कला/साहित्यशनिवार, बैशाख २, २०७४

न्यूरोडबाट न्यूयोर्कसम्म

हिमालखबर

प्रसिद्धि नेपालमै छोडेर अमेरिका आइपुगेका फिरोज स्याङ्देनलाई खासै पछुतो छैन।

फिरोज स्याङ्देन । तस्वीर: छिरिङ डोल्कर गुरुङ

शुक्रबारको साँझ, क्विन्स शहरको ज्याक्सन हाइट। हिमालयन याक रेस्टुराँका दुवै तला नेपाली स्वादका पारखीले भरिएका छन्– घरको तिर्सना मेटाउँदै। बारमा पिउनेहरू उत्तिकै। सबै व्यस्त र मस्त।

रेस्टुराँको होहल्लाबीच एकाएक फिरोज स्याङ्देनको स्वर गुञ्जियो। नेपालको चर्चित रक ब्याण्ड १९७४ एडी का पूर्व मुख्य गायक स्याङ्देन 'परेलीमा...' गाउँदैछन्। यही गीतले सन् १९९८ ताका ब्याण्डलाई नेपाली सांगीतिक क्षेत्रको शिखरमा पुर्‍याएको थियो।

गीत सकिएसँगै तालीको झिनो आवाज सुनियो। केही जोर आँखाले मञ्चतर्फ हेरे, जहाँ स्याङ्देन र उनको टोली थियो। नेपालमा हुँदो हो त प्रत्येकले उनको स्वरमा स्वर मिलाएर गाइरहेका हुन्थे– शब्द, शब्द नबिराई।

काठमाडौंमा कुनै बेला १९७४ एडी ब्याण्डको कन्सर्टमा ६० हजार वटासम्म टिकट बिक्री भएको थियो– त्यसबेलाको नयाँ रेकर्ड कायम गर्दै।

“यसले मलाई फरक पर्दैन”, स्याङ्देनले भने, “बेवास्ता र गुमनामी बानी परिसकेको छ। मेरो काम यही हो, यही गर्छु।” एक गिलास बियर रित्याएपछि उनी अझ इमानदार देखिए। “निश्चय पनि बेलाबेला नरमाइलो लाग्छ। कहिलेकाहीं गाउँदागाउँदै बीचैमा रोकिन्छु, श्रोताहरूले वातावरण बिगारेको अनुभव गरुन् भनेर”, उनले भने।

स्याङ्देनका शब्दहरूमा कुनै रोष छैन, उनी नरम र मृदुभाषी छन्। सेलिब्रेटीको जस्तो हाउभाउ पनि छैन। 'आज ब्रोले गाउने हो?' भन्ने दुई जना जँड्याहालाई उनले मुस्कुराएर टारे।

सन् १९९४ मा बेस गिटारिस्ट निराकर याक्थुम्बा र ड्रमर भानु एसँग मिलेर १९७४ एडी स्थापना गर्दा स्याङ्देन २२ वर्षका थिए। याक्थुम्बाकी आमाले काठमाडौंमा सञ्चालन गरेको स्कूलमा यी तीन जनाको भेट भएको थियो। तीनै जना पश्चिमा संगीतका पारखी, विशेष गरी सन् ७० को दशकका डिप पर्पल र इगल्स जस्ता चर्चित ब्याण्डका।

“त्यसबेला हामी व्यावसायिक भइसकेका थिएनौं, पश्चिमा गीतका कभर गाउने आफूलाई महान ठान्थ्यौं”, अहिले ४४ वर्ष पुगेका स्याङ्देनले पुराना दिन सम्झिए। १९९६ मा ब्याण्डले निकालेको पहिलो अल्बम 'टाइम आउट' ले उनीहरूलाई चिनायो। अल्बमको 'मायालुले...' बोलको गीत युवाको मुखमै झुण्डिएको हुन्थ्यो।

“उहाँले नेपाली संगीतमा नयाँपन भित्र्याउनुभयो” एड्रियन प्रधानपछि १९७४ एडी का मुख्य गायक प्रज्ज्वल मुखिया (२६) भन्छन्, “म र हामीजस्ता नयाँ गायकमा उहाँको ठूलो प्रभाव छ।”

१९९८ देखि २००७ सम्म ब्याण्डले थप ७ वटा अल्बम निकाल्यो। प्रत्येक नयाँ अल्मब अघिल्लोभन्दा बढी चर्चित भए। तर नेपाली संगीत क्षेत्रको विडम्बना, सफल र चर्चित हुँदा पनि व्याण्ड आर्थिक रुपमा सबल हुन सकेन।

“नेपालमा गीतसंगीतमा लागेर जीवन धान्न गाह्रो छ” स्याङ्देन भन्छन्, “हाम्रो ब्याण्डले गरेका कार्यक्रममा रंगशाला भरिभराउ हुन्थ्यो, तर हामी चाहिं सधैं अभावमा हुन्थ्यौं।” तर, श्रोतालाई ब्याण्डको अन्तर्य थाहा हुने कुरा भएन।

त्यसैले सन् २००९ मा जब स्याङ्देन ब्याण्ड छोडेर अमेरिका लागेको खबर फैलियो, उनका प्रशंसकहरूले चित्त दुखाए। “यता आउनुको मुख्य कारण आर्थिक नै हो” स्याङ्देन भन्छन्, “नियमित आम्दानीको स्रोत थिएन, परिवार पाल्नै पर्‍यो, त्यसैले आएँ।”

उनका बुवा अहिले पनि दार्जीलिङको चियाबगानमा बस्छन्, जहाँ स्याङ्देन हुर्किए। उनकी पत्नी काठमाडौंमा छिन्। पोहोर मात्रै न्यूयोर्क आइपुगेकी छोरी ला–गार्डिया कलेजमा संगीत अध्ययन गर्दैछिन्।

तीन जना नेपाली व्यवसायीले सञ्चालन गरेको हिमालयन याक रेस्टुरेन्टमा साताको तीन साँझ्ा गाउने बाहेक स्याङ्देनले नेपाली र तिब्बती मूलका बालबालिकालाई गिटार सिकाउने काम पनि गर्छन्। स्याङ्देन भन्छन्, “यहाँ जीवन राम्रै छ तर, परिवार र साथीभाइको सम्झना निकै आउँछ, घरको खाना पनि मिस गर्छु।”

अहिले १९७४ एडी को सदस्य नभए पनि ब्याण्डसँग उनको सम्बन्ध राम्रो छ। ब्याण्डको नयाँ अल्बमका लागि दुई वटा गीत लेखेका उनले गत वर्ष ब्याण्डको 'अमेरिका टूर' का बेला गाए पनि। यसबीच दुई वटा एकल अल्बम निकालेका उनको पछिल्लो अल्बम हो, जिन्दगी असल छ।
छिरिङ डोल्कर गुरुङ, न्यूयोर्कबाट

 

प्रतिकृया दिनुहोस