८६ वर्षीय शेरचन फेरि सगरमाथा चढ्दै
मुस्ताङका ८६ वर्षीय मिनबहादुर शेरचन दोस्रो पटक सफल आरोहणको तयारीमा छन् ।
पहिलो पटक ७७ बर्षको छँदा सन् २००८ मा सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड कायम गरेका शेरचनले दोस्रो पटक २०१३ मा पुनः आरोहणको प्रयास गरे पनि मौषमका कारण सफल भएन भने तेस्रो पटक २०१५ मा भूकम्प आएपछि उनी बेसक्याम्पबाटै फर्कनु परेको थियो ।
शेरचनले सगरमाथा आरोहणमार्फत तीनवटा सन्देश दिन चाहेको बताउँछन् । “मेरो उद्देश्य मानव कल्याण, पृथ्वीको रक्षा र विश्वशान्ति हो,” उनले भने, “विश्व विनास गर्ने हतियार नष्ट गर्न साथै मानवता र धर्तिको रक्षा गर्न म विश्व समुदायलाई आह्वान गर्दछु ।”
उनले सन् १९६० मा धौलागिरी हिमाल (५७०० मि.) आरोहण गरिसकेका छन् ।
अहिले सगरमाथा आरोहणको तयारीका लागि मुस्ताङको मुक्तिनाथ क्षेत्रमा शेरचनले सफलता पूर्वक तालीम सम्पन्न गरेको उनका प्राविधिक सल्लाहकार शिव सापकोटाले जानकारी दिए ।
नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष हरिध्वज तुलाचनले ८६ वर्षको उमेरमा पनि सगरमाथा चढ्ने साहस देखाएको भन्दै शेरचनको प्रशंसा गरे ।
शेरचनलाई आरोहणमा सघाएका जितबहादुर घर्तिमगरले आगामी बैशाख पहिलो साता उपयुक्त समय हेरेर आरोहणको थालिने जानकारी दिए ।
युवराज श्रेष्ठ, पोखरा