टिप्पणीशुक्रवार, बैशाख १५, २०७४

जसले गान्धीलाई

चन्द्रकिशोर

चम्पारण सत्याग्रहको क्रममा गान्धीलाई गिरफ्तार गर्न आएका अंग्रेज सत्ताका सिपाहीहरू।  तस्वीरः www.thebetterindia.com

महात्मा गान्धीसँग जोडिएर कुनै न कुनै समारोह भई नै रहन्छ। त्यसैको श्रृखलामा यो वर्ष चम्पारण सत्याग्रहको शताब्दी वर्ष मनाइँदैछ। 

चम्पारण नेपालको बारा र पर्सासँग जोडिएको भारतको विहार राज्यको जिल्ला हो, जहाँ गान्धी सन् १९१७ मा आएका थिए। सन् १९७१ मा चम्पारण दुई जिल्ला बन्यो– पूर्वी र पश्चिमी चम्पारण। चम्पारण सत्याग्रहको साझा उत्तराधिकार यी दुई जिल्लाले ग्रहण गरेको मात्र नभई विहार राज्यले नै यसलाई राजकीय पर्वका रूपमा मनाउँदैछ।

विहारभर चम्पारण सत्याग्रहको शताब्दी समारोह सरकारी र गैरसरकारी तवरमा मनाउने काम भइरहेको छ। चम्पारण सत्याग्रहको सफलतापश्चात नै मोहनदास करमचन्द गान्धीको 'महात्मा' बन्ने यात्रा शुरू भएको र भारतीय स्वतन्त्रता संघर्षमा अहिंसाको मार्ग स्थापित भएको बताइन्छ।

वास्तवमा किसानको समस्या बुझन गान्धी चम्पारण आइपुगेका थिए। त्यहाँ अंग्रेजी हुकुमतले किसानलाई जबर्जस्ती नील (रङ उत्पादन गर्ने वनस्पति) को खेती गराउनुका साथै अनेकौं प्रकारका कर असुल्दै आएको थियो। किसानमाथिको यही अत्याचारको विरोधमा शुरू गरिएको चम्पारण सत्याग्रहमार्फत गान्धीले हिंसाको सहाराविना सत्ताविरुद्ध भयमुक्त भई उभिन सकिने सन्देश दिएका थिए। सत्याग्रहमार्फत गान्धीले कसैको सहारा विना स्वयम् आफैं माथि भरोसा गरेर अघि बढ्न सिकाएका थिए।

शासनमा पुग्नेहरू शक्तिको आडमा असहमतिका स्वरहरू मत्थर पार्न खोज्छन्। यसका लागि सत्ताले भयको जग निर्माण गरिरहेको हुन्छ। गान्धीले प्रत्येक नागरिकलाई आफूमाथि विश्वास गर्न तथा निर्भय बनेर सत्ताविरुद्धमा विनम्रतापूर्वक उभिन सिकाए। यो नै गान्धीद्वारा आत्मसात् गरिएको प्रतिरोधको त्यो औजार थियो, जसलाई संघर्षको अहिंसात्मक मार्ग भनिन्छ।

चम्पारण अहिले पनि विहारको पिछडिएको क्षेत्र हो। त्यहाँका किसानको अवस्था अहिले पनि जर्जर छ। किसान आत्महत्याको उल्लेख्य संख्या चम्पारण भित्रै छ। गान्धी आएका बेलाको चम्पारणको स्थिति झ्न् कति दयनीय थियो होला, सहजै अनुमान गर्न सकिन्छ। त्यतिबेला न त अहिलेको जस्तो प्रभावकारी सडक सञ्जाल थियो, न सञ्चारमाध्यम। तर गान्धी आएको दुई दिनभित्रै उनको अगुवाइमा हजारौं चम्पारणवासीले सरकारविरुद्ध प्रदर्शन गरे।

आखिर गान्धीले त्यस्तो के गरे त? गान्धीमा समाजका विभिन्न वर्गको मनोभावना बुझने र आफ्नो मान्यता अनुकूल डोर्‍याउन सक्ने गजबको खूबी थियो। उनी कुशल संचारक थिए। गान्धीको जीवनशैली नै सन्देश प्रवाहका माध्यम हुन्थे।

चम्पारण सत्याग्रहका क्रममा दश हजार किसानसँग बयान लिइयो। भारतीय इतिहासमा यो सबैभन्दा व्यापक सार्वजनिक सुनुवाइ कार्यक्रम थियो। विहारका केही नामी व्यवसायीहरू गान्धीका सहयोगीका रूपमा चम्पारण आउँदा उनीहरूले केही दिनमै आफ्ना सेवकहरू फर्काउनु परेको थियो। गान्धीकै शैलीमा उनीहरू आफ्ना लत्ताकपडा धुनेदेखि साझ्ा भान्सामा भोजन गर्न बाध्य भए। आफूलाई समाजको अभिन्न हिस्साका रूपमा उभ्याई सादगीपूर्ण जीवनयापनको सफल राजनीतिक प्रयोग पनि चम्पारण सत्याग्रहको देन थियो।

आखिर बाटो त गान्धीकै हो– हिजोआज यसो भन्ने फेसन नै चलेको छ। भिन्न राजनीतिक दर्शनमा बाँडिएकाहरू पनि 'गान्धी' बाटै समाधानको सूत्र पाइने कुरा गर्न थालेका छन्। अर्थतन्त्र, पर्यावरण, आहार–विहार, सामुदायिक सम्बन्ध, धर्म र राजनीतिको साइनो, विकासको स्वरुप, गाउँको भूमिका, राजनीतिको चरित्र जस्ता बहुआयामिक सवालमा गान्धीप्रतिको आकर्षण बढ्दो छ।

मौजूदा प्रणालीप्रतिको निराशाले पनि मानिसलाई गान्धीको बाटोतिर लोभ्याइरहेको छ। गान्धी फेरि जनमानसमा विमर्शका विषय भएका छन्। यसो हुनु गान्धी महत्वको पुनःआविष्कार हो। जसले गान्धीको सान्दर्भिकता स्थापित मात्र गर्दैन, सत्य र अहिंसाको बाटोबाटै स्थायी बदलाव सम्भव छ भन्ने पनि प्रष्ट्याउँछ। आफूलाई सुधार नगरिकन राज्यको चरित्र फेर्न सकिंदैन।

सय वर्षअघि आम व्यक्तिमा लुकेको अमोघ शक्तिलाई परीक्षण गर्दै सत्तालाई शान्तिपूर्ण ढंगबाट फेर्न चम्पारण एक ऐतिहासिक प्रयोगशाला सावित भएको थियो। त्यसैले पनि गान्धी भारतका निमित्त मात्र होइन हाम्रा लागि पनि उत्तिकै सान्दर्भिक छन्। के हामी गान्धी विमर्श गर्न उत्सुक छौं? बुद्धको धर्ती अहिले पनि जवाफको खोजीमा छ।

प्रतिकृया दिनुहोस