देउवा र कांग्रेसविरुद्धको अवहेलना मुद्दाको पेशी सर्यो
नेपाली कांग्रेस र सभापति शेरवहादुर देउवा समेतलाई विपक्षी वनाई २० चैतमा दायर अदालतको अवहेलना सम्बन्धी मुद्दाको बहस आज नहुने भएको छ ।
सर्वोच्च अदालतले प्रकाशित गरेको दैनिक पेशिसूचिमा उक्त मुद्दा ‘स्थगित’ मा परेको छ । भोलि २३ चैतमा सार्वजनिक विदा (रामनवमी) परेको कारण अर्को पेशी २४ चैतका लागि तोकिएको छ ।
नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै उक्त निर्णय शक्तिपृथकिकरणको मान्यता भन्दा विपरित भएको भन्ने नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले निर्णय गरेको र सो पार्टीका सभापति शेरबहादुर देउबाले १८ चैतमा विराटनगरमा ‘आइजिपी नियुक्त गर्ने काम सरकारको हो, हेर्दैै जाउँ के हुन्छ’ भनी अदालतले गरेको निर्णयउपर चुनौती दिएर बोलेको भन्दै अधिवक्ता हरिप्रसाद मैनालीले रिट निवेदन दर्ता गरेका थिए ।
यदि अदालतबाट अवहेलना भएको ठहर भएमा अधिकतम सजाय १ वर्ष सम्म कैद वा १ लाख रुपैयाँ सम्म जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था छ ।