टिप्पणीमंगलवार, बैशाख १२, २०७४

मधेशी निर्वाचन चाहन्छन्

मनिष झा

'ति मी मधेशी हौ कि पहाडी, बुझनै सक्दिनँ। सामाजिक सञ्जालमा तिम्रा अभिव्यक्ति देख्दा म झ्न् कन्फ्युज हुन्छु!' केहीअघि मधेशी मोर्चाका एक सांसद्ले सामाजिक सञ्जालमा सोधे। मैले उनको व्यङ्ग्य बुझें अनि जवाफ दिएँ, “मेरो अभिव्यक्ति पढ्दै गर्दा तपाईं मधेशी वा पहाडी हैन नेपाली भइदिनुस्, कन्फ्युजन हट्नेछ।” 

समाजमा जब द्वन्द्व, आन्दोलन, विद्रोह जस्ता असामान्य अवस्था उत्पन्न हुन्छन्, निष्पक्षता जोखिममा पर्छ। समाज विभिन्न धारमा बाँडिन्छ। म र मेरो पक्षधरको काम कुरा सबै सही र बाँकी गलत भन्ने लहर चल्छ। त्यस्तै बेला निष्पक्षता आवश्यक हुन्छ। निष्पक्षतामा अडिएको यस्तो व्यक्तिलाई विभक्त समाजले सहजै स्वीकार्दैन। ऊमाथि दलाल र विरोधीको मान्छे जस्ता अनेकन् अभियोग लगाइन्छ।

त्यस्तै विचार मथिङ्गलमा लिएर भर्खरै महोत्तरी, धनुषा, सिरहा, सप्तरीमा केही दिन बिताएँ। मधेश आन्दोलन र स्थानीय तहको निर्वाचनको माहोल बुझने प्रयास गरें।

यही क्रममा नेपाल पत्रकार महासंघ, धनुषाका पूर्व सभापति एवं अभियन्ता राम आशिष यादवले जनकपुर टी.भी.मा प्रसारित हुने कार्यक्रम 'सीधा सवालमा' बोलाए। उनको शुरूआती प्रश्न थियो― १९ दिनको जनआन्दोलन (२०६२/६३) भन्दा मधेश आन्दोलन किन महँगो भइरहेको छ? गान्धीको सत्याग्रह त सफल भयो भने मधेश आन्दोलन किन सफल हुन सकिरहेको छैन?

हामीले आन्दोलनहरूलाई आपसमा तुलना गर्नुहुँदैन। किनकि प्रत्येक आन्दोलनका आफ्नै विशेषता, मर्म र मान्यता हुन्छन्। तर १९ दिने जनआन्दोलन र गान्धीको सत्याग्रह अभियान किन सफल भयो भने आन्दोलनकारीहरूलाई के माग्दैछौं भन्ने स्पष्ट थियो, लक्ष्यबारे फरक बुझाइ थिएन। जनआन्दोलनमा सडकमा निस्कँदा प्रायः एउटै नारा गुन्जिन्थ्यो 'लोकतन्त्र जिन्दावाद'! र, हामीलाई थाहा थियो कि यो आन्दोलनले संविधानसभाबाट संविधान र लोकतान्त्रिक गणतन्त्र ल्याउनेछ। मधेश आन्दोलनको माग र लक्ष्य नै प्रष्ट छैन। यदि राजेन्द्र महतो र उपेन्द्र यादवहरूलाई दुई फरक सभामा सम्बोधन गर्न लगाउने हो भने दुई फरक माग आउनेछ। राजकिशोर यादवको राजनीतिक चरित्र महन्थ ठाकुरसँग कदापि मिल्दैन। जब साझेदार र सहयात्रीबीच नै यस किसिमको भिन्नता हुन्छ तब आन्दोलन कमजोर हुन्छ। मेरो जवाफ यस्तै थियो।

यादवको अर्को प्रश्न, मधेश आन्दोलन सफल बनाउन के कुराको आवश्यक छ? भन्ने थियो। तर, मेरो जोड भने उही आन्दोलनको औचित्य पुष्टि र स्पष्टतामै थियो। आफ्ना मागहरूबारे बुँदागत रूपमा मधेशी र गैरमधेशी नेपालीलाई प्रष्ट पार्न नसक्नु नै आन्दोलनकारीको कमजोरी हो। हुनसक्छ कुनै विन्दुमा सरकार र सदनले आन्दोलनकारीका सबै माग मान्न बाध्य होलान्, तर मागबारे जनतालाई छर्लङ्ग पार्न नसकेसम्म आन्दोलन सफल भएको मान्न सकिन्न।

निर्वाचनको मूड

बाल्यकालमा सँगै पढेको एक जना साथी जनकपुर बजारमै व्यापार गर्छन्। मैले उनीसँग स्थानीय तहको निर्वाचनका सम्भावनाबारे बुझन चाहें। “निर्वाचन सम्भव र जरूरी छ किनकि हामी भोट दिन चाहन्छौं”, उनको जवाफ प्रष्ट थियो। सम्पूर्ण मधेशी जनताको प्रतिनिधित्व मधेशी मोर्चाले नगर्ने तर्क गर्ने उनी पटक पटकको आन्दोलनले व्यापार ध्वस्त बनाएकोमा बढी चिन्तित देखिए।

मधेश आन्दोलनमा सक्रिय भएर लागेका सिरहाका एक होटल व्यवसायीलाई पनि यतिबेला निर्वाचन चाहिएको छ। “५० प्रतिशतको हाराहारीमा मतदान होला, तर मधेशमा निर्वाचन असम्भव छैन”, उनले भने। शिक्षा क्षेत्रमा आबद्ध महोत्तरीका एक व्यक्तिले बडो रोचक कुरा गरे। उनको भनाइमा गाउँमा पाँच जना निर्वाचन विरोधी छन् भने २० जना सम्भावित उम्मेदवार। त्यसैले पनि निर्वाचनमा खास क्षति नहुने उनको आकलन छ।

मधेश आन्दोलनका बेला जनकपुरमा भेटिएका एक जना गैरदलीय युवा अभियन्ताले भनेको कुरा बारम्बार सम्झ्ना आउँछ। उनीसँग मैले मधेशको आवश्यकताबारे जिज्ञासा राखेको थिएँ। “हामीलाई गरिखाने माहोल देऊ!” उनको उत्तर थियो, “हामी बुझछौं, सबै राजनीतिक परिवर्तन एकै पटक सम्भव हुँदैन, अब मोर्चाले आफ्नो तरीका परिवर्तन गर्न आवश्यक छ।”

अहिलेको अवस्थामा निर्वाचन हुनुहुँदैन र पहिले मधेशको माग सम्बोधन गरिनुपर्छ भन्नेहरू पनि छन् तर सबै स्वरको एउटै ताल छैन। यसले पनि स्पष्ट पार्छ कि सम्पूर्ण मधेश निर्वाचन विरोधी छैन। “राजविराज, जनकपुर, जलेश्वर, मलंगवा र गौरजस्ता मधेशका ऐतिहासिक शहरहरू हेर्नुस्, निर्वाचनका लागि कति आतुरी छ भन्ने आफैं बुझनुहुनेछ”, सप्तरीका एक अगुवाले मसँग भने।

प्रतिकृया दिनुहोस