टिप्पणीआइतवार, चैत्र २०, २०७३

रन्जना लिपिको किन उपेक्षा ?

वसन्त महर्जन

स्थानीय निकायहरू सरकारी अंग हुन् भन्दैमा स्थानीयता त्याग्ने काम स्वीकार्य हुँदैन। 

ईश्वरीप्रसाद पौडेल कार्यकारी अधिकृत भएर काठमाडौं महानगरपालिका आएपछि पहिलो कामको रूपमा महानगरपालिकाको लेटरहेड र साइनबोर्डबाट रन्जना लिपि र लोगो हटाए।

यो लिपिलाई आफ्नो पहिचानसँग जोड्ने नेवार समुदायका विभिन्न संघ–संस्थाले चर्को विरोध गर्दै आन्दोलन गर्ने चेतावनी दिएपछि पौडेलले तालुकवाला मन्त्रालयको परिपत्रअनुसार त्यो काम गरेकोे जनाए।

अनि विरोध संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसम्म पुगेपछि रन्जना लिपि र लोगोलाई निरन्तरता दिन निर्र्देशन भएको छ। 

यो प्रकरणमा रन्जना नेवारहरूको लिपि हो भन्ने भ्रम र मूढाग्रह दुवैले काम गरेको बुझिन्छ। मूढाग्रहले मास्ने र भ्रमले तत्कालै जोगाउने गज्जबको काम गर्‍यो।

खासमा, ब्राह्मी परिवारभित्र विकसित एक विशिष्ट लिपि हो, रन्जना। भारतको बंगालतिरका विभिन्न ग्रन्थ तथा शिलापत्रहरूमा प्रारम्भिक स्वरुप देखिने यो लिपि १२औं शदाब्दीतिर नेपाल आयो र मौलायो।

यसको विकास–विस्तारमा काठमाडौं उपत्यकाका नेवारहरूको उल्लेख्य योगदान रह्यो, जसबाट यसमा उनीहरूको स्वामित्व पनि देखिन पुग्यो। अहिले रन्जनालाई नेपाल लिपि भनेर बुझनेहरू धेरै छन्।

इसाको १२औं देखि १७औं शताब्दीसम्म धेरै प्रचलित रन्जना लिपि अहिले अपहेलित अवस्थामा छ। हेर्दा अति आकर्षक तर, लेख्दा निकै मिहिनेत पर्ने र तुलनात्मक रूपमा बढी समय लाग्ने भएकाले पहिला पनि यो लिपिको प्रयोग साधारण लेखपढमा नभएर विशेष प्रयोजनका लागि हुन्थ्यो।

कोणात्मक डिको, चौडा अक्षर, दाहिनेतिर ढल्केको पातलो र लामो रेखान्त यो लिपिको विशेषता हो। विभिन्न समयको नेवार समुदायको बौद्धिक क्षेत्रमा यो लिपिका विभिन्न शैली चलेको पाइन्छ।

झिंगाको टाउकोजस्तो डिको भएकोलाई भुजिंमोल र गोलो डिको भएकोलाई गोलमोल नाम दिइएजस्तै आत्मरन्जन गराउने र आकर्षक भएकोले यो लिपिले रन्जना नाम पायो।

यो लिपि विविध विषयका थुप्रै ग्रन्थ तथा शिलापत्र, ताम्रपत्र आदिको लेखनमा प्रयोग भयो। महायानी बौद्ध सम्प्रदायमा अत्यन्तै महत्व राख्ने प्रज्ञापारमितालगायतका ग्रन्थहरूमा सुन वा चाँदीको लेपनबाट यो लिपि प्रयोग भयो। अर्थात्, महत्वपूर्ण धार्मिक लेखनमा रन्जना लिपि रोजियो।

नेपालका मनाङ, मुस्ताङ, सोलुखुम्बु, डोल्पालगायतका जिल्लादेखि तिब्बत, चीन, जापान र मंगोलियासम्मका बौद्ध समाजमा यो लिपि लोकप्रिय भएको पाइन्छ, जुन आफैंमा रन्जना काठमाडौं उपत्यकाको नेवार समुदायको मात्र हो भन्ने बुझाइको खण्डन हो। 

तिब्बतका शासकहरूले संस्कृतमा लेखिएका बौद्ध धर्मका ग्रन्थहरूलाई तिब्बती समाजमा फैलाउन छुट्टै व्याकरण र सम्भोटा लिपि तयार गरेका थिए।

संस्कृतको षड्क्षरी मन्त्र 'ओम् मणि पद्मे हुँ' रन्जना र सम्भोटा लिपिमा लेखिएको छ। रन्जना लिपि एउटा भाषाविशेषमा सीमित नरहेको यसले देखाउँछ।

अचेल देवनागरी लिपि चलाउने नेवारहरूले रन्जनाप्रतिको आकर्षण र गौरव त्याग्न नसकेर पत्रपत्रिका वा पुस्तकको शीर्षक तथा संघ–संस्थाका लेटरहेड वा साइनबोर्डहरू भए पनि प्रयोग गर्न छाडेका छैनन्।

दैनिक प्रयोगमा ल्याउन सम्भव नभए पनि इतिहासको यो गौरवलाई महानगरपालिकाले चिनोको रूपमा सजाओस् भन्ने आग्रह रहेको बुझिन्छ।

भारतमा जन्मेर नेपालमा हुर्केको रन्जना लिपि तिब्बतबाट अन्य देशहरूमा प्रसार भएकोले विश्वमा यो तिब्बती लिपि हो भन्ने बुझाई छ।

तिब्बतीहरूले भने रन्जना लिपिको स्वामित्व/श्रेय काठमाडौंलाई दिन भुलेका छैनन्। काठमाडौंमै चाहिं यो उपेक्षित हुनलागेको महानगरपालिकाको पछिल्लो प्रयासले देखायो। त्यसमा नेवार समुदायको प्रतिक्रियालाई नाजायज भन्न सकिन्न।

नेवार भन्नु नेपालकै अंश भएका कारण रन्जना लिपि नेपालकै गौरव हो। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र ऊ मातहतको काठमाडौं महानगरपालिकाले पनि यो गौरवलाई सकार्नुपर्छ।

स्थानीय निकायमा 'नेपाल सरकारको लोगो मात्र चलाए भइहाल्यो नि' भन्ने मनसायले मन्त्रालय र महानगरपालिकाले आफ्नो लेटरहेड र साइनबोर्डबाट रन्जना लिपि र लोगो हटाउन खोजेको हुनसक्छ।

जनप्रतिनिधि नभएको मौका छोपेर त्यो कुकाम फत्ते गर्न खोजेको देखियो। स्थानीय निकायहरू सरकार मातहत नै हुन्, तर त्यसो भन्दैमा स्थानीयतालाई त्याग्नैपर्छ भन्ने छैन, हुँदैन। सामेली लोकतन्त्रले पंख फिंजाइरहेको बेला त स्थानीय विशेषताले झन महत्व पाउनुपर्छ।

फेरि काठमाडौं त प्राचीन कालमा खड्ग, स्वस्तिक, शंख, षट्कोण आदिको आकारमा विकास भएको नगर हो। तीमध्ये खड्गाकार झल्काउन काठमाडौं महानगरपालिकाले खड्ग चिह्नलाई आफ्नो लोगो बनाएको हो।

महानगरपालिकाले खोज–अनुसन्धान समेत गरेर आफ्नो इतिहासको गौरव र पहिचान उजिल्याउनुपर्छ। भएका पहिचानलाई नामेट पार्ने मूढाग्रह/मूर्खता त देखाउनै हुँदैन।

प्रतिकृया दिनुहोस