दोलखामा एमाले–माओवादी झडप, एकको मृत्यु
दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा गएराति नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ भने करिब आधा दर्जन घाइते भएका छन् ।
गौरीशङ्कर गाउँपालिका–१ जुँगु दहबारीमा भएको झडपमा ३३ वर्षीय एमाले कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएको हो । मृतक तामाङ स्थानीय हुप्पा गाउँ निवासी हुन् ।
यसैगरी, झडपका क्रममा गौरीशङ्कर गाउँपालिका–२ घर भएका एमाले कार्यकर्ता दिलबहादुर बुढाथोकी गम्भीर घाइते भएका छन् । घाइते बुढाथोकीलाई गएराति नै थप उपचारका लागि काठमाडौँ लगिएको छ । बुढाथोकी स्थानीय नीलकण्ठेश्वर उच्च माविका शिक्षक पनि हुन् ।
दोहोरो झडपमा परी नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षका उम्मेदवार भरत खड्कालगायत कार्यकर्ता घाइते भएका छन् ।
नेकपा एमाले दोलखाले माओवादीले आफ्ना कार्यकर्तामाथि आक्रमण गरी ज्यान लिएको बताएको छ । घटनापछि जुँगुका मतदातामा त्रास फैलिएको छ भने व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ । रासस