कला/साहित्यबुधवार, चैत्र २३, २०७३

कलानाथ अधिकारीका गीतमा चर्चा

हिमालखबर

कवि एवं गीतकार कलानाथ अधिकारीका गीत–संगीत बारे राजधानीमा चर्चा गरिएको छ ।

२३ चैतमा मदन पुरस्कार पुस्तकालय र कलानाथ अधिकारी स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा गीतकार कृष्णहरि बराल, चलचित्र निर्देशक यादव खरेल, संगीतकार आभाषले अधिकारीका गीत र संगीतका विषयमा चर्चा गरे ।

चलचित्र निर्देशक खरेलले कलानाथ अधिकारी सामाजिक परिवर्तनका पक्षमा वकालत गर्ने गीतकार, गायक भएको बताए । “उहाँ क्रान्तिकारी मान्छे हुनुहुन्थ्यो, अन्याय र अत्याचारका विरुद्धमा उहिल्यै लेख्नु भएको छ, गाउनु भएको छ,” निर्देशक खरेलले भने ।

खरेलले अधिकारीका गीतले जति चर्चा पाउनु पथ्र्यो त्यती पाउन नसकेको भन्दै उनका गीतहरुको प्रचार प्रसार जरुरी रहेको बताए ।

२००८ सालमै क्रान्तिकारी गीत गाएर समाजलाई जागरुक बनाउने काम गरेको डा.कृष्णहरी बरालले बताए । “कुनै कुनै साहित्य, कला सर्वकालिक हुन्छ, उहाँका गीत सर्वकालिक छन्” अधिकारीका सृजनाको बारेमा बोल्दै डा.बरालले भने ।

त्यस्तै संगीतकार आभासले अधिकारीका गीतको संगीतका विषयमा बोल्दै नेपालीपन जोगाउने काम गरेको बताए । भारतको कलकत्तामा गएर गीत रेकर्ड गर्नु पर्ने त्यो समयका धेरै जसो संगीतमा भारतीय झल्को आउने भए पनि अधिकारीले भने आफ्ना गीतहरुमा नेपालीपन दिएको उनले बताए ।

अधिकारीका ‘यो जल्दो फिलिंगो,’ ‘ए साइँला जगाउ ज्योती,’ ‘आइज निदरी आइज’ ‘पर त्यहाँ किन हो’, 'सुन माया' लगायतका गीतहरु रेकर्ड भएका छन् ।

अधिकारीको २४ चैत २०५४ मा ७० वर्षको उमेरमा निधन भएको थियो ।

 

 

 

प्रतिकृया दिनुहोस