३१ वैशाखमै निर्वाचन गर्ने पाँच दलको निष्कर्ष
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख पाँच दलको बैठकले ३१ वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने निष्कर्ष निकालेको छ ।
निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल लोकतान्त्रिक फोरमका शीर्ष नेतासहितको बैठक बोलाएका थिए ।
बैठकले मधेस केन्द्रित दल सहमतिमा आए केही जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्न सकिने विकल्पमासमेत छलफल गरेको थियो ।
प्रमुख पाँच दलले निर्वाचनका सम्बन्धमा उठेका भ्रम चिर्दै निर्धारित मितिमै चुनाव गर्ने प्रतिबद्धता जनाएका छन् ।
बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले चुनाव तोकिएकै मितिमा हुने बताउँदै मधेसी मोर्चा निर्वाचनमा सहभागी हुने निश्चित भए केही जिल्लामा मात्रै दुई चरणमा निर्वाचन गर्न सकिने बताए ।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ३१ वैशाखमै निर्वाचन सम्पन्न गर्ने निष्कर्षमा बैठक पुगेको बताए ।
बैठकले मोर्चालाई निर्वाचनमा सहभागी गराउन अन्तिम समयसम्म प्रयास जारी राख्ने र त्यसमा प्रतिपक्षले सकारात्मक सहयोग गर्ने निष्कर्ष निकालेको छ ।