ब्लगआइतवार, बैशाख १०, २०७४

बस-दुर्व्यवहारविरुद्ध अभियान

कनक दीक्षित

महिलाको स्वतन्त्र निजी 'स्पेस' को निर्माण अभियान सार्वजनिक यातायातबाट शुरु गरौं ।

मोडलिङ तस्वीर: बिक्रम राई

मुलुकका महिला यतिविघ्न सार्वजनिक थलोमा एक्लै हिंड्ने चलन यसअघि थिएन । पूजाआजा, मेलापात, जात्रा र पर्वका बेला महिला घर बाहिर त निस्कने नै भए, तर एक्लै होइन; परिवार, साथी–सँगिनीको साथमा ।

सबै समुदायका महिला घरभित्रै गुम्सिएर गृहस्थी धन्दा मात्रै गर्थे भन्ने पनि होइन, तर आफ्नो थलोबाट धेरै पर अरु कसैको साथ बेगर हिंड्ने चलन भने नयाँ नै हो ।

त्योभन्दा पनि महत्वपूर्ण कुरा यो कि महिला हूलमाझ एक्लै हिंड्न बाध्य छन् आजकल, जस्तै सार्वजनिक बस–यात्रामा । र यसो हुँदा त्यस्तै खाले पुरुषको शिकार बन्दछन् ।

सामाजिक संस्कार तथा अर्थतन्त्रको द्रुत गतिमा फेरबदल हुँदा कतिपय क्षेत्रमा महिला अगाडि आएका छन् । तर महिलाको अस्तित्व, स्वाभिमान र शरीरलाई हेर्ने पुरुषको आँखा भने त्यो गतिमा सुध्रिएको छैन । आफ्नो यौनिक अतिशयोक्ति माग पूरा गर्न स्त्री अस्मितामाथि धावा बोल्ने ‘पुरुषार्थ’ बारे धेरै बोल्न परेन ।

यो पनि थपौं कि दक्षिणएशियाका कतिपय समाज भन्दा पुरुषको दुर्व्यवहार सन्दर्भमा समग्र नेपाली समाज त्यति नराम्रो पनि होइन । तर पनि दुर्व्यवहार भइरहेकै छ, इज्जतमा हस्तक्षेप भएकै छ ।

खप्ने कि थप्पड हान्ने
परिस्थिति बदलिएको छ, सामाजिक अवस्था र सम्बन्ध उथलपुथल भएको छ र शहर–गाउँमा महिलाको संसार फराकिलो भएको छ ।

राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख र उद्योग वाणिज्य महासंघको अध्यक्ष संजोगले आज सबै महिला छन्, यसलाई लक्ष्यप्राप्ति नभई शुरूआत मानौं । अझ स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवारीले त सामाजिक रूपान्तरणलाई राम्रै गति दिनेछ ।

महिलाको सार्वजनिक जीवनमा पूर्णतः समानुपातिक अधिकार, प्रतिनिधित्व तथा सहभागिताको लडाइँ शुरु भए पनि यो लामो दूरीको यात्रा हो । तर, केही कुरा भने तत्कालै गर्नुपर्नेछ ।

जसमध्ये एउटा अत्यावश्यक कुरा हो, सार्वजनिक थलोको महिलामाथि हुने दुर्व्यवहारविरुद्धको राष्ट्रव्यापी आन्दोलन । यो आन्दोलन शुरुआत हुन सक्दछ, सार्वजनिक बसभित्र हुने यौनिक प्रताडनाविरुद्धको अभियान ।

सार्वजनिक थलोमा महिलाको बढ्दो उपस्थितिले दुर्व्यवहार को सम्भावना बढाइदिएको छ । मुलुकभर हरदिन लाखौं महिला एक्लै खचाखच बसमा सवार हुन्छन्, शहर होस् या गाउँका सवारीमा । घुमाउरो र खाल्डाखुल्डीमय सडक–राजमार्गमा ठेलमठेल यात्रा त्यसै पनि असहज हुन्छ ।

यस्तै अवस्थामा यौनिक दुर्व्यवहार हुनेगर्छ अवसरवादीको हातबाट । महिला छेउ के परुन्, हात सल्बलाउने, चिमोट्ने, मडारिने– धेरैमा धेरै बस चढ्ने महिलाको अनुभव हो यो ।

हरेक दिन सर्वत्र महिलाले खेप्नुपरेको यस्तो पीडामा ग्लानि र आक्रोश मिसिएको हुन्छ । एकजना पीडितको शब्दमा, “दिगमिग बनाइदिन्छ, मानसिक तनाव हुन्छ, कसरी छुटकारा पाऊँ जस्तो हुन्छ ।”

केही महिलाले प्रतिरोध पनि गर्छन्, कसैले चूपचाप सेफ्टीपिनले घोच्ने तरीका पनि अपनाएका हुन्छन्, धेरैजसो भने अन्यत्र सर्दै पीडक पुरुषको जबरजस्तीबाट दूरी बढाउन खोज्छन् ।

तर बसको चापभित्र सधैं यो सम्भव हुँदैन, त्यस्तो अवस्थामा शोषणको स्थिति भयावह हुन्छ । ‘प्रतिशोध गर्नु नि, हल्ला गर्नु नि’ जस्तो सुझाव दिनलाई सजिलो, गर्न त्यति सजिलो हुँदैन पनि ।

सुरक्षित र निर्धक्क
चाहिएको छ, सार्वजनिक स्थल तथा सवारी साधनमा महिलालाई पुरुषजस्तै हिंडडुल गर्ने स्वतन्त्रताको परिस्थिति; सुरक्षित र निर्धक्क ।

आखिर किन महिलाले मात्र कुनै माहोलमा प्रवेश गर्दा यताउता, अगाडिपछाडि हेर्नुपर्ने, आफ्नो बचाउ गर्दै सुरक्षाको महसूस गरेपछि मात्र खुल्नुपर्ने ?

नेपाली समाज त्यतिबेलासम्म ‘विकसित’ हुँदैन जबसम्म महिलाले सार्वजनिक ठाउँमा पुरुषजस्तै निस्फिक्री बस–उठ गर्न सक्दैनन् ।

यस्तो जबरजस्तीविरुद्ध आन्दोलन शुरुआत गर्ने ‘सार्वजनिक बस यात्रा महिला यात्रु सुरक्षा अभियान’ बाट नै हो । बसको खचाखचको फाइदा लिएर महिलाको अंगमा हमला गर्नु कति नीच, असभ्य र आपराधिक हो भनी सन्देश छर्नुछ ।

यसका लागि प्रचारप्रसार गर्ने— लेख, पोस्टर, रेडियो, भिडियो, पर्चा, पम्प्लेट, सेलिब्रिटी सहभागिता तथा सडक नाटक (र, बस नाटक) को उपयोग गर्दै ।

राम्रो कुरा यो छ– अहिलेसम्मको अनुभवले देखाउँछ कि प्रष्ट र प्रभावशाली अभियान भयो भने त्यस्तै खाले पुरुषको आनीबानी धेरै हदसम्म सुधार्न सकिन्छ । यसअघि मूलधार मिडियाले बसमा हातपात हुने सन्दर्भ राम्रै गरी उठाउँदा यातनाको मात्रा केही घटेको सार्वजनिक यातायात प्रयोगकर्ता केही महिला यात्रुको अनुभव छ ।

योजनाबद्ध र वर्षभरि नै राष्ट्रव्यापी अभियान चलाउने हो भने दक्षिणएशियामा महिलामाथि सार्वजनिक बसमा दुव्र्यवहार र प्रताडना नियन्त्रण गर्न सफल मुलुकमा नेपालले सुनाम कमाउन सक्छ । यसले दशौं लाख महिलालाई राहत दिन्छ, समाजमा अमानवीयताको ‘डिग्री’ घट्नेछ ।

र, यो अभियान शुरु हुन सक्छ पुनस्र्थापित साझा यातायात सहकारी कम्पनीबाट, जससँग यो पंक्तिकार आबद्ध छ । अन्य शहरी बस कम्पनी तथा जिल्ला–प्रान्त परिवहनमा पनि यो अभियान अगाडि बढ्नुपर्छ र मुलुकभर पुरुष–महिला स्वस्फूर्त लागिपर्ने सम्भावना छ, किनकि यो समयको माग हो ।

नेपालका लागि बस परिवहन केही दशक मात्र पुरानो ‘सिस्टम’ हो । तर आज हिमाल, मध्यपहाड र तराई–मधेश, सर्वत्र एक्लाएक्लै महिला बस चढ्ने गर्छन्, खुलापन र स्वतन्त्रताको आश लिंदै । तर बसमा शारीरिक र मानसिक शोषणको सम्भावना छँदैछ । महिलालाई बसको सफरमा शोषणको अवस्थाबाट मुक्त गर्नुछ ।

 

प्रतिकृया दिनुहोस