उद्योग वाणिज्य महासङ्घको इतिहासमा पहिलोपटक महिला अध्यक्ष
नेपाल उद्योग वाणिज्य महासङ्घको ५१ औँ वार्षिक साधारणसभाबाट भवानी राणा अध्यक्ष चुनिएकी छिन् । राणा महासङ्घको इतिहासमा पहिलो महिला अध्यक्ष भएकी छिन् ।
उद्योग वाणिज्य महासङ्घको विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान राखिएपछि भवानी राणा महासङ्घको १८ औँ अध्यक्ष भएकी हुन् । निवर्तमान कार्यसमितिमा राणा वरिष्ठ उपाध्यक्ष थिइन् ।
त्यस्तै महासङ्घको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा, उपाध्यक्षहरु उद्योग वाणिज्य समूहमा प्रमोद श्रेष्ठ, वस्तुगत समूहमा उमेशलाल श्रेष्ठ, एसोसिएट सदस्य समूहमा चन्द्रप्रसाद ढकाल निवार्चित भएका छन् ।
वर्तमान अध्यक्ष राणा उद्योग वाणिज्य महासङ्घमा २०६२ सालमा प्रवेश गरेकी हुन् । राणा विसं २०६४–६७ मा पहिलोपटक महिला कार्यकारिणी समिति सदस्यमा निवार्चित भएकी थिइन् ।
महिला उद्यमी विकास समिति सभापतिको जिम्मेवारी सम्हालिसकेकी राणा पर्यटन व्यवसायमा आबद्ध छिन् । राणाले नेपालगञ्जमा रहेको व्यवसायिक घराना स्नेहा ग्रुप प्रालिको निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । नवनियुक्त अध्यक्ष राणा स्नेहा कल्चरल इन्टरटेनमेन्ट प्रालिको निर्देशक, स्नेहा बिएण्डएस कोलाब्रेसन प्रालिको व्यवस्थापन निर्देशक, सार्क चेम्बर क्राफ्ट भिलेज र बागेश्वरी विकास बैङ्कको प्रवद्र्धक र पद्मा क्रियशन प्रालिको निर्देशक हुन् । त्यस्तै राणा लगानी बोर्डको सदस्य तथा महिला उद्यमी महासङ्घ नेपालको अध्यक्षसमेत हुन् ।
सेन्ट मेरिज स्कुलमा विद्यालय शिक्षा आर्जन गरेकी राणाले भारतको लखनउ विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छिन् ।