नयाँ ‘अलराउण्डर’
यू–१९ टोलीका लागि दीपेन्द्रसिंह ऐरीलाई छनोट गर्दा राष्ट्रिय क्रिकेट टीमका प्रशिक्षक जगत टमटालाई प्रभावित पार्ने एउटै कारण थियो– क्षेत्ररक्षण (फिल्डिङ) । तर, यतिबेला उनै प्रशिक्षक टमटा ऐरीमा ‘भविष्यको स्टार’ देखिरहेका छन् । “ऐरीले डेब्यूमै आफूलाई प्रमाणित गरेका छन्” उनी भन्छन्, “कमजोर देखिएको मध्यक्रममा आशा देखाएका छन् ।”
२८ फागुनमा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत कीर्तिपुरमा भएको केन्याविरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका ऐरी मैदानमा उत्रँदा नेपालले ३७ रनमा दुई विकेट गुमाइसकेको थियो । कप्तान ज्ञानेन्द्र मल्ल बाहिरिएपछि क्रिजमा आएका उनी लगातार विकेट झरिरहँदा अर्को इन्डमा टिकिरहे । वर्षाले प्रभावित खेलमा नेपाल पराजित भयो, तर ‘६९ बलमा १९’ रनको उनको प्रदर्शनलाई धेरैले प्रशंसा गरे ।
३० फागुनमा केन्यासँगको दोस्रो खेलमा ऐरी ब्याटिङका लागि आउँदा नेपाल १४ रन–दुई विकेटको अवस्थामा थियो । सम्हालिएर ब्याटिङ गर्दै स्कोरबोर्डमा रन पनि थप्नुपर्ने दोहोरो चुनौती थियो । ऐरीले तेस्रो विकेटका लागि कप्तान मल्लसँग १११ रनको साझेदारी गरे । ६६ बलमा ६२ रन बनाएर टीमलाई जित नजीक पु¥याए । अनुभवी खेलाडी झैं परिस्थिति अनुसार खेलेर ऐरीले आफ्नो क्षमता प्रमाणित गरे ।
केन्यासँगको खेलपछि प्रतिभावान खेलाडीको परिचय बनाएका ऐरीको राष्ट्रिय टोलीसम्मको यात्रामा संघर्ष र रोमाञ्च दुवै छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ सुकासालस्थित घरबाट दुई किलोमिटर टाढा महेन्द्रनगरको खुलामञ्चमा उनी नपुगेको दिन हुँदैनथ्यो । “हरेक दिन बिहान–बेलुका अभ्यास गर्थें, विदामा त दिनभरि नै खेल्थें”, उनी भन्छन् ।
१२ वर्षको उमेरमा ऐरी पहिलो पटक प्याब्सनद्वारा आयोजित जिल्लास्तरीय क्रिकेट प्रतियोगिताका लागि कस्मोपोलिटन विद्यालयको टोलीमा परे । महेन्द्रनगर खुलामञ्चमा भएको प्रतियोगितामा कति पटक त उनी रनको खाता नखोली पेभेलियन फर्किए । बलिङ पनि चलेन । उनलाई आफू असफल भए झैं लाग्यो । पहिलेको भन्दा दोब्बर मिहिनेत गरेका उनी दोस्रो वर्षको सोही प्रतियोगिताको ‘म्यान अफ द सिरिज’ नै चुनिए ।
२०६९ मा ऐरी एकैपटक क्षेत्र नं. ६ बैतडीको टोलीमा परे, ‘अलराउण्डर’ का रुपमा । राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरे पनि राष्ट्रिय टोलीमा भने परेनन् । सातौं÷आठौं नम्बरमा ब्याटिङ गर्दा थोरै बल खेल्न अनि कमै मात्र बलिङ गर्न पाउने भएकाले उनको प्रतिभा खुल्न पाएकै थिएन । तर, प्रशिक्षक टमटा ऐरीको ब्याटिङ र बलिङभन्दा फिल्डिङमा लोभिए । र, यू–१९ राष्ट्रिय टोलीमा बोलाए ।
सन् २०१४ मा कुवेत र सन् २०१५ मा मलेशियामा भएको यू–१९ प्रिमियर लिग, सन् २०१६ को एशिया कपमा राम्रो प्रदर्शन गरेका ऐरी घरेलु लिगमा पनि चम्किए । अहिले उनी पञ्चकन्या तेजबाट खेलिरहेका छन् ।
ऐरीलाई सानैदेखि प्रशिक्षण गराउँदै आएका प्रशिक्षक वीरेन्द्र शाही भने ऐरी राम्रो मिडियम पेस बलर भएको बताउँछन् । “ऐरीको सबैभन्दा राम्रो त बलिङ नै हो, अहिले ब्याटिङमा थप मिहिनेत गरेको देखिएको छ”, शाही भन्छन् । ऐरीको ‘रनिङ बिट्वीन द विकेट’ त राष्ट्रिय टोलीकै उत्कृष्ट रहेको उनको दाबी छ ।
पहिले ‘क्रिकेटतिर नलाग’ भन्ने परिवार पनि प्रदर्शन राम्रो हुन थालेपछि सघाउन थालेको उनको अनुभव छ । त्यसो त ऐरी परिवारमा क्रिकेट भिœयाउने काम दाइ प्रदीपले गरेका थिए । नेपाली टीमका ‘विस्फोटक ओपनर’ का रुपमा परिचित प्रदीप ऐरी उनका दाइ हुन् । अहिले दाइसँग काठमाडौंमै बसेर पढ्दै, खेल्दै गरिरहेका उनी भने शरद भेषवाकरलाई आफ्नो ‘रोलमोडल’ मान्छन् । अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथ उनका मन पर्ने खेलाडी हुन् । के उनले पनि स्मिथ जस्तै राष्ट्रिय टोलीको कप्तान बन्ने सपना देखेका छन् त ? “भर्खर त राष्ट्रिय टोलीबाट खेल्न पाएँ । त्यो परको कुरा हो !” उनी भन्छन् ।