टिप्पणीबुधवार, चैत्र २३, २०७३

डिप्रेसनबारे कुरा गरौं

हिमालखबर

-डा.मधुर बस्नेत

सन्दर्भः विश्व स्वास्थ्य दिवस (७ अप्रिल, २०१७)

विश्व स्वास्थ्य संगठनले सन् १९४८ मा नै ‘स्वास्थ्य’ लाई ‘स्वास्थ्य भनेको कुनै रोग विहीनताको अवस्था मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक रूपमा समेत सकुशल रहेको अवस्था हो’ भनी परिभाषित गरेको थियो । तर विडम्बना नै भन्नुपर्छ, झन्डै आधा शताब्दीभन्दा लामो समयसम्म मानव स्वास्थ्यको एक अभिन्न पाटो ‘मानसिक स्वास्थ्य’ विश्वव्यापी रूपमै बेवास्ताको शिकार बन्यो ।

अध्ययनहरूले देखाए अनुसार विश्वव्यापी रूपमा कुनै पनि समय १० प्रतिशत जनसंख्या मानसिक समस्याबाट पिल्सिएको हुनसक्छ भने झन्डै २० प्रतिशत बालबालिका तथा किशोरकिशोरीमा कुनै न कुनै मानसिक समस्या हुनसक्छ ।

विश्वभरमा हुने अपाङ्गता (डिज्याबिलिटी) को भारमध्ये एकतिहाइ मनोरोगकै कारण हुने अध्ययनहरूले देखाएका छन् भने मनोरोगको आर्थिक भार दश खर्ब अमेरिकी डलर अर्थात् एक हजार खर्ब नेपाली रुपैयाँ (नेपालको राष्ट्रिय बजेटको झन्डै १०० गुणा भन्दा बढी) रहेको आँकडा छ । अझ विश्वव्यापी रूपमा बढ्दै गएका जलवायु परिवर्तन, विभिन्न प्रकोप, युद्ध, आर्थिक मन्दी, अस्वस्थ जीवनशैली जस्ता प्राकृतिक तथा मानव सिर्जित समस्याका कारण १९९० को दशक यता मानसिक समस्याको चाप अझै बढेको देखिएको छ ।

फलस्वरूप पछिल्लो समय मानसिक रोगहरूको समस्या विश्वव्यापी रूपमै यसरी टड्कारो बनेर गएको छ कि यसको बारेमा नीतिनिर्मातादेखि अनुसन्धानकर्मी, प्राज्ञिक क्षेत्र, राष्ट्रिय–अन्तर्राष्ट्रिय सरकारी/गैरसरकारी संस्थाहरू सबैको ध्यान खिचिन थालेको छ । विश्वव्यापी रूपमा ‘दिगो विकास लक्ष्य’ का लक्ष्यहरूमा एक लक्ष्यका रूपमा ‘मानसिक स्वास्थ्य’ लाई राखिनु, विश्व बैंक, विश्व स्वास्थ्य संगठन जस्ता संस्थाहरूले मानसिक स्वास्थ्यलाई नै केन्द्रमा राखेर गरेका विभिन्न अध्ययन तथा कार्यक्रमहरू यसैको द्योतक हुन् । विश्व स्वास्थ्य संगठनले यस वर्षको विश्व स्वास्थ्य दिवस (७ अप्रिल) ‘आउनुहोस्ः उदासीनताको मनोरोगको बारे कुरा गरौं’ भन्ने नाराको साथ मनाउन लाग्नुको कारण पनि यही नै हो ।

उदासीनताको मनोरोग (डिप्रेसन): परिचय

डिप्रेसन एक मनोरोग हो । विश्वव्यापी रूपमा देखिएको मनोरोगको समस्याको प्रमुख कारण डिप्रेसन र बेचैनीको मनोरोग रहेका छन् । अध्ययनहरूले देखाए अनुसार विश्वव्यापी रूपमा सामान्यतया हरेक दशमध्ये एक जना मानिस आफ्नो जीवनकालमा डिप्रेसनको शिकार हुने सम्भावना हुन्छ । महिलाहरूमा त अझै हरेक चारमध्ये एक जना महिला आफ्नो जीवनकालमा डिप्रेसनबाट पीडित हुनसक्छन् ।

यो विश्वभर हुने आत्महत्याको एक प्रमुख कारण समेत हो । त्यसै गरी उच्च रक्तचाप, मधुमेह, मोटोपन, विभिन्न क्यान्सरका समस्यामा समेत डिप्रेसनको प्रत्यक्ष–अप्रत्यक्ष असर हुने अनुसन्धानहरूले देखाएका छन् । यसका अलावा विश्वभर चुनौतीकै रूपमा रहेको धूम्रपान, मद्यपान तथा अन्य लागूपदार्थको दुव्र्यसनीमा समेत डिप्रेसन एक प्रमुख कारकको रूपमा रहेको पाइएको छ । त्यसैले विश्व स्वास्थ्य संगठनले यस वर्षको विश्व स्वास्थ्य दिवस नै ‘आउनुहोस्ः उदासीनताको मनोरोगको बारे कुरा गरौं’ भन्ने नाराका साथ मनाउन लागिरहेको छ ।

यो लेखकले बिरामीको उपचार गर्ने क्रममा एक जना आफन्तलाई लिएर आउनुभएकी झन्डै साठी वर्षीया आमै अर्को हप्ता आफैं जँचाउन आउनुभयो । उहाँ अघिल्लो पटक आउँदा बिरामीलाई सोधेका प्रश्नहरू सुन्दा आफू पनि वर्षौंदेखि त्यस्तै समस्याले ग्रसित भएको लागेपछि उहाँ आफैं जँचाउन आउनुभएको रहेछ । थप जाँच गर्दा सम्पन्न परिवारकी ती आमै आफ्नो किशोरावस्थादेखि नै एक किसिमको डिप्रेसनको रोगबाट ग्रसित हुनुभएको रहेछ । डिप्रेसनकै कारण उहाँ उच्च रक्तचाप तथा मधुमेहको रोगबाट समेत पीडित हुनुभएको रहेछ ।

पटक पटक आत्महत्याको असफल प्रयास समेत गरेर हरेस खाइसक्नुभएकी ती आमै थप जाँचपड्ताल पश्चात् शुरु गरिएको मनोपरामर्श तथा औषधि उपचार पश्चात् झन्डै दुई महीनाको अन्तरालमै पूरा निको हुनुभयो र आमैले हर्षका आँशु खसाल्दै आफूले किशोरावस्थापछि पहिलो पटक यसरी जिन्दगीको आनन्द/खुशी र दोस्रो जन्म पाएको अनुभव भएको बताउनुभयो । यो त एक प्रतिनिधि घटना मात्र हो । त्यसैले हामीले डिप्रेसनका बारे बुझनु र यसका बारे जनचेतना जगाउनु जरूरी छ ।

डिप्रेसनका लक्षण

डिप्रेसन एक मनोरोग हो । यसको एक प्रमुख लक्षण मन निरन्तर उदास रहनु हो । दैनिक जीवनमा हामी सबै कुनै समस्या पर्दा केही समयको निम्ति विचलित वा उदास हुनसक्छौं तर सामान्यतया त्यो समस्या पार लगाएपश्चात् हाम्रो मन पुनः सामान्य रूपमा हाँसीखुशी रहन्छ । तर डिप्रेसनको रोग लागेपश्चात् हाम्रो मन निरन्तर (कम्तीमा दुई हप्ता भन्दा लामो समय) रूपमा उदास रहिरहन्छ । त्यसै गरी कुनै कुरामा रमाइलो नलाग्नु/रुचि नहुनु र शरीर निरन्तर कमजोर/शिथिल/गलेको/भारी जस्तो लाग्नु यसका प्रमुख लक्षण हुन् ।

त्यस्तै निद्रा नलाग्नु वा धेरै सुत्दा पनि निद्रा नपुगे जस्तो हुनु, खानाको रुचि घटबढ हुनु, बेचैनी हुनु, कुनै कुरा/काममा ध्यान एकाग्र गर्न नसक्नु/बढी बिर्सिने हुनु जस्ता लक्षण देखिन सक्छन् । यसका अलावा निराश हुने, जिन्दगीको बारे नकारात्मक सोचाइहरू आउने; जस्तैः आफू असहाय/बेसहारा भएको जस्तो लाग्ने, जिन्दगी बेकार भए जस्तो लाग्ने, बरु काल आइदिए पनि हुन्थ्यो जस्तो लाग्ने, आत्महत्याको सोचाइ आउने तथा आत्महत्या नै गर्नेसम्म हुन सक्छ ।

यी लक्षणहरूका कारण व्यक्तिले आफ्नो व्यक्तिगत, पारिवारिक, सामाजिक, व्यावसायिक आदि जिम्मेवारी÷काम गर्नमा कठिनाइ हुन जान्छ र उसको उत्पादनशीलतामा उल्लेख्य ह्रास आउन सक्छ । सामान्यतया माथि भनिएका लक्षणहरू दुई हप्ताभन्दा लामो समयसम्म रहेमा डिप्रेसनको आशंका गर्न सकिन्छ र तालीमप्राप्त स्वास्थ्यकर्मी वा मनोचिकित्सकसँग परामर्श गर्नुपर्छ ।

आफूलाई डिप्रेसन भएको शंका लागे गर्न सकिने कुरा

डिप्रेसन एक मनोरोग हो र यसका प्रभावकारी उपचारहरू उपलब्ध छन् । तसर्थ समयमै रोगको पहिचान गरी उपचार गर्दा व्यक्ति स्वस्थ हुने मात्र होइन यसका कारण पर्न जाने आर्थिक/सामाजिक भार र सम्भावित आत्महत्या समेत टार्न सकिन्छ । त्यसैले आफूलाई डिप्रेसन भएको आशंका भएमा निम्न कुराहरू गर्न सकिन्छः

१. तालीमप्राप्त स्वास्थ्यकर्मी वा मनोचिकित्सक÷मनोविद्सँग परामर्श गर्ने । गाउँघरमा वा दूरदराजमा कम्तीमा नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीसँग परामर्श लिने । उहाँहरूको सल्लाह अनुसार गर्ने ।

२. आफूलाई भरोसा लागेको व्यक्तिसँग आफ्ना समस्या/मनोभावनाका बारेमा कुरा/सल्लाह गर्ने । यसो गर्दा मन हलुङ्गो हुन जान्छ र केही सजिलो हुन सक्छ ।

३. समयमै उचित सहयोग÷उपचार पाएमा बेलैमा ठीक हुन सकिन्छ भन्ने कुरा राम्ररी मनन गर्ने ।

४. आफूलाई डिप्रेसन हुनुअघि जे कुराहरूमा रुचि/आनन्द लाग्थ्यो ती कुराहरूमा संलग्न भइरहने ।

५. आफन्त तथा साथीसँगीहरूसँग निरन्तर सम्पर्कमा रहने ।

६. शरीरमा शिथिलताको वा एकदमै कमजोरीको महसूस भए पनि सकेसम्म नियमित शारीरिक व्यायाम/परिश्रम गरिरहने । यसले गर्दा शरीर चलायमान हुन्छ र हाम्रो शरीर तथा दिमागमा सकारात्मक असर पर्न गई डिप्रेसनका लक्षणहरू कम गर्न मदत पुग्छ ।

७. आफ्नो नियमित बानी अनुसार समयमै खाना खाने तथा सुत्ने कार्यलाई निरन्तरता दिने । निद्रा लागेन भनेर अबेरसम्म नसुत्ने वा निद्रा लाग्यो भनेर अबेरसम्म सुत्ने नगर्ने ।

८. जाँड, रक्सी, खैनी, सुर्ती, पान, गुट्खा, सुपारी, गाँजा वा अन्य कुनै पनि नशाजन्य पदार्थ सेवन नगर्ने । कतिपय व्यक्तिहरूले उदासीपन हटाउन, राति निदाउन यस्ता नशा सेवन गर्ने गरेको पाइन्छ तर यस्ता नशाजन्य पदार्थले क्षणिक रूपमा राहतको महसूस भए पनि वास्तवमा उल्टो हानि पुर्‍याउँछन् । प्रतीकका रूपमा भन्दा यस्ता नशाजन्य पदार्थ सेवन गर्नु भनेको ‘आगोमा पेट्रोल हाल्नु’ जस्तो हो ।

९. आफूलाई डिप्रेसन छ भने त्यो सहज रूपमा स्वीकार्ने र डिप्रेसनका बेला हाम्रो कार्यक्षमतामा कमी आउने भएकाले आफ्ना इच्छा/आकांक्षा पनि सोही अनुरुप निर्धारण गर्ने ।

१०. डिप्रेसनमा सबैभन्दा खराब अवस्था भनेको आत्महत्याको जोखिम हो । डिप्रेसनका कारण सबै कुरा नकारात्मक देखिने हुँदा व्यक्तिलाई निराशाको एक चरम स्थितिमा ‘जिन्दगी बेकार छ, अब बाँच्नुको कुनै सार छैन र आत्महत्या नै एक मात्र विकल्प हो’ भन्ने लाग्न सक्छ । तसर्थ आफूलाई जतिसुकै नकारात्मक सोचाइ आए पनि ‘यो सबै डिप्रेसनको रोगका कारण हो; यो क्षणिक हो; रोग निको भए सँगै यो सबै कुरा ठीक हुन्छ; जिन्दगी/संसार वास्तवमा त्यति निराशाजन्य छैन’ भन्ने कुरालाई राम्ररी आत्मसात् गर्ने र जीवनमा आशाको किरणलाई निभ्न नदिने ।

प्रतीकात्मक रूपमा भन्दा डिप्रेसन भनेको त्यो कालो चश्मा हो जुन लगाउँदा बाहिर जतिसुकै चर्को घाम लागेको भए पनि तपाईंले कालै देख्नुहुन्छ । त्यसै गरी डिप्रेसनको रोगले हाम्रो दृष्टिकोण, संसारलाई हेर्ने नजर नै नकारात्मक बनाइदिन्छ; परिस्थिति जतिसुकै सकारात्मक किन नहोस् । अनि जसरी त्यो कालो चश्मा खोल्दा तपाईंले संसार उज्यालो देख्नुहुन्छ, डिप्रेसनबाट मुक्ति मिलेपश्चात् संसार/आफूप्रतिको त्यो नकारात्मक दृष्टिकोण पनि ठीक भएर जान्छ । यति गर्दागर्दै पनि आत्महत्याको सोचाइ आएमा तुरुन्त आफ्नो मन खाने व्यक्तिसँग कुरा गर्ने, मनको बह पोख्ने ।

तालीमप्राप्त स्वास्थ्यकर्मी तथा मनोचिकित्सक÷मनोविद्को परामर्शमा मनो–परामर्श तथा औषधीय उपचारको मदतले डिप्रेसन रोगको प्रभावकारी उपचार गर्न सकिन्छ । नेपालमा पनि लगभग पश्चिम धनगढीदेखि पूर्व बिर्तामोडसम्म, उत्तर रसुवादेखि दक्षिण जनकपुरसम्म स्थायी/अस्थायी रूपमा मनोचिकित्सकको सेवा उपलब्ध भैरहेको छ भने विभिन्न अस्पताल/स्वास्थ्य संस्थाहरूमा तालीमप्राप्त स्वास्थ्यकर्मी तथा मनोविद्म/नोवैज्ञानिक परामर्शकर्ताहरूले सेवा उपलब्ध गराइरहेका छन् ।

अछाम, प्युठान, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, झापा जस्ता कतिपय जिल्लामा कतिपय गैरसरकारी संस्थाहरूले समुदायमा आधारित मानसिक सेवा समेत उपलब्ध गराउँदै आएका छन् । विश्व स्वास्थ्य संगठनको पहलमा नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले पनि भूकम्प प्रभावित १४ जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत मेडिकल अधिकृतहरूलाई मानसिक उपचार सम्बन्धी तालीम दिएको छ जसले ती जिल्लाहरूमा गैर सेवा दिइरहेका छन् ।

त्यसैले आम नागरिकको रूपमा हामीले आफ्नो वरिपरि कसैलाई डिप्रेसन भएको आशंका लागेमा उनीहरूलाई यी जानकारीहरू उपलब्ध गराएर मदत गर्न सक्छौं । अझै पनि हाम्रो समाजमा डिप्रेसन भनेको व्यक्तिको कमजोरी/लाचारी/नालायकी/कायरता हो भन्ने विश्वास रहेको छ भने कतिपयले कुनै लागु/भूतप्रेत/कुल आदिको समस्याले भएको विश्वास गरेर त्यसैमा समय खेर फालिरहेका हुन्छन् । समाजमा रहेको यस्तो मिथ्या/अवहेलनाले गर्दा डिप्रेसनका बिरामीहरूलाई खुलेर आफ्ना समस्याका बारेमा भन्न हिच्किचाहट हुन्छ जसका कारण उनीहरू समयमै उचित उपचार पाउनबाट वञ्चित हुन्छन् भने कतिपयले आत्महत्याका कारण ज्यानै समेत गुमाउन पुग्छन् ।

तसर्थ हामी सबैले समयमै डिप्रेसनको यो भयावह स्थितिका बारे समयमै जानकार हुनु, समाजमा कुरा गर्नु, आफूलाई समस्या भएको लागेमा समयमै परामर्श लिनु, अरूलाई समस्या भएको आशंका लागेमा समयमै उचित सल्लाह एवं सहयोग र प्रोत्साहन गर्नु जरूरी छ । त्यसैले हामी सबै मिलेर “आउनुहोस्ः उदासीनताको मनोरोगको बारे कुरा गरौं ।’

(मनोचिकित्सक डा. बस्नेत बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपप्राध्यापक हुन ।) 

प्रतिकृया दिनुहोस