कांग्रेस उम्मेदवारका गाडीमा पेट्रोल बम प्रहार र आगजनी
चितवनको खैरहनी नगरपालिकाका नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा गए राति पेट्रोल बम प्रहार भएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार खैरहनी नगरपालिका–९ बछौलीस्थित चौधरीको घरमा बा८च १५६२ नंको स्कारपियो गाडीमा बम प्रहार भएको हो ।
बम बिस्फोट हुन नपाएकाले ठूलो क्षति हुनबाट जोगिएको उनले बताए । गाडीको अगाडिको सिसा चर्किएको छ ।
रातको समयमा अपरिचित व्यक्तिबाट बम प्रहार भएको उनले बताए ।
यसअघि शनिबार बिहान भरतपुर महानगरपालिका–१० स्याउलीबजारमा माओवादी केन्द्रकी प्रमुख पदकी उम्मेदवार रेणु दाहाल हाल बसोबास रहेको घर नजिकै एउटा गाडीमा तोडफोड भएको थियो ।
चुनाव विरोधी गतिविधिमा लागेको भन्दै प्रहरीले हालसम्म १४ जनालाई पक्राउ गरी कारबाही गरेको जनाएको छ ।
धादिङमा दुई गाडीमा आगजनी
नेपाली कांग्रेसले चुनाव प्रचारका लागि प्रयोग गरेका दुईवटा गाडीमा आगजनी भएको छ ।
धुनीबेँसी नगरपालिका–५ मा रोकेर राखेको अवस्थामा ती गाडी जलाइएको हो ।
बा१२च १२७६ नंको बोलेरो जिप र बा३च १७०३ नं को जिप्सी गाडी अपरिचित व्यक्तिले जलाइदिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
रासस