गल्ती गरेपछि गैंडा र चितुवा पनि थुनामा !
मानिसले गल्ती गरेपछि सजाय भोगेको त सुनिएकै हो, तर वन्यजन्तुले गल्ती गरेपछि जेलजस्तै सजाय भोग्नु परेको सुन्दा अचम्म लाग्न सक्छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा मान्छेलाई आक्रमण गरेकोे गैँडा र बाख्रा खाएर आतंक मच्चाएको चितुवाले पनि सजाय स्वरुप थुनामा बस्नु परेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको गैंडाको आक्रमणबाट ठाकुरद्वाराको कृष्ण प्रणामी मन्दिरका पुजारीको ज्यान गएपछि उक्त गैंडालाई झण्डै ७ वर्षदेखि निश्चित घेराभित्र बन्दी बनाएर राखिएको छ । स्थानीयको आक्रमणबाट आँखा समेत नदेख्ने विक्रम नामको उक्त गैंडालाई केही महीनापछि मुक्त गरिने निकुञ्ज कार्यालयले जनाएको छ ।
यस्तै स्थानीयका झण्डै ६० वटा बाख्रा खाएर आतंक मच्चाएको चितुवालाई पनि गत वर्ष देखि खोरमा राखिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय ठाकुरद्धारा नजिकै जंगल क्षेत्रमा काठले घेरिएको ठूलो खोरमा बिक्रमलाई राखिएको छ । काठैकाठले बारेको झण्डै १ हेक्टर क्षेत्रफलको घेरामा राखिएको उक्त गैंडाकोे खानपान, स्वास्थ्य, सुरक्षा र बासस्थानमा भने पूरै ध्यान दिइएको निकुञ्जका निमित्त प्रमुख रमेश थापाले बताए ।
भावुक योगी, बर्दिया