पहिलोपटक मतदान गर्ने युवामा चुनावी उत्साह
इलाम फाकफोकथुमका सृजन शर्मा अहिले २० वर्षका भए । अहिलेसम्म कुनै पनि निर्वाचनमा मत खसाल्न नपाएका उनी स्थानीय तहको निर्वाचनमा जनप्रतिनिध चुन्न आतुर छन् ।
“संविधानसभाको निर्वाचनमा मत खसाल्न पाइएन । अब स्थानीय निर्वाचनमा मत खसाल्ने ठूलो रहर छ,” उनले भने, “देशमा विकास र समृद्धि आवश्यकता छ । त्यो व्यक्ति हामी आफैँले छनोट गर्नुपर्छ ।”
शर्मालाई अबको चुनावमा दलभन्दा पनि व्यक्तिलाई हेरेर मत खसाल्न मन लागेको छ । स्थानीय निकायमा जनप्रतिनिधि भएको खण्डमा अहिले जस्तो एकैजना व्यक्तिले सबै गाविसको काम भ्याउनुपर्ने बाध्यता नहुने उनको भनाई छ । "यो चुनाव नयाँ गाउँपालिका र नगरपालिकाअन्तर्गत हुन्छ भन्ने सुनेको छु । चुनावको प्रत्यक्ष अनुभव बल्ल लिन पाइने भो," उनले भने ।
सोयाङकी सङ्गीता सञ्जेललाई पनि कतिबेला निर्वाचनको दिन आउला भन्ने छटपटी भइरहेको छ । अहिलेसम्म चुनावमा भोट खसाल्न नपाएको बताउँदै उनी भन्छिन् “पहिलो संविधानसभाको निर्वाचनमा उमेर पुगेको थिएन । अबको चुनावमा गाउँघरको समस्या बुझ्नसक्ने नेतालाई भोट हालिन्छ ।”
शर्मा र सञ्जेलमात्रै होइन् पहिलोपटक निर्वाचनमा भोट हाल्ने पर्खाइमा बसेका हजारौँ युवालाई चुनावी उत्साह जागेको छ ।
समयमै चुनाव भए देशमा विकास निर्माणको कामले गतिलिने र राजनीतिक स्थिरता कायम हुन्थ्यो भन्ने युवालाई लागेको छ । युवा नेताको ऊर्जा देश विकासमा खर्चने वातावरण बनाउनेमा युवावर्ग लागेका छन् ।
देशमा निर्वाचन भए रोजगारी खोज्दै युवा पलायन हुनुपर्ने दिन हराउँथ्यो कि भन्ने अधिकांश युवाको भनाइ छ । प्रायः यतिबेला सबै युवाको मनमा विदेश जानुपर्ने बाध्यताचाहिँ संविधान कार्यान्वयन नभएर हो भन्ने पाइएको छ ।
जिल्ला निर्वाचन अधिकृत प्रेमकुमार काफ्लेले गाउँ–गाउँमा सबै क्षेत्र निर्वाचन निर्धारण गरिएको बताए ।
कार्यालयले जिल्लाका शिक्षक र सामाजिक परिचालकहरूलाई निर्वाचन शिक्षाबारे जानकारी दिएर निर्वाचन शिक्षाको प्रसारप्रचार गर्ने तयारी गरेको निर्वाचन अधिकृत काफ्ले बताउँछन् ।
आउँदो निर्वाचनका लागि इलाममा १७ वटा दल दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।