छ। कांग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र गगन थापाका नातेदारसमेत रहेका कुँवरलाई उनीहरूकै जोडबलले टिकट दिलाइएको कांग्रेस कार्यकर्ताहरू बताउँछन्।

तर, एमाले उम्मेदवारको राजनीतिक संलग्नता कुँवरको भन्दा फरक छ। २०५४ को स्थानीय निर्वाचनमा तत्कालीन कालिका गाविस अध्यक्ष निर्वाचित जिसी एमालेको वैकल्पिक केन्द्रीय सदस्य एवं एमाले कास्कीका पूर्व अध्यक्ष पनि हुन्।

एमालेले मेयरको उम्मेदवार छान्न कार्यकर्तामा गरेको चुनावमा सर्वाधिक मत ल्याएर जिसी पहिलो भएका थिए। एमाले अध्यक्ष केपी ओली समूहका जिसी २०३६ सालबाट विद्यार्थी राजनीति गर्दै एमालेमा लागेका थिए।

'आफ्नै' बाट चिन्ता
प्रकाशमोहन खनाल कास्कीको रूपा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार हुन्। उम्मेदवार बन्न पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षबाट राजीनामा दिएका खनालको विरोधमा अहिले आफ्नै कार्यकर्ता उत्रिएका छन्।

गाउँपालिकामा अध्यक्षका आकांक्षी अन्य ८ जनाले खनाल बाहेक आफूहरूमध्ये जोकोहीलाई उम्मेदवार बनाए पनि मान्य हुने नत्र विद्रोह गर्ने लिखित चेतावनी दिएका छन्।

विरोध गर्नेहरूमा टेकनाथ घिमिरे, बलबहादुर आले, नारायणकुमार श्रेष्ठ, लक्ष्मण थापा, तीतबहादुर खड्का, खेमबहादुर गुरुङ, बद्रीनाथ बसौला र आनन्द सुवेदी छन्। उम्मेदवार चयनप्रति भइरहेका आन्तरिक द्वन्द्वले क्षति पुग्नेमा दलहरू सशंकित छन्।

एमालेमा पनि पोखरा लेखनाथ महानगरपालिकाको उम्मेदवार छान्न ठूलो सकस पर्‍यो। पटक पटक बैठकबाट पनि उम्मेदवार चयनमा सहमति हुन नसकेपछि ७ वैशाखमा पार्टीले आन्तरिक निर्वाचन नै गर्‍यो।

निर्वाचनमा जिसीले सर्वाधिक मत पाए। मतदानबाट पराजित अन्य उम्मेदवार आकांक्षीको पीडा निर्वाचनमा देखिन सक्ने एमालेका जिल्ला नेताहरू बताउँछन्। कांग्रेस–माओवादी चुनावी समिकरणले महानगरपालिकामा कांग्रेसलाई फाइदा हुने देखिए पनि माओवादीको सबै भोट आउने कुरामा कांग्रेसमै शंका छ।

उता लमजुङमा एमाले र माओवादी केन्द्रले तालमेलको निर्णय गरेका छन्। एमाले लमजुङका अध्यक्ष धनञ्जय दवाडी र माओवादी केन्द्रका जिल्ला इन्चार्ज पारसमणि पौडेलबीच भएको सहमति अनुसार, जिल्लाका आठ स्थानीय तहमध्ये तीनवटामा माओवादी केन्द्र र पाँचवटामा एमालेले प्रमुख पदका लागि उम्मेदवार चुनावी मैदानमा हुनेछन्।

यता, चुनावी तालमेलप्रति कार्यकर्ता पंक्ति भने रुष्ट छ। माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) लमजुङका इन्चार्ज एवं राइनस नगर कमिटी सदस्य कमल खड्का र केन्द्रीय सदस्य पदमराज पन्थीले प्रेस वक्तव्य नै निकालेर विरोध प्रकट गरेका छन्।

कांग्रेस लमजुङमा वागी उम्मेदवारी परेको छ। पार्टीले सुन्दरनगर नगरपालिकाको मेयरमा बद्रीमान श्रेष्ठलाई उम्मेदवार बनाएसँगै असन्तुष्ट द्वारिकाप्रसाद मिश्रले मेयर र सबै वडामा स्वतन्त्रमार्फत कांग्रेस कार्यकर्ताकै उम्मेदवारी परेको छ। मिश्र पार्टीका सुन्दरबजार नगर समितिका सभापतिसमेत हुन्।

 

गीति प्रचार
हातहातमा मोबाइल र इन्टरनेट सेवा पुगेपछि यसपटकको स्थानीय तह निर्वाचनमा बलियो प्रचार सामग्री बनेको छ– म्यूजिक भिडियो।

दीपक ज्ञवाली, बुटवल
प्रायः सामाजिक चेतनाका दोहोरी गीतका कारण चर्चित लोकगायक बद्री पंगेनी अहिले राजनीतिक रङमा देखिएका छन्। एमालेको घोषणापत्रका महत्वपूर्ण बुँदा समेटेर उनले बनाएको चुनावी गीत अहिले यूट्यूब र सामाजिक सञ्जालमा छाएको छ। 

सही पनि एमाले

मै पनि एमाले...।

पंगेनी र प्रिया भण्डारीको यो गीत एमालेका लागि गतिलो प्रचार सामग्री बनेको छ। एमालेका चुनावी कार्यक्रमहरूमा पनि निकै प्रयोग भइरहेको छ। एमाले वृत्तमा उनको उँचाइ बढेको छ। तर, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको अध्यक्षका नाताले पंगेनीको एमालेमोहको आलोचना पनि भइरहेको छ।

राजनीतिक अभियानमा संगीतको प्रयोग नयाँ होइन। अधिकांश पार्टीका आफ्नै सांस्कृतिक संगठन पनि छन्। तर, यतिबेला बजारमा चर्चित कलाकार नै निर्वाचनको प्रचारमा होमिएका छन्।

चुनावमा गीत–संगीतको उपयोग गर्नेमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) पनि कम छैनन्। अन्य साना दलहरूले पनि सांगीतिक भिडियोमार्फत भोट मागिरहेका छन्।

देशमा शान्ति ल्याएको कांग्रेस पार्टीले

रूखमै भोट हालम् भन्छ मेरो साथीले...

उठ हे उठ हे नेपाली ...।

जमुना श्रीस, चोलेन्द्र पौडेल र रामजी पौडेलले गाएको यो गीतले कांग्रेस वृत्तमा राम्रो प्रभाव जमाएको छ। गीतमा शान्ति प्रक्रिया, संविधानलगायतका प्रमुख राजनीतिक उपलब्धि कांग्रेसका कारण मात्र सम्भव भएको तर्क गरिएको छ।

माओवादी केन्द्रका गीत पनि सशक्त सुनिन्छन्। मणि थापाको शब्दमा यूट्यूबमा भेटिने यो गीतको भिडियो हेर्नेहरू क्रमशः बढिरहेका छन्।

गणतन्त्र ल्याउने पनि माओवादी

राजतन्त्र फाल्ने पनि माओवादी...

माओवादी केन्द्रलाई विजयी गराऔं...।

एमाले उम्मेदवारको प्रचारमा अर्का दोहोरी गायक पुरुषोत्तम न्यौपाने पनि लागेका छन्। एमालेलाई भोट माग्दै उनले गाएको यो गीत पनि यूट्यूबमा भाइरल बनिरहेको छ–

भोट कल्लाई उज्यालो, घामलाई दिनुहोस्

देश बनाउने जिम्मेवारी, हाम्लाई दिनुहोस्...।

राष्ट्रिय जनमोर्चाले पनि गायक जीवन शर्मालगायतका गीतलाई चुनावी प्रचारमा खूब प्रयोग गरिरहेको छ।

निर्वाचन प्रचारका सामग्रीहरूले घरका भित्ता तथा सार्वजनिक स्थानलाई कुरुप पार्नु साटो संगीतको प्रयोग सिर्जनात्मक भएको लुम्बिनी वाङ्मय प्रतिष्ठानका सचिव ऋषि आजाद बताउँछन्। “आफ्ना अजेण्डा पस्कँदा सिर्जनशील हुनु आफैंमा सकारात्मक कुरा हो”, उनी भन्छन्।

प्रतिकृया दिनुहोस