पोखरामा मृगसहित दुईजना पक्राउ
रतुवा मृगसहित पोखरा, वडा प्रहरी कार्यालय बगरले २ जना व्यक्तिलाई पक्राउ गरेको छ ।
मृत मृगसहित पोखरा महानगरपालिका–८ बस्ने जीवन गुरुङ र पोखरा–३ बस्ने विकास गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
माछापुच्छे« गाउँपालिकाबाट मृग ल्याउने क्रममा पोखरा महानगरपालिका–१९ बाट प्रहरीले बिहीबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्कबहादुर खत्रीले बताए ।
‘मृत मृग ल्याएको छ भन्ने सूचनाको आधारमा पक्राउ गरेका हौं,’ उनले भने, ‘यसको थप अनुसन्धान जिल्ला वन कार्यालयले गर्नेछ ।’ पक्राउ परेका २ जना र उनीहरूले प्रयोग गरेको बा १७ च २८५८ नम्बरको जिप प्रहरी नियन्त्रणमा छ ।
मृत रतुवा मृग १० वर्षको रहेको जिल्ला वन कार्यालय कास्कीका सहायक वन अधिकृत महाप्रसाद ओझाले बताए ।
‘हामीले मृगको पोस्टमार्टम पनि गरिसकेका छौं,’ उनले भने, ‘गोली हानेर मारिएको रहेछ ।’
‘उनीहरूको प्रारम्भिक बयान अनुसार आफूले नमारेको र किनेर ल्याएको भन्ने छ,’ अधिकृत ओझाले भने, ‘बयान अनुसार ११ हजार भनिएको मृग १० हजार तिरेर ल्याएका हौं भनेका छन् ।’
उनीहरूले मारेका हुन वा होइन भन्ने अझै खुल्न नसकेको ओझाले बताए । ‘उनीहरूले किनेको भने पनि आफैले मारेको हुन सक्छ,’ उनले भने, ‘बयान अझै सकिएको छैन ।’
युवराज श्रेष्ठ, पोखरा