नयाँ संशोधन प्रस्ताव संसद्मा दर्ता
सरकारले नयाँ संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराएको छ ।
यसअघि दर्ता भएको संशोधन प्रस्ताव फिर्ता लिए लगत्तै सरकारले नयाँ प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएकाे हाे ।
नयाँ संशोधन विधेयकमा प्रदेशको सीमांकन हेरफेर गर्न सङ्घीय आयोग गठन गर्ने र प्रदेशसभा गठन नहुँदासम्म त्यसको काम सङ्घीय संसद्ले गर्ने उल्लेख गरिएको छ । योसँगै राष्ट्रियसभा गठनका लागि बन्ने निर्वाचन मण्डलबाट स्थानीय तहका प्रमुख र उपप्रमुखको प्रतिनिधित्वलाई हटाउने र प्रदेशको सीमांकन हेरफेर गर्ने सम्बन्धमा धारा २७४ लाई संशोधन गर्ने विषय नयाँ विधेयकमा थपिएको छ ।
नयाँ संशोधन विधेयकमा यसअघिको विधेयकमै रहेको भाषा, नागरिकता र राष्ट्रियसभाको प्रतिनिधित्वसम्बन्धी व्यवस्था जस्ताको तस्तै राखिएको छ ।
आजै दिउँसो सरकारले यसअघि दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता लिएको थियो ।
२८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले पुरानो संविधान संशोधन विधेयकलाई फिर्ता लिएर नयाँ संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो ।