‘हर्न निषेध अभियान सफल भएको छ’
काठमाडौं उपत्यकामा १ वैशाखदेखि हर्न निषेध अभियान सञ्चालन गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखका प्रमुख प्रहरी नायव महानिरीक्षक मिङ्मार लामा भन्छन्, “हर्न निषेध अभियानलाई सबैले स्वीकार गरेका छन् ।”
किन हर्न निषेध अभियान सञ्चालन गर्नुपर्यो ?
जथाभावी हर्न बजाउने क्रम बढ्यो । यसले एकातिर पैदलै हिंड्ने, कामकाजमा जाने सामान्य मान्छेलाई दिक्क लगाउँछ भने अर्कोतिर मानसिक रोगको समस्या देखिन थाल्यो । अनि हर्न निषेध त सभ्यताको प्रतीक पनि हो । त्यसैले हर्न निषेध अभियान ल्याएका हौं ।
यो अभियान कति सफल भएको छ ?
सर्वसाधारणले स्वागत गरेका थिए, सवारी चालकले पनि स्वीकार गरिसकेका छन् । यो एक हप्ताको अवधिमा ९५ प्रतिशत सफल भइसकेका छौं । छिटफुट केहीले बजाउने गरेका छन्, ती पनि केही दिनमा बानी परिहाल्छन् ।
हर्नलाई पूर्ण रूपमा निषेध गरिएको हो त ?
हर्न निषेध अभियान भन्ने वित्तिकै पूर्ण रूपमा निषेध होइन । सामान्य अवस्थामा नबजाउन यो अभियान आएको हो । दुइटा अवस्थामा हर्न बजाउन पाइन्छ । एउटा घुम्तीमा र अर्को चालकलाई हर्न नबजाउँदा दुर्घटना हुनसक्छ भन्ने लाग्यो भने हर्न बजाउन पाइन्छ ।
लेन व्यवस्थापन नगरी हर्न निषेध अभियान कसरी सफल होला ?
काठमाडौं उपत्यकाभित्र लेन व्यवस्थापन भइरहेकै छ । पूर्ण रुपमा नभएको हुनसक्छ । व्यवस्थापन गर्दै लैजान्छौं । कहिँ कतै नभएको भएपनि व्यवस्थापन गर्छौं । लेन निमय पालना भइरहेकै छ । नियम पालना नगर्ने सवारी चालक कारवाहीमा पर्दै पनि आएका छन् ।
यसमा दण्ड–सजायको व्यवस्था के छ ?
यो अभियान सञ्चालन गरेको पहिलो दिन १ वैशाखमा सबैलाई सम्झइबुझइ गरेका थियौं । २ वैशाखदेखि जरिवाना गर्न थालेका छौं । हर्न बजाए रु.५०० जरिवाना हुन्छ । यो अवधिमा १७०० जना कारबाहीमा परेका छन् । अन्य जरिवानामा जस्तो सीधै ट्राफिक प्रहरीले लिन पाउँदैन । हर्न बजाउनेले ग्लोबल आईएमई ब्यांकमा गएर जम्मा गर्नुपर्छ । यो रकम सीधै राजस्वको खातामा जम्मा हुन्छ ।