संविधान संशोधन विधेयकको एमालेले प्रतिवाद गर्ने
नेकपा (एमाले)ले संविधान संशोधन विधेयकको प्रतिवाद गर्ने भएको छ । १२ वैशाखमा एमाले अध्यक्ष केपी शर्मा ओली निवास, बालकोटमा बसेको स्थायी कमिटी बैठकले संशोधन विधेयकको प्रतिवाद गर्ने निर्णय गरेको हो ।
वैठकपछि १२ वैशाखमा एमाले केन्द्रीय प्रचार विभाग प्रमुख योगश भट्टराईले जारी गरेको प्रेस विज्ञप्तीमा मुलुकलाई थप अस्थिरतातिर धकेल्ने गम्भीर षडयन्त्र भएको एमाले ठहर रहेको जनाएको छ । विज्ञप्तीमा भनिएको छ, “सरकारद्वारा प्रस्तुत संविधान संशोधन विधेयक राष्ट्रिय हितविपरीत, संविधानको मर्म भावनाको विपरीत, जनचाहिना विपरीत, २०६२/०६३ जनक्रान्तिका भावनाविरुद्ध तथा राजनीतिक दलहरूबीचमा धु्रवीकरण गर्दै मुलुकलाई थप अस्थिरताको दिशातिर धकेल्ने गम्भीर षड्यन्त्रसहित आएको ठहर गर्दै संविधान संशोधनको उक्त विधेयकलाई संसदभित्र कडा प्रतिवाद गर्ने निर्णय गरेको छ ।”
एमाले स्थानीय समिति वैठकले संविधान संशोधन विधेयक फिर्ता लिन सरकारलाई आग्रह समेत गरेको छ ।
त्यस्तै दुई चरणमा निर्वाचन गर्ने सरकारी निर्णयप्रति पनि असहमति जनाएको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहित उलङ्घन गर्ने, १५ जेठमा वजेट पेश गर्नु पर्ने संवैधानिक व्यवस्थालाई वेवास्ता गर्दै दुई चरणमा निर्वाचन गर्ने लगायतका निर्वाचनसम्बन्धी विषयमा गम्भीर असहमति रहेको एमालेले जनाएको छ । यस विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउने एमालेले निर्णय गरेको छ ।
३१ वैशाखको स्थानीय निर्वाचनका लागि उम्मेदवार र घोषणापत्र सम्बन्धी निर्णय गर्न एमाले स्थानीय कमिटीको अर्को वैठक १३ वैशाखमा बस्ने जनाएको छ ।