विर्तालाई पाँचथर गोल्ड कपको उपाधि
प्रथम पाँचथर गोल्डकपको उपाधि बिर्ता युनाइटेड क्लव झापाले जितेको छ । फिदिम उच्च माविको खेल मैदान, पाँचथरमा ९ वैशाखमा भएको फाइनल खेलमा एपीएफ दमकलाई ट्राइब्रेकरमा २–४ गोलले हराउँदै विर्ताले उपाधि जितेको हो ।
निर्धारित समयमा दुवै टीमले गोलरहित बराबरी खेलेका थिए । ट्राइब्रेकरमा विर्ता युथका तर्फबाट बिशाल राई, बुद्व चेम्जोङ, राजन श्रेष्ठ र बिकी चौधरीले १/१ गोल गरे भने एफीएफका तर्फबाट बुद्वराज राई र सुसिल राईले १/१ गोल गरे ।
उपाधिसँगै विर्ताले रु.एकलाख ५० हजार नगद पुरस्कार पाएको छ । त्यस्तै उपविजेता एपीएफले रु.एकलाख नगद पुरस्कार पाएको छ ।
फाइनलले खेलमा एपीएफका सुशील राई प्लेयर अफ द म्याच भए भने प्रतियोगिताका हाइ स्कोरर विर्ताका विशाल राई, बेस्ट गोलकिपर विर्ताका दिनेश थापा र बेस्ट फरवार्ड एपीएफका बुद्विमान राई भए । २ वैशाखदेखि सुरु भएको प्रतियोगितामा ८ टीम सहभागि थिए ।
-लक्ष्मी गौतम, पाँचथर