कला/साहित्यआइतवार, बैशाख १०, २०७४

जयमाया काठमाडौं आइपुगी

हिमालखबर

तस्वीरः शान्तिम कोइराला

सन्दर्भ दोस्रो विश्वयुद्ध (१९३९–१९४५) को हो । हिरोसिमा र नागासाकीमा क्रमशः ‘लिटिल ब्वाई’ र ‘फ्याट म्यान’ नामका आणविक बम खस्नु अघिसम्म जापान छिमेकी देशहरुमा आक्रमण गरिरहेको थियो । सन् १९४१–१९४२ ताका उसले बर्मामाथि हमला गर्‍यो । राजधानी रंगुन र भिक्टोरिया प्वाइन्टबाट पनि बर्मेली सेना भागिरहेको खबर पाएपछि पश्चिमी क्षेत्रका बासिन्दा उत्तरपश्चिमी शहर सुप्राबुङतिर लाग्छन् । ज्यान जोगाउन अंग्रेज शासित भारत र बर्माबीचको युद्ध (सन् १८८५) र त्यसपछि बर्मा पुगेका नेपालीमूलका बर्मेलीहरु थातथलो छाड्न बाध्य हुन्छन् ।

जापानी सेनाको जहाज घरी आकाशबाटै बम खसाल्थ्यो त घरी फन्को लगाएर तर्साउँथ्यो । त्यही त्रासबीच कैयौं दिनको हिंडाइले उनीहरु बिरामी पर्छन् । कतिलाई हैजा, ज्वरो, आउँले च्याप्छ । घरबाट बोकी ल्याएको खाद्यान्न सकिन्छ । पहाड र जंगलको बाटोमा पानी पनि पाइँदैन । कति बाटोमै मर्छन्, कति बिरामी परेका आफन्तको अन्तिम सासको पर्खाइमा बाटैमा कुरिरहेका हुन्छन् ।

तस्वीरः नवीनबाबु गुरुङ

तिनै नेपाली मूलका बर्मेलीको व्यथालाई समातेर इन्द्रबहादुर राईले सन् १९६१ मै कथा लेखे, जयमाया आफू मात्र लिखापानी आइपुगी । कथाकार राईले १५ वर्षीया जयमायालाई मुख्य पात्र बनाएर बाँच्ने जिजीविषा साँचेर भागिरहेका नेपालीहरुको पीडा उधिनेका छन् ।

आमा, बुवा र गाउँलेहरुसँगै बर्माबाट घर छाडेर हिंडेकी जयमाया कथाकार राईको सृजनामार्फत लिखापानी आइपुगेकी थिइन् । १ वैशाखदेखि भने तिनै जयमाया पुर्खाको देश नेपालको राजधानी काठमाडौं आइपुगेकी छन्, जयमाया आफू मात्र लिखापानी आइपुगी नाटकमार्फत । अनामगनरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको यो नाटकको समय र कथाबीच एउटा संयोग पनि देखिएको छ । अप्रिलको यहीबेला घर छाडेका नेपालीहरुको दुःखलाई उपत्यकावासीले त्यही महीना आत्मसात् गरिरहेका छन् ।

तस्वीर सौजन्यः मण्डला थिएटर

सुनिल पोखरेलको परिकल्पना तथा निर्देशनमा ज्ञ नामक संस्थाले प्रस्तुत गरेको यो नाटकले दर्शकलाई पनि लिखापानीसम्मको यात्रा गराउँछ । घरी रुवाउँछ, घरी हँसाउँछ । त्योभन्दा बढी चाहिं मथिङ्गल खल्बल्याउँछ । सुवेदार (सुलक्षण भारती), बाघवीर (आर्जेश रेग्मी), रेडियो बाजे (राज न्यौपाने), ठूले (अमृत मल्ल), गर्जमान (सुरज तमू), चन्दा (चाँदनी शाही), पण्डित (सुजन कार्की), नन्दु (सुरज चौलागाई), नरे (सञ्जित प्रताप मल्ल) र धने (मौसम खड्का) जस्ता नयाँ पुराना रंगकर्मीको अभिनय कालखण्डलाई बोकेको छ । सुवेदारनी (सृजना अधिकारी), रुपा (रिता केसी), विधवा (उषा किरण), बाघवीरकी पत्नी (श्रेया भुषाल) थोरै बोल्छन्, धेरै भन्छन् । अभिनयको शक्तिले दर्शकलाई निथ्रुक्क पार्छन् ।

यात्रा शुरु हुनुअघि हाँसिखुशी किशोरीे जयमाया (सुनिशा बजगाई) ले लिखापानी पुगिसकेपछि पनि दर्शकलाई रुवाउन छोड्दिनन् । धन्न जयमायाका प्रेमी जयबहादुर (आभास अधिकारी) को भूमिकालाई रोचक बनाएर निर्देशक पोखरेलले दर्शकलाई थोरै भए पनि मन भुलाउने समय दिएका छन् । पृष्ठभूमिमा गुञ्जिरहने उत्सवकुमार बुढाथोकी र विश्वराज काफ्लेको संगीत संयोजनले उकुसमुकुसलाई सहज पार्छ, परिवेश बुझाउन पनि मद्दत गर्छ । मूल कथाको शीर्षकमा रहेको ‘लिखापानी’ लाई नाटकमा ‘लेखापानी’ बनाइनु, बिरामी पत्नीलाई बोक्दा–बोक्दा थाकेका सुवेदार आफैंले गोली हानी उनको हत्या गर्नुले नाटकलाई कथासँग थोरै विचलित बनाउँछ । राईको मूल कथामा भने सुवेदारनीले सुवेदारको पिठ्यूँमै प्राण त्यागेको उल्लेख छ ।

नेपाली साहित्यमा वैचारिक चेतको वकालत गर्ने विख्यात साहित्यकार राई र नेपाली रंगकर्ममा विशिष्ट छवि बनाएका पोखरेलको संगम बनेको यो नाटक आफैंमा ऐतिहासिक संयोग हो । राईको जटिल कथाको नाट्यरुपान्तरणको साहस र सफलताले पोखरेलको निर्देशकीय क्षमता पुनःपुष्टि गरेको छ । दिन गन्नै बिर्सिएका युद्धपीडित नेपालीका मर्मस्पर्शी कथालाई डेढ घण्टामा उन्नु चानचुने काम पक्कै थिएन, तर पोखरेलजस्ता सिद्धहस्तीबाटै यस्तो क्षमताको अपेक्षा गरिन्छ । ३० वैशाखसम्म चल्ने यो नाटक नहेरी नहुने त्यसै बनेको होइन ।
-बच्चु विक

 

प्रतिकृया दिनुहोस