अन्तर्वार्ता/विचारशुक्रवार, चैत्र १८, २०७३

'हिन्दूत्व' को बाछिटा

शेखर खरेल

नरेन्द्र मोदीको 'सगोत्रीय सदासयता' बाट नेपाल हिन्दू राष्ट्रमा फर्कने आकलनमा पुलकित हुनेहरूले भारतीय नोटमा छापिने महात्मा गान्धी किन आज भारतका 'सौतेला बापु' बन्दैछन् भनेर गम्नुपर्छ।

कहिलेकाहीं हामी शब्दको भेद नखुट्याई फरक शब्द वा सम्बोधनबाट साझा अर्थ निकाल्न पुग्छौं। जस्तो, कतिपयका लागि इङ्गल्याण्ड, ग्रेट ब्रिटेन र संयुक्त अधिराज्य एउटै मुलुक हो। यथार्थमा इङ्गल्याण्डले अंग्रेजबहुल राज्य इङ्गल्याण्ड मात्र, ग्रेट ब्रिटेनले वेल्स, स्कटल्याण्ड र इङ्गल्याण्डसहितको एकीकृत राष्ट्र र संयुक्त अधिराज्यले वेल्स, स्कटल्याण्ड, इङ्गल्याण्ड अनि उत्तरी आयरल्याण्डसहितको विशाल बेलायती साम्राज्य बुझाउँछ। 

हामी आफ्नो विशाल दक्षिणी छिमेकलाई पनि रुचि र आदत बमोजिम भारत, हिन्दूस्तान र इण्डियाका नामले सम्बोधन गर्छौं। हुन त यी तीनै नामले बुझाउने राष्ट्र एउटै हो र त्यसले चर्चेको भौगोलिक सीमा वा सरहद पनि एकै हो।

तर, ती नामहरूले एकै राष्ट्र बताउँदा–बताउँदै पनि छुट्टाछुट्टै नामले मानसपटलमा एउटै देशको अलग–अलग मनोवैज्ञानिक छवि निर्माण गरिदिन्छन्। यी नाममध्येका कुनैले अलि पौराणिक वा ऐतिहासिक अर्थ सम्प्रेषित गर्छन् भने कुनैले नयाँ वा आधुनिक।

यो पंक्तिकारसहित नेपालका बहुसंख्यक नागरिकले अँगालेको धर्मबारे पनि यस्तै खाले अन्योल वा विरोधाभास पाइन्छ। हिन्दू (हिन्दू धर्म), सनातन धर्म, वैदिक धर्मलगायत अनेकौं नामले यस धर्म वा आस्थालाई सम्बोधन गरिंदै आएको छ। यसका अनेकौं संगति वा परिभाषा पाइन्छन्।

स्वामी विवेकानन्द हिन्दूलाई सनातन वैदिक धर्मको परिभाषाबाट विस्तृत र व्यापक बनाउँथे। सनातन अर्थात् त्यस्तो धर्म जसको न आदि छ न त अन्त्य। वैदिक अर्थात् वेद (बोध) निस्सृत।

उनले सनातनलाई सरल प्रकारले अर्थ्याउँदै भने, “सनातन, अर्थात् परिभाषा दिइनुपूर्वदेखि नै अस्तित्वमा छ, के न्यूटनले गुरुत्वाकर्षणको परिभाषा दिनुअघि पृथ्वीमा गुरुत्वाकर्षण थिएन र?”

सनातन होइन 'हिन्दूत्व'
स्वामी विवेकानन्दले सनातन वैदिक (हिन्दू धर्म) लाई व्यक्तिको शील र उन्नयनसँग जोडे। धर्मलाई लोकहितको माध्यम बनाएका उनको हिन्दू धर्मको परिभाषाभित्र भूगोल र राज्य थिएन।

उनले भने, “म त्यस्तो धर्मसँग सम्बद्ध भएकोमा गर्वानुभूति गर्दछु जसले विश्वलाई सहिष्णुतासँगै वैश्विक स्वीकार्यता सिकाएको छ। हामी वैश्विक सहिष्णुतामा मात्र विश्वास गर्दैनौं, बरु सबै धर्मलाई सत्यका रूपमा स्वीकार्छौं।” विवेकानन्दको परिभाषामा समेटिंदै कैयौं पश्चिमाहरू पनि चुम्बक झैं सनातन हिन्दू धर्मतिर आकर्षित भए।

विवेकानन्दको विपरीत केही भारतीय भाष्यकारका निम्ति भने हिन्दू धर्म वा आस्थाको विषय मात्र रहेन। उनीहरूले हिन्दूलाई एउटा सजातीय (होमोजिनियस) राष्ट्रको काल्पनिकीमा उतार्दै आध्यात्मिक भन्दा राजनीतिक मार्ग तय गरे। विवेकानन्दकै समकालीन विनायक दामोदर सावरकर उर्फ वीर सावरकरले आफ्नो चर्चित पुस्तक हिन्दूत्वका सार (सन् १९२३) मा 'हिन्दूत्व' को अलग भाष्य प्रतिपादन गर्दै एउटा राष्ट्र निर्माणको रूपरेखा प्रस्तुत गरे।

वर्तमान भारतको राजनीतिक शक्ति भारतीय जनता पार्टी (वीजेपी) का सैद्धान्तिक पिता सावरकरले 'हिन्दूत्व' को परिभाषा गर्दै लेखेका छन्– 'हिन्दूत्व शब्द होइन, किन्तु एउटा इतिहास हो। जुन हाम्रो आध्यात्मिक वा धार्मिक इतिहास मात्रै नभएर एउटा सम्पूर्ण इतिहास हो।

त्यसैले हिन्दूत्वलाई हिन्दूको धार्मिक व्याख्या भित्र संकुचन गर्ने भूल गरिनुहुँदैन।' सावरकरले बरु हिन्दू चाहिं बृहत् हिन्दूत्वको हिस्सा भएको जिकिर गर्दै लेखे– 'हिन्दू व्युत्पन्न शब्द वा हिन्दूत्वको अंश मात्र हो।'

सावरकरको भाष्यमा 'हिन्दूत्व' धर्म भन्दा पनि जातीय र नश्लीय पहिचान हो। हिन्दूत्वका सार मा उनले लेखेका छन्– 'हामी सबै हिन्दूहरू एक र एकै राष्ट्रका हौं, किनकि हामी सबैमा बग्ने उही 'भारतीय सन्तति' को साझा रगत हो।'

हिन्दू को हुन् र को होइनन् भन्ने कुरालाई अझ् प्रष्ट्याउँदै सावरकरले लेखेका छन्– 'हिन्दूको अर्थ भारत देशको बासिन्दा भन्ने मात्र होइन, किनकि हामीलाई एउटै रगतले बाँधेको हुँदा हामी केवल राष्ट्र मात्र नभएर एउटा जाति हौं।' यसको अर्थ, 'हिन्दूत्व' आस्था भन्दा भूगोल र राष्ट्रको विषय हो। यहुदीहरूले यस्तै प्रयत्नबाट इजरायल निर्माण गरे।

राजनीतिक मनोविज्ञ आशिष नन्दीका अनुसार, आज भारतमा बढिरहेको 'हिन्दूत्व' हजारौं वर्ष पुरानो सनातन हिन्दू धर्म होइन। यसको इतिहास पनि डेढ शताब्दीको मात्र छ।

नन्दीको तर्क छ– 'हिन्दूत्व खासमा हिन्दू (धर्म) माथिकै प्रहार हो, हिन्दूत्वको यसखाले उन्माद हिन्दू धर्मको अन्त्यमा गएर मात्र टुङ्गिने हुन्छ।' गान्धीको नाम भजाएर हिन्दूत्वको एकल सजातीय समाज निर्माण गर्ने वीजेपीको चेष्टाबाट उदीयमान भारतको खास बावु सावरकर र गान्धी चाहिं सौतेनी बावु हुन पुगेको नन्दीको ठहर छ।

'हिन्दूत्व' को खतरा
भाजपाको मातृ संस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रथम पुस्ताका प्रचारकहरू बीएस मुन्जी, केबी हेड्गेवर (आरएसएसका संस्थापक), हिन्दूत्वका भाष्यकार सावरकर आज जीवित हुन्थे भने आफ्ना मानसपुत्रहरूको सत्तारोहणबाट निश्चय पनि प्रसन्न हुनेथिए।

उनीहरू 'हिन्दू राष्ट्र' निर्माणको कति सन्निकट छन्, सटिक आकलन गर्न नसकिए पनि एउटा कुरा भन्नलाई मथिङ्गल खियाउनुपर्दैन– त्यो हो, भारतको सेकुलर (धर्मनिरपेक्ष) चरित्र क्षयोन्मुख छ, बहुधार्मिक र बहुजातीय भारत सजातीय र असहिष्णु बन्दैछ।

भारतमा हिन्दूत्ववादको बढोत्तरीमा हिन्दू राष्ट्रको सपना देख्नेहरूमा उन्माद देखिनु अनौठो होइन, तर भर्खर धर्मनिरपेक्ष बनेको उसको उत्तरी छिमेकका हिन्दूवादीहरू उत्ताउलो हुनु चाहिं अफशोचपूर्ण हो।

नेपालका एकथरी हिन्दू र राजावादीहरू हिन्दू राष्ट्रको घोषणासँगै राजसंस्था पुनर्स्थापना हुने सपना देख्दै आएका छन्। हिजो भारतको केन्द्रमा नरेन्द्र मोदीको उदयबाट उत्ताउलिएका उनीहरू आज भारतको सबभन्दा ठूलो आवादीयुक्त उत्तरप्रदेश राज्यमा योगी आदित्यनाथको सत्तारोहणबाट उन्मादी बनेका छन्। यस्तो उन्मादका पछाडि सत्ता गुमाउनुको हतास मनस्थिति एउटा कारक हो भने अर्को सबै हिन्दूहरू एउटै हुन् भन्ने अबोधपना।

नरेन्द्र मोदी वा आदित्यनाथको 'सगोत्रीय सदासयता' बाट हिन्दू अधिराज्य स्थापनाको सपना देख्नेहरूले सबैभन्दा पहिले सावरकरको भाष्य बुझनुपर्छ। उनीहरूले आरएसएसको संकल्पको 'अखण्ड भारत' वा विशाल भारतवर्षभित्र नेपालको मानचित्र खोज्नुपर्नेछ। अफगानिस्तान, सिन्धु नदी, हिन्दकुश–हिमालय पर्वतमालादेखि हिन्द महासागरसम्मको अखण्ड भारतमा नेपाल कहाँ फेला पर्छ, घोत्लिएर हेर्नु र सोच्नुपर्नेछ।

विना बहस वा औचित्य पश्चिमाहरूको स्वार्थ र निर्देशनमा नेपाललाई धर्मनिरपक्ष बनाइएको तथ्य छर्लङ्ग छ। तर, हिन्दू राष्ट्रको वापसीका लागि कस्ता शक्तिसँगको सहकार्य उचित हुन सक्छ भन्ने कुराको निर्क्योल नेपालीले नै गर्नुपर्छ। यसनिम्ति नेपालीले आफ्नै देशको परम्परा र चरित्र बुझन सक्नुपर्छ। नेपालले अँगालेको हिन्दू धर्म 'हिन्दूत्व' जस्तो नश्लीय र निषेधकारी नभएर समन्वयकारी हो।

नेपालको भव्य विगत
मल्ल राजाहरूको गद्दी हनुमानढोकामा रहेको बखत पनि काठमाडौं खाल्डोका मुसलमानहरूको बसोबास हनुमानढोका वरपर नै किन बाक्लो हुन सक्यो वा शाहकालको अन्त्यसम्मै पनि राजप्रासादको पटाङ्गिनीबाटै मुलुकको सबभन्दा भव्य मस्जिद देखिन कसरी संभव भयो? के यो नेपालको धार्मिक सहिष्णुताको दृष्टान्त होइन?

हिन्दू राष्ट्र रहँदा पनि नेपालमा धर्मको आधारमा कसैप्रति भेदभाव वा अत्याचार गरिएन। हो, धर्मान्तरण वर्जित थियो, तर आज धर्मनिरपेक्ष नेपालमा गरीबका घरमा चामल भन्दा बाइबल अगाडि पुगेको महाभूकम्प पछाडि केही एनजिओका राहत सूचीले नै देखायो।

मुगलकालमा भारतले हिन्दू धर्मको पवित्रता अक्षुण्ण राख्न नसकेको कारण नै शायद पृथ्वीनारायण शाहले नेपाललाई 'असली हिन्दूस्तान' मानेका हुन्। असली हिन्दूस्तान हुँदाहुँदै पनि उनले आफ्ना नागरिकहरूलाई कुल–धर्म नछाड्न भने। यस्तो शासकीय शैलीको परिणामस्वरूप नेपाल हिन्दू राष्ट्र हुँदाहुँदै पनि समन्वयकारी र सहिष्णु परम्पराबाट पल्लवित हुन पुग्यो।

आफ्नो यति भव्य विगत बिर्सिएर मोदी वा योगीको 'हिन्दूत्व' को सदासयतामा नेपालमा हिन्दू राष्ट्रको सपना देख्नेहरूले नेपाल र भारतको सम्बन्ध गङ्गाभन्दा पुरानो बताउने तिनै मोदीले भूकम्पले थलिएको नेपालमा कुन चाहिं धर्मको दुष्मनीबाट नाकाबन्दी गरेका थिए, आफैंलाई प्रश्न गरे हुन्छ।

प्रतिकृया दिनुहोस