मोर्चा सहमतिमा आए दुई चरणमा निर्वाचनः देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशी मोर्चा निर्वाचनमा सहभागी हुने भए दुई चरणमा निर्वाचन गरिने बताएका छन् ।
५ वैशाखमा झापाको लखनपुरमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, “मधेशी दलहरुलाई पनि मनाएर दुई चरणमा निर्वाचन गर्न कांग्रेस तयार छ ।”
उनले संविधान संसोधनको पछिल्लो सरकारी प्रस्ताव पास गराएर मुलकलाई निर्वाचनको बाटोमा अघि बढाउन आवश्यक रहेको बताए । मुलुक र प्रजातन्त्र जोगाउन आसन्न निर्वाचन मुलुकका लागि जीवनमरणको मामिला भएको उनको भनाई थियो ।
सभामा कांग्रेस नेता तथा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि, नेताहरु रामशरण महत, कृष्ण सिटौला लगायतले निर्वाचनपछि मुलुकका राजनीतिक गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरेका थिए ।
गोपाल गडतौला, झापा