काठमाडौँमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला हुने
काठमाडौँको भृकुटीमण्डपमा तेह्रौँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा ७ देखि ११ वैशाखसम्म ‘तेह्रौँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी– २०७४’ हुन लागेको हो ।
नेपाली उद्योगको संस्थागत विकास, लघु, घरेलु तथा साना उद्योगमा प्रविधि प्रतिस्थापनका लागि मेलाको आयोजना गर्न लागिएको महासङ्घले जनाएको छ ।
महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले प्रदर्शनीले अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास रहेको बताएका छन् ।त्यस्तै महासचिव डम्बरप्रसाद रेग्मीले मेलामा ६० वटा नवीन प्रविधिसहित २०० भन्दा बढी प्रदर्शनी कक्ष रहने जानकारी दिए ।
पाँच दिनसम्म चल्ने मेलामा एक लाखभन्दा बढीले अवलोकन गर्ने र छ करोड मूल्य बराबरको कारोबार अनुमान गरिएको आयोजकले जनाएको छ ।
मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेशलगायतका मुलुकमा उत्पादित वस्तुसमेत प्रदर्शनमा राखिने छ ।