चुनावी गतिविधिलाई तीव्र बनाउँदै इलामका राजनीतिक दल
स्थानीय तहको निर्वाचन नजिकिन थालेपछि इलामका राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिन थालेका छन् ।
ठुलादेखि साना दलले नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखलगायतका उम्मेदवार छनौटको तयारी गरिरहेका छन् ।
चुनाव घोषणापछि नेताहरूले कार्यकर्ता र मतदाता भेटघाटलाई बाक्लो बनाएका छन् । अधिकांश राजनीतिक दल स्थानीय तहको पुनःसंरचना अनुरूप दलको संरचना बनाउने गृहकार्यमा लागिपरेका छन् ।
नेपाली काँग्रेसले हालै जिल्ला सदरमुकाममा सम्पन्न गरेको तीन दिने प्रशिक्षणमा स्थानीय तह अन्तर्गत पार्टीको संरचना बनाउने तयारी थालेको जनाएको छ ।
नेकपा एमालेले पनि चुनावको तयारी व्यापक रूपमा गरिरहेको जनाएको छ । राष्ट्रिय कार्यक्रम अन्तर्गत संविधान कार्यान्वयनका लागि जागरण अभियान गाउँ-गाउँमा सञ्चालन गरेको एमालेले मतदातासँगको सम्पर्क सहकार्यलाई बाक्लो बनाउँदै चुनावी वातावरण बनाउने काम गरिरहेको उपसचिव उमेश गुरुङले जानकारी दिए ।
तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रले पनि स्थानीय तह अनुसार पार्टी कमिटीलाई समायोजन गर्ने र उम्मेदवार छनौटको अन्तिम तयारी गरिरहेको जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार इलाममा १७ वटा राजनीतिक दल दर्ता भएका छन् । रासस