सप्तरीः हात्ती आक्रमणमा दुईको मृत्यु, पाँच घाइते
हात्तीको आक्रमणबाट सप्तरीको हनुमान नगरमा दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।
जिल्लाको हनुमाननगर बजारमा आज, २२ चैत बिहान १० बजेतिर कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले स्थानीय वासिन्दामाथि मानिसमाथि आक्रमण शुरु गरेको थियो ।
हात्तीको आक्रमणबाट स्थानीय रोशन झा र सञ्जय साफीको ज्यान गएको हो ।
गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याएको केहि बेरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायव निरीक्षक भवानी ठाकुरले जानकारी दिए ।
आक्रमणबाट घाइते हुनेहरुमा स्थानीय संगीत साह, कालीचरण दास, नविना खातुन, ईर्साद अली र बसन्त मण्डल छन् ।
घाइतेहरुको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
हात्ती प्रवेश गरेर सर्वसाधारणमाथि आक्रमण गर्न थालेपछि भागाभागको स्थिति उत्पन्न भएको थियो ।
हात्तीलाई धपाइएपनि त्रासका कारण हनुमाननगर बजार बन्द गरिएको छ ।
श्रवणकुमार देव, राजविराज