आईजीपी नियुक्ति मुद्दामा सर्वोच्चले भोली निर्णय सुनाउने
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले भोली निर्णय सुनाउने भएको छ ।
सरकारले १ फागुनमा डीआईजी जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेपछि अर्का डीआईजी नवराज सिलवाल र अधिवक्ता कपिलदेव ढकालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमा आज सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीसहितको वृहत पूर्ण इजलासमा सुनुवाइ भएको थियो ।
७ चैतको सुनुवाइमा विपक्षीका तर्फबाट बहस भएको थियो । विपक्षीको बहसपछि रिट निवेदकका तर्फबाट कानूनव्यवसायीहरुले जवाफी वहस गरेका थिए ।
त्यसपछि वृहत पूर्ण इजलासले सुनुवाइ सकिएको जनाएको हो । “मुद्दाको सुनुवाइ सकियो” रिट निवेदक ढकालले वृहत पूर्ण इजलासले दिएको जानकारीका विषयमा बताउदै हिमालखबरसँग भने “आज समय भएन, भोली सर्वोच्च अदालतको निर्णय आउँछ ।”
सर्वोच्च अदालतका प्रधानन्यायाधीश कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको ‘वृहत पूर्ण इजलास’मा सुनुवाइ भएको थियो ।
१ फागुनमा सरकारले चन्दलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेपछि सोही दिन सर्वोच्च अदालतले तत्काललाई निर्णय कार्यान्वयन नगर्न 'अल्पकालिन अन्तरिम आदेश' जारी गरेको थियो । ११ फागुनदेखि सुनुवाइ सुरु भएको यो मुद्दामा न्यायाधीशद्वय हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले १८ फागुनमा 'अल्पकालिन अन्तरिम आदेश'लाई यथावत राख्ने आदेश जारी गरेको थियो ।
त्यस्तै न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासले ३ चैतमा अन्तरिम आदेश दिएको थियो । सोही इजलासले यो मुद्दालाई पूर्ण इजलासमा पेश गर्न पनि आदेश दिएको थियो ।
हिजो र आज भएको सुनुवाइपछि भोली वृहत पूर्ण इजलासले अन्तरिम आदेश खारेज गर्ने या यथावत राख्ने निर्णय सुनाउने छ । अन्तरिम आदेश खारिज भए चन्दलाई आईजीपी नियुक्त गर्न सरकारलाई बाटो खुल्ने छ भने अन्तरिम आदेश यथावत रहे सरकारले आईजीपी नियुक्त गर्ने निर्णय कार्यान्वयन गर्न पाउने छैन् ।