राष्ट्रपति भण्डारी आज स्वदेश फर्कदै
भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज आफ्नो भ्रमण सम्पन्न गरी स्वदेश फर्कदै छन् ।
भारतमा भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा आफ्ना समकक्षी प्रणव मुखर्जीसँग भेटवार्ता गरिन् ।
त्यसैगरी राष्ट्रपति भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, वित्तमन्त्री अरुण जेट्लीलगायत विभिन्न पार्टीका नेताहरुले राष्ट्रपति कार्यालयमा भेटवार्ता गरेका थिए ।
भ्रमणको दोस्रो दिन राष्ट्रपति भण्डारीलाई २१ तोपको सलामीसहित भारत सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो । सोही साँझ राष्ट्रपतिको सम्मानमा भारतीय समकक्षी मुखर्जीले राष्ट्रपति भवनमा रात्रिभोजको समेत आयोजना गरेका थिए ।
राष्ट्रपति भण्डारी भ्रमणको तेस्रो दिन गुजरात पुगेकी राष्ट्रपति भण्डारीले सोमनाथ र द्वारिकानाथ मन्दिर पुगेर दर्शन र पूजाआजा गरिन भने सोही साँझ राजकोटमा गुजरातका मुख्यमन्त्रीले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी भइन् ।
राष्ट्रपति भण्डारी भ्रमणको चौथोदिन बिहीबार भारतको मुख्य पर्यटकीय सहर उडिसाको राजधानी भुवनेश्वरमा विभिन्न कार्यक्रममा सहभागी भएकी थिइन् ।
उनले उडिसा राज्य सरकारद्वारा सञ्चालित मिसन शक्ति नामको संस्थाले आयोजना गरेको महिला सशक्तीकरणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गरिन् । साथै उनले यहाँस्थित लिङ्गेश्वरराज मन्दिरमा पुगेर पूजाआजा गरिन् ।
भारत भ्रमणको अन्तिम दिन राष्ट्रपति भण्डारी आज उडिसा राज्यको पुरीमा रहेको जगन्नाथ धाममा पुगेर दर्शन तथा पूजाआजा गर्ने कार्यक्रम छ ।
उक्त धामको दर्शनपश्चात् राष्ट्रपति भण्डारी यहाँस्थित बिजु पटनायक अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको विशेष विमानबाट भारतको राजधानी नयाँदिल्ली पुगेर त्यहाँबाट नेपाल एयरलाइन्सको विमानबाट बेलुका स्वदेश फर्कने कार्यक्रम छ ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय राष्ट्रपतिले भारतीय उच्च नेतृत्व तहकासबै भेटमा आफ्नो भूमिकालाई अत्यन्तै मर्यादित र स्पष्ट रुपले राखेको बताउँछन् ।
राष्ट्रपतिले राखेका सबै विषयमा भारतीय सबै तहबाट सहमतिका रुपमा ग्रहण गरिएको र भ्रमण सफल भएको उपाध्यायले बतए ।
रासस