रिपोर्टबुधवार, चैत्र २३, २०७३

सुस्तायो पोखरा

हिमालखबर

पोखरामा बाह्रैमास पर्यटक भरिभराउ बनाउन स्पष्ट योजनासहितको पूर्वाधार विकास र गतिलो प्रवर्द्धन कार्यक्रम अत्यावश्यक भएको छ।

- युवराज श्रेष्ठ, पोखरा


शान्तिस्तूपबाट देखिएको फेवाताल, पोखरा र हिमश्रृंखला। तस्वीरहरुः युवराज श्रेष्ठ

८ चैतमा पोखरा घुमेपछि जापानका पूर्व प्रधानमन्त्री युकिओ हातोयामोले यो ठाउँको सौन्दर्य अनुसार पर्यटक कम भएको टिप्पणी गरे। दोस्रो पटक पोखराको निजी भ्रमण गरेका उनले अब अन्तर्राष्ट्रिय प्रवर्द्धन कार्यक्रम गरेर भए पनि विश्वलाई पोखरामा आकर्षित गर्न सुझाए। 

सन् १८९९ मा पहिलो विदेशी पर्यटकको रूपमा पोखरा आउने जापानी भिक्षु इकाई कावागुची यहाँबाट मुस्ताङहुँदै तिब्बत पसेका थिए। उनको पुस्तक 'तिब्बतमा तीन वर्ष'मा पोखराको सुन्दरता वर्णन छ।

त्यसपछि संसारलाई पोखरा चिनाउने विदेशी फ्रान्सका मौरिस हेर्जाेग हुन्। विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणमा निस्केका उनले ३ जून १९५० मा अन्नपूर्ण प्रथमको पहिलो आरोहण गरेका थिए। हेर्जोगको त्यो सफलतामा फ्रान्सले तीन दिन विदासहित राष्ट्रिय उत्सव मनाएको थियो।

हेर्जोगले लेखेको द अन्नपूर्ण पुस्तक करीब डेढ करोड प्रति बिक्री भयो, जसले पोखरालाई विश्व पर्यटन बजारको केन्द्रमा ल्यायो। त्यही पुस्तक पढेर सन् १९६५ मा पोखरा आएका बेलायतका जिम्मी रोबर्टले अन्नपूर्ण क्षेत्रमा पदयात्राको रुट पहिल्याए। रोबर्टसँग काम गरेका पोखराका पुराना पर्यटन व्यवसायी झ्लक थापा अन्नपूर्ण फेरोमा पदयात्रा त्यसपछि शुरू भएको सम्झ्न्छन्रु। थापा भन्छन्, “त्यसयता पोखराको पर्यटनले ठूलो फड्को मारेको छ, सन्तुष्ट हुनसक्ने अवस्था नरहे पनि।”

नेशनल ज्योग्राफिकले यो वर्ष घुम्नै पर्ने विश्वका उत्कृष्ट १२ पर्यटकीय गन्तव्यको सूचीमा पोखरालाई तेस्रो स्थानमा राखेको छ। त्यस्तै, विश्व प्रख्यात पर्यटक गाइड 'लोन्ली प्लानेट' ले घुम्नैपर्ने सूचीमा राखेको विश्वका १० पर्यटकीय गन्तव्यमा पोखरा भएर जानुपर्ने म्याग्दीको पुनहिल, मुस्ताङको जोमसोम र मुक्तिनाथ पनि छ।

आफ्नो पहल विनै यसरी अन्तर्राष्ट्रियस्तरमा पोखराको प्रवर्द्धन भइरहे पनि पर्यटन व्यवसायीहरू खासै उत्साहित देखिन्नन्। “अरू देशमा यसरी प्रवर्द्धन भएका ठाउँहरूमा करोड पर्यटक पुग्छन्” पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चिरञ्जीवी पोखरेल भन्छन्, “तर, हामीकहाँ कहिल्यै होटल भरिने गरी पर्यटक आएनन्।”

खुम्चिंदै गन्तव्य

मर्दी हिमाल पदयात्रामा पर्यटक।

पाँच पटकसम्म अन्नपूर्ण आधार शिविर पुगेका अष्ट्रेलियाली पर्यटक निगेल लोयड वेकले यो वर्ष छैटौं पटक पोखरा आउँदा मर्दी ट्रेक र थोराङपासको यात्रा गरे।

२०३८ सालबाट नेपाल आउन थालेका उनी अन्नपूर्ण हिमश्रृंखलाले आफूलाई मोहनी लगाएको बताउँछन्। यसबीचमा नेपालमा धेरै परिवर्तन देखेको उनले सुनाए। “३५ वर्षअघिको पोखरा अति सुन्दर, शान्त र रोमाञ्चक थियो” ६२ वर्षीय वेक भन्छन्, “अहिले सबैतिर घर, फोहोर र होहल्ला छ।” 

हुन पनि, पोखरा आउने विदेशीहरूले पदयात्राका लागि अति मन पराएका अधिकांश पदमार्ग अहिले सडकका कारण छोट्टिएका वा संकटापन्न बनेका छन् (हे. रिपोर्ट )। “१० दिनको अन्नपूर्ण आधारशिविर पदयात्रा अहिले ६ दिनमा झरेको छ” पर्यटन व्यवसायी टीकाराम सापकोटा भन्छन्, “विश्वविख्यात अन्नपूर्ण पदयात्रा अहिले २१ दिनबाट ७ दिनमा खुम्चिएको छ, धूले सडक खुलेकै कारण।”

पदयात्रासँगै पोखरामा पर्यटकको बसाइँ पनि छोट्टिएको छ। अहिले पदयात्रामा आउने अधिकांश पर्यटकले पोखरामा बढीमा दुई दिन मात्र विताउने गरेको व्यवसायी बताउँछन्।

गत वर्ष नेपाल आएका कुल ७ लाख ३४ हजार पर्यटकमध्ये ३ लाख (४० प्रतिशत) पोखरा पुगेको पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापाको अनुमान छ।

उनका अनुसार, तीमध्ये अधिकांश एक रात बसेर फर्किए। व्यवसायी सापकोटा भन्छन्, “हाम्रा ट्याक्सी ड्राइभर र पथप्रदर्शकहरूलाई छिटो काम सक्नुपरेको छ, त्यसभन्दा माथिबाट पर्यटन प्रवर्द्धनको काम पनि हुनसकेको छैन।”

पोखरामा प्राकृतिक दृश्यावलोकनका साथै संग्रहालय, र्‍याफ्टिङ, क्यानोनिङ, क्यानोइङ, प्याराग्लाइडिङ, जीप फ्लायर, बन्जी जम्प, अल्ट्रालाइट, बोटिङ जस्ता गतिविधि निरन्तर चलिरहेछन्। पर्यटकलाई भुलाउने मानवीय गतिविधि र प्राकृतिक–सांस्कृतिक सम्पत्ति हुँदाहुँदै पनि बसाइँ लम्ब्याउन नसकिएको सापकोटा बताउँछन्।

त्यस्तै, पर्यटन परिषद्का उपाध्यक्ष चिरञ्जीवी पोखरेल भन्छन्, “पोखरा भनेकै फेवाताल मात्र हो भन्ने बुझाइका कारण पर्यटकलाई वेगनासताल, रूपाताल र अन्य पर्यटकीय गन्तव्यमा पुर्‍याउनै सकिएन।”

धरापमा लगानी

अन्नपूर्ण बेसक्याम्प हिंडेका पर्यटक धम्पुसको पोथनामा।

पोखरा उपत्यकाका पर्यटक बस्ने स्तरका होटलहरूमा अहिले १८ हजार बेड छन्। यसमा वर्षेनि पाँचसय बेड थपिरहेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचन बताउँछन्। तर, ती सबैले हदैसम्म मूल्य घटाएर आफ्नो वस्तु तथा सेवा बिक्री गरिरहेका छन्।

गत वर्ष तीन लाख विदेशी र त्यति नै नेपाली पर्यटक पोखरा आएका थिए। यो संख्याले ५० प्रतिशत मात्र बेड भरिने तुलाचन बताउँछन्। 

यसले गर्दा होटलहरूबीच अधिक प्रतिस्पर्धा छ। व्यवसायीहरू एक रातको रु.८ हजार मूल्य तोकिएका कोठा अहिले रु.३ हजारसम्ममा झ्रेर बेचिरहेका छन्।

पोखरा आसपासमा रहेका होमस्टेहरू पनि व्यावसायिक रूपमा संचालन हुन नसकेको गाउँ पर्यटन प्रवर्द्धन मञ्च कास्कीका अध्यक्ष तारानाथ पहारी बताउँछन्। पोखरामा पर्यटक लक्षित होटल र पर्यटकीय संरचनामा रु.१ खर्ब लगानी भएको अनुमान छ।

फुजियामो टे्रेक एण्ड एक्सपेडिसन चलाएका सापकोटा लगानी अनुसार प्रतिफल नहुँदा पोखराको पर्यटन व्यवसाय डुब्ने अवस्थामा पुगेको बताउँछन्।

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास पछि पर्यटन व्यवसायीहरू उत्साहित भएर लगानी थपेका थिए, तर विमानस्थल निर्माण शुरू नहुँदा चिन्ता बढेको लेकसाइडस्थित होटल स्नोल्याण्डका संचालक गणेशबहादुर थापा बताउँछन्।

पोखरामा पर्यटकीय गतिविधि बढाउन अब क्षेत्रीय विमानस्थल पहिलो शर्त बन्न पुगेको व्यवसायीहरूको भनाइ छ। जुनसुकै एशियाली मुलुकबाट उडेका विमान पोखरामा अवतरण हुने भएपछि पोखराको पर्यटन उठ्ने उनीहरूको अपेक्षा छ।

ध्यान अन्यत्रै
पर्यटन बोर्ड पोखराले यस वर्ष अन्तर्राष्ट्रिय प्रवर्द्धन शीर्षकमा विदेश भ्रमणको कार्यक्रम बनाएको छ। यस कार्यक्रममा श्रीलंकाका लागि रु.१० लाख, भारत रु.१० लाख, भारतमै 'चलिए पोखरा' शीर्षकमा रु.१२ लाख तथा बङ्गलादेश, म्यानमार र थाइल्याण्डका लागि रु.१८ लाख छुट्याएको छ।

ती देशहरूमा पुगेर पोखराको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिए पनि विगतका अनुभव उपलब्धिमूलक छैनन्। यस वर्ष बोर्डले जिल्ला र गाउँ तहमा हुने मेला–महोत्सवलाई पनि रु.२५ लाख दिंदैछ।

बोर्डले वार्षिक कार्यक्रम अनुसार पर्यटन प्रवर्द्धनमा भन्दा पूर्वाधारको नाममा बढी खर्च गर्दै आएको छ। यस वर्ष जिल्ला विकास समितिमार्फत पश्चिमाञ्चलका १६ जिल्लामा पर्यटन प्रवर्द्धनमा रु.१ करोड ५० लाख र पूर्वाधार विकासमा रु.३ करोड ५० लाख खर्च भइरहेको छ।

प्रवर्द्धन र पूर्वाधारमा बजेट छर्दा देखिने गरिको उपलब्धि नभएको व्यवसायी बताउँछन्। पर्यटन मन्त्रालयले पर्यटन कार्यालय पोखरामार्फत तनहुँको तनहुँसुर कटरबोटमा कुलायन मन्दिर पुनःनिर्माणका लागि यस आर्थिक वर्षमा रु.४ लाख विनियोजन गरेर योजना पठायो।

उक्त योजना पश्चिमाञ्चल हेर्ने पोखरास्थित पर्यटन कार्यालयमार्फत माग भएको भने होइन। यस्तै, माग नै नभएका २४ वटा योजना मन्त्रालयले पर्यटकीय पूर्वाधारको नाममा थपेर पठायो।

पर्यटन पूर्वाधार निर्माणका लागि पर्यटन मन्त्रालयले पनि पर्यटन कार्यालय पोखरामार्फत रु.२ लाखदेखि रु.२५ लाखसम्मका १४१ योजनामा रु.९ करोड २३ लाख ५० हजार विनियोजन गरेर पठाएको छ।

मनाङ र मुस्ताङमा जिविसमार्फत योजना जान्छन् भने बाँकी ठाउँमा पर्यटन कार्यालयले उपभोक्तामार्फत खर्च गर्छ। यस अन्तर्गत पदमार्ग, मठमन्दिर, पिकनिक स्पट, शौचालय निर्माणलगायतका योजना धेरै छन्।

यसमा हालसम्म १०० योजनाको सम्झौता भएको छ। तर, यसरी भन्दा पनि पर्यटन विकासको 'मास्टर प्लान' हुनुपर्ने व्यवसायी टीकाराम सापकोटा बताउँछन्। “निजी क्षेत्रले के गर्ने, सरकारले के गर्ने भन्ने स्पष्ट हुनुपर्‍यो” उनी भन्छन्, “बोर्ड र मन्त्रालयले पैसा बाँड्ने होइन, वास्तविक पर्यटन प्रवर्द्धन गर्ने हो।”

प्रतिकृया दिनुहोस