गृहमन्त्रीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको एमालेको निष्कर्ष
नेकपा एमालेले गृहमन्त्री विमलेन्द्र निधीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
स्थानीय तह निर्वाचनको मिति घोषणा र आचारसंहिता लागू भइसकेको अवस्थामा गृहमन्त्रीले हेलिकोप्टर चढेर राज्यका तर्फबाट चेक हस्तान्तरण गरेको र नेपाली काँग्रेसको कार्यक्रममा सहभागी भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादव र अन्य आयुक्तसमक्ष आचारसंहिता उल्लङ्घनका विषयमा जानकारी गराएको छ ।
टोलीमा प्रमुख सचेतक भानुभक्त ढकाल, राजेन्द्र पाण्डे, अग्नि खरेल र डा राजन भट्टराई सहभागी रहेका थिए ।
एमालेले गृहमन्त्रीको यस्ता क्रियाकलापप्रति आयोगले आवश्यक कारबाही गर्नुपर्ने माग गरेको छ ।