रिपोर्टबुधवार, बैशाख १३, २०७४

गुल्जार सगरमाथा

सञ्जीव शर्मा

सगरमाथा आधारशिविरमा आरोहीका टेन्ट।            तस्वीरहरुः लाक्पा नोर्वु शेर्पा

विश्वको अग्लो हिमाल सगरमाथा क्षेत्र अहिले स्वदेशी र विदेशी पर्यटकले भरिभराउ छ। आधारशिविर जाने अन्तिम मानवबस्ती गोरकसेपदेखि आधारशिविरसम्म आरोही दलको घुइँचो लागेको छ। 

लुक्ला विमानस्थलमा पर्यटक र उनीहरूका सामान लिएर जाने विमानले मौसम खुलेका बेला दैनिक ५० देखि ६० वटासम्म उडान भरिरहेका छन्। आफूहरूले मात्रै दैनिक १५ देखि २५ वटासम्म उडान गरिरहेको तारा एअरका सञ्चार प्रबन्धक भीमराज राई बताउँछन्। सगरमाथा आरोहणको सिजन शुरु भएसँगै सामान पुर्‍याउने र वातावरणमा अभ्यस्त हुन केही पहिले नै आधारशिविर जाने क्रम शुरु हुन्छ। यो क्रम मार्च मध्यदेखि मेको मध्यसम्म जारी रहन्छ।

यो सिजनमा सगरमाथा आरोहणका लागि ३९ टोलीका ३६५ जनाले आरोहण अनुमति लिइसकेका छन्। अनुमति लिने समय अझै बाँकी रहेकाले संख्या अझ्ौ बढ्ने पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकाल बताउँछन्। सगरमाथा प्रदूषण नियन्त्रण समितिका कार्यक्रम अधिकृत कपिन्द्र राईका अनुसार ८ वैशाख बिहानसम्म ४० समूह सगरमाथा आधारशिविर पुगिसकेका छन्। जसमध्ये सगरमाथा आरोहण गर्ने ३२ टोली, ल्होत्से ६ र नुप्त्से आरोहणका लागि २ टोलीले नाम्चेमा नाम दर्ता गराइसकेका छन्। आधारशिविरमा जम्मा भएका पर्यटक, भरिया, आइसफल डाक्टरलगायत करीब १२०० ले अझै करीब दुई महीना यो क्षेत्र गुल्जार पार्नेछन्।

आरोहण निर्विघ्न सम्पन्न होस् भनेर छ्योर्तेनमा पूजा गर्दै आरोही ।          तस्वीरबुद्धवीर बाहिङ

आरोहीको ताँती

सन् २०१३ लाई मुलुकको आरोहण इतिहासमै सबैभन्दा सफल वर्ष मानिन्छ। उक्त वर्ष ३४८ जनाले आरोहण अनुमति लिएका थिए, जसमध्ये २४३ जनाले सफल आरोहण गरे। अघिल्लो वर्षको सफलताले हौसिएका सरकार र पर्यटन व्यवसायीलाई २०१४ मा भने ठूलो धक्का लाग्यो। सन् २०१४ (५ वैशाख २०७१) मा सगरमाथामा हिमपहिरो जाँदा १६ जनाको मृत्यु भयो। त्यसपछिको २५ अप्रिल २०१५ (१२ वैशाख २०७२) को भूकम्पसँगैको हिमपहिरोमा परी आधारशिविरमै १८ जना आरोहीले ज्यान गुमाए। त्यो शोकमा यी दुई वर्ष सगरमाथा आरोहण हुन सकेन।

अनुकूल मौसम र अघिल्ला दुई वर्षमा स्वीकृति लिएर पनि आरोहण गर्न नपाएकाहरूलाई प्राथमिकता दिइएका कारण सन् २०१६ मा भने केही आशा देखियो। २०१६ मा सगरमाथा आरोहणका लागि २८९ जनाले अनुमति लिएकोमा १९७ जनाले सफल आरोहण गर्न सके। 

सगरमाथाका साथै नेपालका २१ वटा हिमाल आरोहणका लागि ६ वैशाखसम्म ७९ टोलीका ६७७ जनाले आरोहण स्वीकृति लिइसकेका छन्। वसन्त ऋतु सगरमाथा आरोहणका लागि उत्तम मानिए पनि अन्य हिमालहरूमा भने अरु सिजनमा पनि आरोहीहरू आउने गरेका छन्।

अहिले सरकारले ५,८०० मिटर भन्दा कम उँचाइका चुचुरा आरोहण गर्दा राजश्व तिर्नु नपर्ने व्यवस्था गरिदिएकाले ती चुचुराहरूलाई ट्रेकिङ गन्तव्य मानिएको छ। त्यसैगरी मध्य र सुदूरपश्चिमका हिमाल आरोहण गर्दा पनि रोयल्टी रकम बुझाउनुपर्दैन।

नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ लामा २०१६ को सफल आरोहणले नेपालको पर्वतारोहण क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिएकाले अहिले पर्यटकहरू बढेको बताउँछन्। राजनीतिक अस्थिरता, भारतीय नाकाबन्दी र भूकम्पले अन्तर्राष्ट्रिय क्षेत्रमा पारेको नकारात्मक प्रभाव विस्तारै कम भएको उनको भनाइ छ। “नेपालका हितैषीले अन्तर्राष्ट्रिय मिडियामा 'नेपाल जाऔं' भनेर गरिदिएको प्रचारले पनि यसमा काम गरेको छ”, उनी भन्छन्।

आरोहीमा आएको अहिलेको उत्साह के आउँदो वर्ष पनि कायम रहला? संघका महासचिव ठाकुरराज पाण्डे यो वर्षलाई सफल बनाउने हो भने मुलुकको पर्यटन उद्योगले फड्को मार्ने दाबी गर्छन्। “यो वर्षको आरोहण सिजनमा सबै काम सफलतापूर्वक सम्पन्न गर्न सकियो भने अर्को वर्ष आउनेको कमी हुने छैन” उनी भन्छन्, “तर, पूर्वाधार विकास, समन्वय, सुरक्षा र उद्धारका क्षेत्रमा अझै धेरै काम गर्न भने बाँकी नै छ।”

ट्राफिक जामको समस्या

सगरमाथा आरोहण गर्दा र ओर्लंदा धेरै स्थानमा डोरी समातेर ओहोरदोहोर गर्नुपर्ने हुन्छ। मौसम राम्रो भएका बेला सबै आरोहीमा हतारो हुन्छ। त्यस्तो अवस्थामा ट्राफिक जामको पनि समस्या आउन सक्छ। “सगरमाथामा ट्राफिक जाम भनेको सडकको जस्तो होइन, त्यहाँ मानिसको ज्यानै जान सक्छ”, एक्सपिडिसन अपरेटर्स एसोसिएसनका विनोद केसी भन्छन्। बढेको आरोही संख्यालाई ध्यानमा राखेर दुईतर्फी डोरी बनाइएकाले त्यस्तो समस्या नआउने उनको भनाइ छ। समस्या आउन नदिन प्रत्येक टोलीबीच समन्वय गर्नुपर्ने उनको सुझाव छ।

सगरमाथा आधारशिविरबाट 'क्याम्प टू' सम्मको बाटो बनाउने जिम्मा आइसफल डाक्टर भनिने तालीमप्राप्त शेर्पाहरूको हुन्छ। त्यसमाथिको जिम्मा भने एक्सपिडिसन अपरेटर्स एसोसिएसनको रहेको केसी बताउँछन्। “अहिले 'क्याम्प थ्री' का लागि काम भइरहेको छ, अब दुई साताभित्रमा सबै काम सकिन्छ”, उनी भन्छन्।

प्रमाणको विवाद

आरोहीले सगरमाथाको चुचुरोमा पुगेको तस्वीरसहित टीम लीडर, एक्सपिडिसन अपरेटर्स एसोसिएसन र पर्यटन विभागका सम्पर्क अधिकृतको सिफारिशका आधारमा पर्यटन विभागले आरोहणको प्रमाणपत्र जारी गर्छ। तर, गत वर्ष भारतीय प्रहरीमा कार्यरत एकजोडीले 'फोटोशप' गरिएको तस्वीर, टीम लीडरको नक्कली सिफारिश पेश गरेर आरोहणको प्रमाणपत्र लिएको पुष्टि भएपछि उनीहरूलाई १० वर्षसम्म हिमाल आरोहणमै प्रतिबन्ध लगाइएको थियो।

यस्तो विवाद हटाउन र आरोही सुरक्षाका लागि प्रत्येक आरोहीलाई जीपीएस जडित यन्त्र दिइने बारे छलफल पनि भएको थियो। तर, यसो हुन सकेन। पर्यटन विभागका निर्देशक लक्ष्मण शर्मा हाई अल्टिच्यूडमा काम गर्ने यन्त्र, सञ्चालनका लागि स्याटेलाइट र सम्बन्धित व्यक्तिले नै उक्त यन्त्र बोकेको प्रमाणित गर्नेलगायत समस्याका कारण तत्काल जीपीएस यन्त्र लागू गर्न नसकिएको बताउँछन्। “अरु पनि केही प्रस्ताव आएका छन्, हामी छलफलकै क्रममा छौं”, उनी भन्छन्।

आधारशिविरमा पूजापाठ

शेर्पाहरू सगरमाथालाई देवीकै रुपमा पुज्छन्। यस क्षेत्रका अधिकांश पुरुष आरोहण क्षेत्रमै काम गर्ने हुँदा अहिले घरघरमा पूजापाठ चलिरहेको स्थानीय सञ्चारकर्मी बुद्धवीर बाहिङ बताउँछन्।

आरोहण यात्रा निर्विघ्न सम्पन्न होस् भन्दै आधारशिविरमा बनाइएका छ्योर्तेनमा ध्वजापताका टाँगेर लामाहरू पूजा गरिरहेका देखिन्छन्। आरोहण दलका सबैले स्थानीय तेङ्बोचे गुम्बाका औतारी लामा र अन्यसँग आरोहणको सफलताको कामना गर्दै आशीर्वाद लिने चलन पनि छ। आरोहीहरू बिहानै छ्योर्तेन र गुम्बामा प्रार्थना गरी उक्लिने र ओर्लिने गर्दै चुचुरो चुम्ने अभ्यासमा देखिन्छन्।

प्रतिकृया दिनुहोस