साना जलविद्युतको विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन शुरु
साना जलविद्युत् आयोजनाको विकास र विस्तारको लागि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा शुरु भएको छ ।
जलविद्युतमा दक्षिण एशियाली मुलुकको ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने लक्ष्यका साथ सम्मेलन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान र नेपाल स्थित चिनियाँ दूतावासको आयोजनामा शुरु गरिएको हो ।
प्रविधिका क्षेत्रमा भएको विकासले जलविद्युत् उत्पादनमा सहज वातावरण बनाएको सम्मेलनका सहभागीले धारणा राखेका छन् । नेपालमा सयौँ साना तथा ठुला खोलानाला भएकाले त्यसबाट साना जलविद्युतको आयोजना निर्माण गर्न सकिने अवधारणा अगाडि ल्याइएको छ ।
सम्मेलनको उद्घाटन गर्दै ऊर्जामन्त्री जनार्दन शर्माले जनताको सहभागितामा साना तथा मझौला जलविद्युत् योजना अगाडि बढेको र यसलाई प्रभावकारी रूपमा अगाडि बढाउने धारणा राखे ।
चिनियाँ दूतावासका कार्यवाहक राजदूत पेङ वेईले साना तथा मझौला जलविद्युतमा चीन लगानी गर्न तयार रहेको जानकारी दिए ।
सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत विभिन्न मुलुकका ३० प्रतिनिधिको सहभागिता रहेको छ ।