ब्लगमंगलवार, श्रावण १८, २०७३

एबोर्सनको पीडा

डा. सुमनराज ताम्राकार

गर्भावस्थामा हल्का रक्तस्राव हुनु स्वाभाविक भए पनि मात्रा बढे गर्भ तुहिन सक्छ।
 

गर्भावधिको सही व्यवस्थापनका लागि १२ हप्तासम्मलाई पहिलो त्रैमासिक, १३–२८ हप्तालाई दोस्रो त्रैमासिक र २९–४० हप्ताको अवधिलाई तेस्रो त्रैमासिकमा बाँडिएको हुन्छ। गर्भावस्थाको दोस्रो त्रैमासिकभित्र (विकसित देशमा २० हप्ता) रक्तस्रावसँगै पाठेघरभित्रको भ्रूण (गर्भे शिशु) तथा अन्य वस्तुहरू पाठेघरको मुख हुँदै बाहिर आउने प्रक्रियालाई गर्भ तुहिनु भनिन्छ। यस क्रममा तल्लो पेट दुख्ने र वाक्वाकी लाग्नेदेखि बेहोश हुनेसम्म हुनसक्छ। 

आफ से आफ गर्भ तुहिने क्रममा तल्लो पेट दुख्ने एवं योनीद्वारबाट रगत बहने प्रक्रियासँगै पाठेघरको मुख खुल्ला वा बन्द के छ, गर्भे भ्रूणको मुटुको धड्कन बाँकी छ वा छैन एवं पाठेघरभित्रको गर्भ सम्बन्धी पदार्थहरू सबै निक्लिएको छ, छैन भन्ने आधारमा गर्भ तुहिने प्रक्रियालाई पूर्ण, अपूर्ण, आघात मात्र पुगेको (थ्रेटेन्ड), सग्लो भ्रूण नभएको (मिस्ड), सेप्टिक (संक्रमित) र गर्भ तुहिने प्रक्रिया रोक्न नसकिने (इन्एभिटेबल) गरी वर्गीकरण गरिएको हुन्छ।

गर्भावस्थाको शुरुतिर जननेन्द्रियभित्र कीटाणुजन्य संक्रमण भए, डिम्ब वा शुक्रकीटमा वंशाणुगत समस्या भए, पाठेघरमा भ्रूण बस्ने वातावरण अनुकूल नभए, पाठेघरमा मासु बढे वा अधिक ज्वरो आउने कुनै संक्रमण भए गर्भ तुहिन सक्छ। गर्भावस्थामा गन्धयुक्त योनीस्राव बग्नु, रगत देखिनु र तल्लो पेटमा कडा किसिमको पीडा हुनु गर्भ तुहिनसक्ने लक्षण हुन्। त्यो अवस्थालाई गम्भीरतापूर्वक लिएर भरसक चाँडो चिकित्सककहाँ पुग्नुपर्छ।

मधुमेह, उच्च रक्तचाप, अधिक मोटोपना, उच्च कोलेस्टेरोल, रगत बाक्लो हुने समस्या, थाइरोइड गडबडी भएकी र जुम्ल्याहा बच्चा भएका महिलाको गर्भ तुहिने खतरा बढी हुन्छ। चाँडो–चाँडो बच्चा पाएका र कलिलो वा ढल्कँदो उमेरमा गर्भवती भएका महिलामा पनि गर्भ तुहिने जोखिम बढी हुन्छ। त्यस्तै, प्रदूषणयुक्त शहरी वातावरण, आधुनिक जीवनशैली, जंक फूड, मद्यपान एवं धूमपानको लतले गर्भ तुहिने सम्भावना बढाउँछ।

कुनै–कुनै महिलाको तीन वा सोभन्दा बढी पटक गर्भ खेर जान सक्छ। धेरै पटक गर्भवती भएर पनि एउटै जीवित बच्चा नहुनुको कारण वंशाणुगत, जन्मजात पाठेघरको खराबी, इन्डोक्राइन ग्रन्थी सम्बन्धी (अनियन्त्रित मधुमेह, थाइरोइड) गडबडी हुनसक्छ। त्यसैगरी, पाठेघर तथा स्त्री जननेन्द्रियको व्याक्टेरियल एवं भाइरल संक्रमण, मादक पदार्थ सेवन, धूम्रपान, रक्तनलीभित्र रगत जम्ने (बाक्लिने) जस्ता समस्या भएका महिलाको पनि पटक–पटक गर्भ तुहिन्छ।

बढ्दो जोखिम
कुनै महिलाले पहिले जीवित बच्चा जन्माएको छैन र यसअघि दुईभन्दा बढी पटक गर्भ तुहिसकेको छ भने यो पटक पनि गर्भ तुहिने सम्भावना ४० देखि ४५ प्रतिशतसम्म हुन्छ। पहिले एउटा जीवित बच्चा जन्माइसकेको भए यो पटक गर्भ तुहिने सम्भावना केवल १२ प्रतिशत हुन्छ। यस्ता महिलामा पहिले एक पटक, दुई पटक, तीन पटक, चार पटक र सोभन्दा बढी पटक गर्भ तुहिसकेको भए यो पटक त्यस्तो सम्भावना क्रमशः २४ प्रतिशत, २६ प्रतिशत, ३२ प्रतिशत, ४६ प्रतिशत र ५० प्रतिशत हुन्छ।

पाठेघरको मुख खुकुलो भयो भने दोस्रो त्रैमासिकतिर गर्भ तुहिन्छ। यस्ता समस्या भएका महिलाको पाठेघरको मुखमा गर्भ रहेको १६ हप्तापछि टाँका (म्याक डोनाल्ड स्युचरिङ्ग) लगाउनुपर्छ। परीक्षण गरिएकामध्ये आधाजसो महिलामा गर्भ तुहिनाको खास कारण पत्ता नलाग्न सक्छ। तर पनि, गर्भ तुहिने समस्या भएकी महिलाका पुराना रेकर्डको विस्तृत विश्लेषण गर्नुपर्छ। त्यसक्रममा प्रभावित महिलामा मधुमेह, रक्तनली भित्रै रगत जम्ने समस्या, उच्च रक्तचाप, मिर्गौलाको खराबी, पाठेघरमा जन्मजात खराबी भए/नभएको र दम्पतीबीचको रक्त समूह हेरिन्छ।

यी कारणहरूले नियमित गर्भ जाँच, सुरक्षित प्रसूति र उपयुक्त सुत्केरी सेवा आवश्यक पर्छ। नियमित जाँच नहुँदा संक्रामक तथा यौन रोगहरूका कारण न गर्भ तुहिन लागेको थाहा हुन सक्छ, न त आवश्यक उपचार। सही परीक्षण र उपचारको अभाव पनि पटक–पटक गर्भ खेर जानुको कारण हो। सन्तानका लागि इच्छुक महिलालाई गर्भपूर्व नै फोलिक एसिड र गर्भवती भएपछि एस्पिरिन, हेपारिन (रगत जम्न नदिने) औषधिहरू ख्वाउनुपर्ने हुन्छ। कतिपय गर्भवतीलाई महीना पुग्नासाथै वा गर्भे शिशुको फोक्सो परिपक्व भएको निर्क्योल हुनासाथ सिजेरियन अपरेशन गरेरै भए पनि सुत्केरी गराउनुपर्ने हुन्छ। पटक–पटक गर्भ खेर गएको महिलाको गर्भ एकपटक सफल भएपछि त्यसपछिका गर्भ समस्याग्रस्त नहुन सक्छ।

प्रतिकृया दिनुहोस