दलहरुलाई दलित महिला उम्मेदवार पाउनै सकस
हरेक वडामा एकजना दलित महिला सदस्य अनिवार्य चुन्नुपर्ने कानुनी प्रावधानले कैलालीका राजनीतिक दल दलित महिला उम्मेदवार नपाउँदा समस्यामा परेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपालगायतका प्रमुख दललेसमेत अधिकांश वडामा दलित महिला उम्मेदवार पाउन सकेका छैनन् । दलित महिला उम्मेदवारको खोजीमा दलका नेता लागे पनि सबै वडामा ठूला दलले समेत उम्मेदवार पाउन नसकेको बताइएको छ ।
दललाई उम्मेदवार हुन चाहने दलित महिला पाउन मुस्किल भएको नेपाली कांग्रेसका जिल्ला उपसभापति प्रकाश बमले बताए ।
एमाले नेत्री कलावती जोशीले वडामा दलित महिला उम्मेदवार पाउने समस्या देखिएको बताइन् । उनले भनिन् “पाँच ठूला दलका लागि मात्र जिल्लामा ६ सय ३० दलित महिला चाहिएको छ ।”
उम्मेदवार बन्न नेपाली नागरिक हुनुपर्ने, सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेलगायत योग्यता तोकिएकोमा २१ वर्ष उमेर पुगेर पनि कतिपय महिलाले अझै नागरिकता लिइनसकेको र अन्य कतिपयले मतदाता नामावलीमा नाम समावेश नगरिसकेका कारण पनि दलित महिला उम्मेदवार पाउन थप समस्या सिर्जना भएको हो ।
६ नगरपालिका, ६ गाउँपालिका र एक उपमहानगरपालिका गरी कैलालीमा रहेका १३ वटा स्थानीय तहमा जम्मा एकसय २६ वडा रहेका छन् । “पार्टी र चुनावका विषयमा नै जानकारी नभएका महिलालाई उम्मेदवार बनाउनुको अर्थ छैन”, कांग्रेसका बमले भने, “तर कानुनी व्यवस्थाले यस्ता महिलालाई नउठाई नहुने बाध्यता सिर्जना भएको छ ।”
माओवादी केन्द्रका नेता हरि चौधरीले पनि दलित महिला उम्मेदवार पाउन निकै सकस भएको स्वीकार गरे । अन्य पार्टीको तुलनामा माओवादी केन्द्रसँग उम्मेदवार हुने दलित महिला भएपनि धेरै वडामा उम्मेदवार नपाउने समस्या उत्पन्न भएको उनले बताए । रासस