चिनियाँ रक्षामन्त्री चाङ काठमाडौंमा
चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् ।
१९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेतृत्व गर्दै आइपुगेका चाङलाई रक्षामन्त्री खाँण र सचिव श्रीधर सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा स्वागत गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग चीनका रक्षामन्त्री चाङले प्रधानमन्त्री निवास बालुबाटारमा आजै केहीबेरपछि शिष्टाचार भेट गर्नेछन् । रक्षामन्त्री बालकृष्ण खाँण र चाङबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आजै भेटवार्ता हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणका क्रममा उनले शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेट गर्नेछन् ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग रक्षामन्त्री चाङले भोलि भेटवार्ता गर्ने कार्यक्रम छ ।
रक्षामन्त्री चाङले वसन्तपुर क्षेत्रका क्षतिग्रस्त सम्पदाहरुको अवलोकनसमेत गर्नेछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल आज साँझ चीन भ्रमणमा जाँदैछन् ।