मेयर पदमा लड्न प्राध्यापक पदबाट राजीनामा
स्थानीय तहको चुनावी सरगर्मी बढिरहँदा कृषि तथा वन विज्ञान विश्वविद्यालयको विशिष्ट श्रेणीको प्राध्यापकको जागिर छाडेर प्रा डा सूर्यकान्त घिमिरे भरतपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिने तयारीमा छन् ।
विद्यार्थी कालदेखि नै नेपाली कांग्रेससँग आबद्ध रहेर राजनीति गर्दै आएका घिमिरेले यसै महिनादेखि लागू हुने गरी विश्वविद्यालयको प्राध्यापकको जागिरबाट राजीनामा दिएका हुन् ।
विश्वविद्यालयका संस्थापक रजिष्ट्रारसमेत रहेका घिमिरे कांग्रेसका अन्य आकांक्षीको लाममा जागिर छोडेर उत्रिएका हुन् ।
जापानको ओकायामा विश्वविद्यालयबाट एमएस्सी एजी एवम् सोही विश्वविद्यालयबाट विद्यावारिधि गरेका घिमिरेले विसं २०४७ सालदेखि कृषि क्याम्पस रामपुरमा पढाउँदै आएका थिए ।
घिमिरे नेविसङ्घ चितवनका सभापति, नेका महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्य, जिल्ला कार्यसम्पादन समिति सदस्य, नेपाल प्राध्यापक सङ्घको केन्द्रीय सदस्यलगायतका पदमा रहेर काम गरिसकेका छन् ।
घिमिरेले महानगरपालिकालाई दूरदर्शी ढङ्गले सञ्चालन गर्नसक्ने आफू उपयुक्त उम्मेदवार भएकाले पार्टीले टिकट दिने विश्वासका साथ जागिरबाट राजीनामा दिएर महानगर क्षेत्रमा घरदैलो अभियानमा लागेको बताए ।
भरतपुर महानगरका लागि कांग्रेबाट ३४ जनाले आकांक्षा देखाएका छन् । नेका भरतपुर महानगरले इच्छुक दावेदारलाई निवेदन दिन आह्वान गरेपछि ३४ जना पुरुषले मेयर र एक पुरुष र १४ महिला गरी १५ जनाले उपमेयरका लागि निवेदन दिएका हुन् । रासस