दस्तावेजशनिवार, चैत्र ५, २०७३

पृथ्वीनारायणले नचाहेको विधिबाट भक्तपुर सर

ज्ञानमणि नेपाल

राजा हुन हतारिएका भाइका कारण पृथ्वीनारायण शाहले नचाहेको विधिबाट भक्तपुर सर भयो।

कान्तिपुरका जयप्रकाश मल्ल र पाटनका तेजनरसिंह मल्ल शरण लिन भक्तपुर पुगेपछि हनुमानढोका दरबारमा विराजमान राजा पृथ्वीनारायण शाह सबै तरहको छटपटी मुक्त भएर ढुक्कसँग रहन लागे।

पहिलेदेखि विपक्षमा उभिएको आफ्नै ससुराली सेन राज्य मकवानपुर जितेपछि उनले ठूला दुई युद्ध लड्नुपर्‍यो। पहिलो, सेनको सहायतामा आइलागेको नवाफ मीर कासिमको सैन्य र अर्को, जयप्रकाशको धुरा पस्न आइलागेको इष्ट इण्डिया कम्पनीको किन्लक पल्टनसँग। 

ती दुवै युद्ध धेरै क्षय–व्ययकारी थिए। जुक्तिबुद्धिले यी युद्धमा विपक्षीलाई परास्त पारेपछि पृथ्वीनारायणले चिताए जस्तै साम, दामबाट कान्तिपुर र पाटन जितेर चयनको सास फेरे।

२६ वर्षसम्म अनेक परिपञ्च मिलाएर वरिपरिका गढ–किल्ला, गाउँ आफ्नो पारी शहरभित्रका भला मानिस र ठूला बेपारीहरूलाई हात लिई सुटुक्कै राजधानी शहर स्ववश पारेर छिरिक्कै युद्ध नगरी सरक्कसँग त्यहाँको राजा हुन पाएपछि उनका मनमा शान्ति सुख मिल्नु स्वाभाविकै थियो। भक्तपुरको त्यति चिन्ता थिएन।

भक्तपुरका राजा रणजित मल्ल पृथ्वीनारायणका मीतबाबु थिए। ७५ वर्षका मीतबाबुलाई गद्दीच्युत गर्ने पक्षमा उनी थिएनन्। उनले जोरी खोज्ने जयप्रकाशलाई जितिहाले, टेढिएर बसेका जबर पाटनका प्रधान वश भइहाले। ढिलोचाँडो भक्तपुर हात नलाग्ने सवालै थिएन।

बुढेसकालमा मीतबाबुलाई किन दुःख दिनु, बनेपामा राजाकै जीवन विताउन दिने पृथ्वीनारायणको विचार थियो। रणजित मल्लका उत्तराधिकारी वीरनरसिंह एक मात्र औरसपुत्र (विवाहिते पट्टिका) थिए। तिनलाई मठ्याहा (ल्याइतेपट्टिका) अजितसिंह–अवधूतसिंहहरूले टुनामुना गरेर मारिसकेका थिए।

पुत्रशोकले प्रताडित राजा रणजित मठ्याहा छोरालाई युवराज बनाउने पक्षमा थिएनन्। बरु मीत छोरालाई राजा भएको हेर्न चाहन्थे। त्यसैले उनले 'मेरा दुई छोरा थिए, एक प्रयोगमा परेर वितेपछि तिमी एक मात्र मीतछोरा बाँकी रह्यौ, यो राज्य अब तिम्रै भयो' भनेर पहिल्यै भनिसकेका थिए।

यो कुरा राम्ररी बुझेका पृथ्वीनारायणमा भक्तपुरबारे कत्ति पनि चिन्ता थिएन, जित्ने हतारोमा पनि थिएनन्। उनी जयप्रकाश र तेजनरसिंहलाई पनि थकाएर, फकाएर आत्मसमर्पण गराउन चाहन्थे।

यस विषयमा उनले मीतबाबुलाई लेखेर पठाइसकेका थिए। रणजित मल्लले 'म सनातन धर्मको पक्षपाती हुँ, शरण पर्न आएका राजालाई सुरुक्क कसरी सुम्पनु! मेरो धर्म पुग्दैन, शरणको मरण कसरी गरौं, तिमी नै भन' भनेर प्रत्युत्तर पठाएका थिए।

राजा जयप्रकाश मल्ल भने पाटनका प्रधानहरूलाई जस्तै फेरि अंग्रेजबहादुर सहायता गर्न अवश्य आउँछ, गोरखालीलाई धपाएर हामीलाई नै राजगद्दीमा बसाउँछ अनि तिमीहरूलाई भक्तपुरको उत्तराधिकारी बनाउँला भनेर रणजीतका मठ्याहा छोरा अजितसिंह र अवधूतसिंहलाई उक्साई आत्मसमर्पण नगर्न जोड लाइराखेका थिए।

अघि ब्रिटिशको कम्पनी सरकार पहिलोचोटि ठूलो उत्साहले नेपालदूनमा आफ्ना बेपारी कोठी खोलेर भोटको बेपार हात लगाउन जयप्रकाश मल्लको पक्ष र उनकै खर्चमा कस्सिएर गोरखालीलाई जित्न आएको थियो। तर, सिन्धुलीमा गोरखाली फौजसँग नराम्रोसँग हारेर किन्लक फर्केका थिए।

त्यसवेला पृथ्वीनारायणले काठमाडौं जितेका थिएनन्। अहिले त दुवै राज्य जितेर उनी जनधनले सम्पन्न भएर जमिसकेका थिए। अब भागेर हिंडेका राजालाई आफ्नै खर्च गरी पुनः राजा बनाउन अंग्रेजबहादुर आउनेवाला थिएन।

कम्पनीका अधिकारीहरूले नेपाल जित्न दोस्रोपटक नजाने निर्णय लिइसकेका थिए। जयप्रकाश मल्लले अंग्रेजसँग ढिपी लाइराखेका थिए र रणजितलाई पनि आत्मसमर्पण गर्न दिइरहेका थिएनन्।

उनी यता पूर्व चौदण्डी, विजयपुरसँग पनि धनबल, जनबल सहायता मागेर युद्ध लड्ने सुरमा थिए। जयप्रकाश मल्लकै जिद्दीले तिनीहरू त्यहाँ अडेर बसेका थिए। यता पृथ्वीनारायणले ढिलोचाँडो मीतबा मिल्न आउँछन् भन्ने सोची आफूले जितेका देशमा सुव्यवस्था कायम गर्दै वसन्तपुर दरबार निर्माणमा एक वर्ष विताए।

भक्तपुरको आन्तरिक स्थिति राम्रो थिएन। रणजित मल्ल सोझासीधा स्वभावका राजा थिए। उनका मठ्याहा छोराहरू अजितसिंह र अवधूतसिंह भने बडो बाठा, जौडे थिए। उनीहरू भक्तपुरको भावी राजा बन्न चाहन्थे।

तिनलाई सातबहाले भनिन्थ्यो। मठ्याहा छोराहरूको सातबहालमा पूरा हकडक थियो। उनीहरूले वीरनरसिंह युवराज भए राजा उही बन्छ, हाम्रो सातबहालको सबकुछ सिद्धिन्छ भनेर अभिचारकर्म (टुनामुना) बाट वीरनरसिंहलाई सिध्याउन गोभाजु, द्यौभाजु, जोशीलगायतका तान्त्रिकहरूलाई धेरै धन कबोलेका थिए।

दोबाटो, दोभान र श्मशानमा साकिनी–डाकिनी थापेर, युवराजले लगाएका कपडाका ध्वजापताका टाँगेर, बोकाहरूको बलि दिएर, बाघको हाड, जुँघा, श्मशानको खरानी मन्त्रेर युवराजको विछ्याउनाहुँदो राखिदिए। भडारभित्र उधुमसँग पूजाआजा, अभिचार कार्य गरेर चार जातका निखुनी चार केटा र एक केटीको पञ्चबलि समेत दिए।

द्यौ ब्राह्मण, लामा, तेह्रौतेदेखि च्यामे–कुसुलेसम्मका हजार जना भेला पारेर भोजन गराए। अनेक ओषति र रगतले मुछेर वीरसिंह पसेका कोठामा धूप हालिदिए। त्यसले देख्तादेख्तै वीरनरसिंह बेरुप बने।

यस कुराको छनक कसैले नपाओस् भनेर चियो गर्ने बालक, वैद्य, भण्डारे र भान्सेहरूलाई ठाउँ–ठाउँमा राखेका थिए। यसरी अनेक छल प्रयोग गरी युवराज वीरनरसिंहलाई सिध्याएपछि सातबहाले प्रसन्न थिए भने राजा रणजित शोकले मर्नु न बाँच्नुको अवस्थामा।

त्यो छलकपट पहिचान गरेका राजालाई पनि समाप्त पार्न पानमा विष हालेर दिन लागेका थिए, तर पानवालाले पाएसम्म पैसा लिएर विष नहालेको पान दियो। पान खाए पनि राजा नमरेपछि सातबहालेहरू भित्रभित्रै सातो हराए जस्ता बने। षडयन्त्र रच्न भने छाडेनन्। त्यसबाट राजा रणजित मल्ल आजित भइसकेका थिए।

पृथ्वीनारायणका भाइ महोद्दामकीर्ति शाह मकवानपुर जितेपछि त्यहाँको राजा हुने महत्वाकांक्षा पालेर बसेका थिए। यता पाटनमा पहिल्यै राजा भइसकेका अर्का भाइ दलमर्दन शाह फेरि राजा हुनेमा इच्छुक थिए।

अभिलाषा पूरा नहुँदा यी दुवै भाइ नाखुश थिए। कान्छा शूरप्रताप शाहले भने भक्तपुर जितेपछि त्यहाँको राजा हुन पाउँछु भन्ने आशाले दाजुको साथ छोडेका थिएनन्।

पृथ्वीनारायणले यिनै भाइ र अर्का काजीको नेतृत्वमा भक्तपुर घेरा हाल्न सैन्यदल पठाएका थिए। वरिपरि सबै गाउँ अधीनमा पारेको एक वर्षमा पनि शहरको चालचुल केही नहुँदा राजा बन्न हतारिएका शूरप्रतापले दरबारै घेर्न आदेश दिए। दरबारमा दहसन हुँदा जयप्रकाश प्रतिकार गर्दै थिए।

सुरक्षाको लागि तलेजु मन्दिरको भर्‍याङ उक्लन खोज्दा कसैले चलाएको गोली गोडामा लागेर जयप्रकाश ढले। उनै थिए त्यहाँ हाँक पारेर लड्ने। उनी ढलेपछि अरूले आत्मसमर्पण गर्नु सिवाय अरू उपाय रहेन। रणजित मल्लका अनुमतिले उनका अंगरक्षकले आफ्नो पगरी फुकालेर झयालबाट तल झुण्ड्याइदिए। तत्काल हानाहान बन्द भयो।

सूचना पाउनासाथ पृथ्वीनारायण शाह गएर जयप्रकाशलाई उनकै इच्छा बमोजिम गुह्येश्वरी पठाइदिए। उनी त्यतै बिते। रणजित मल्ललाई उनकै इच्छामुताविक ससम्मान काशीबास पठाए।

भक्तपुरको राजा हुन हतारिएका कान्छा भाइ शूरप्रतापले विजयको खुशियालीमा शिरोपाउसम्म पाएनन्। शहरमा युद्ध छेडेको भनेर पृथ्वीनारायण उल्टो रिसाए। त्यसैले तीनै भाइ बहिता लागे। मल्ल राजाहरूले जस्तै राज्य टुक्र्याउन चाहँदैनथे, पृथ्वीनारायण।

जस्का पित्र त भूप रञ्जित पनी पृथ्वीन्द्र मित्चै अनी

वीर्नर्सिंहकि साहवी वनिरह्या सात्वाहलै गो भनी

मारौं साइबी सातबाहल भञौ भन्नार्थ दिन्दिन् भनी

बाडा जोसि अचार ल्याइ घरघर लाया प्रयोग धन पनी

मार्न्या गैह टुनामहा मद पिन्या जात् विप्प्रसुद्धा गनी

तस्तै जात निचा लगाइ त टुना बन्छन् नरकबास् पनि

दोबाटा र मसान पूजनसहित् बोका हजारन् मर्‍या

लायाका कपरा चिराइ त धजा दोभान् गयर्मा भन्य

बाघ्का हाड जुंघा खरानि त मसान्सुद्धा शयन्मा धर्‍या

थाप्या (डा) साकिनी साग्य काम इनमा जब भो तयार् सो गर्‍या

ब्राम्हण क्षत्रिय वैश्य शूद्र इनमा खुप शुद्ध चार जात भनी

छान्दै खोजित रोजि घरघरमहां ल्याया यिनै चार् बलि

चार्कै पूजन भूषणादित गर्‍या लैग्या भंडार्मा छली

कन्या येकसमेत काटि संगमा मार्‍या र पांचै बलि

लामा तेह्रउत्या संगै त कुसुल्या च्याम्याखलक् जात् पनी

भोजन् निम्ति सहस्त्र ल्याइ तनमा पूजा गर्‍या खुप गनी

भोजन् भै सकियो र वीरनरसीं मरोस् भन्या सफ बनी

रगत्ले मुछ्याका झिक्या औषधि खुप् जहाँ वीरनरसिं थिया वाहि गै धुप्

दिया स्वै धरीमा बन्यो क्यै त बेरुप् टुनागर् ति आपस्महां भैगया चुप्

जुत्ता वर् पगरी र टोपि तकिया बालिष्ट विच्छाउना

बिचबिच् पारि बिलाउनी धरिदिया औ उच्चटा वाहुंना

केटाकेटि र वैद्य गैह्र संगमा मार्नै कि मन् भाउंना

भान्स्या गैह्र भडारिया अरि गरी राख्या चिवा धाउना

दाता श्रीरणजीत मल्ल नृपका भद्गाउँका तख्तमा

साहेब भो युवराजि भै भनि दगा श्रीवीरनरसिंहमा

मार्न्या काम् गरि सात बाहल उठय प्रयोग् गर्‍या तन्महां

मार्‍या ज्यान पनी र रंजितमहां भो पानको वाहना

राजा रंजितलाई मारन भनी तमौलिया सङ् बनी

धेरै धन् भरि पानका संगमहां विष् हालि देहै भनी

सल्हामा त तमोलि बाहिक रह्यो खायो मुफत् धन् पनि

वाहाल्ले विष हालि पान त दिया खाया भन्यनन् अनी

गोर्खा गोरख कालिरुप नृपती इन् तख्तको भूपती

भो राजन् भनि स्वप्त भो खुसि भया भद्गाउका भूपती।।

वीर्नसिंह थियो र शान्त गतिको साधा छ मारौं भनी

मार्‍या ठिक्क प्रयोगले दिन गनी...

पशुपति शिवजीको दर्शआगे गराऊ दुइ हित सुत राखी मित्रता औ धराऊ मिलिकन भुज जोरी तव् मधेस् जन् भराऊँ श्वसुर त मकवाना सङ् हुन्या काम् धराऊ भनिकन नृप भन्थ्या लौ भन्या स्वै गराञां भवपर खुश तिन्को पुत्र हुन् हित् भराया अब बुझ सब पर्जा पुत्रको हित् सरांया बुझिकन नृप मान्या वीरनसिं धराया

यो विस्तार् छ विलाप छोडि नृपले भो आधि राज्यै भनि

लालमोहर् गरि उत्तरा लिन तहां भारा पठाया अनि

यौटै पुत्र छ बाबु बाबुत भनी यो राज्य तम्रै भनी

सर्वस्बै छ दिया कि छौ दुइ जना भन्या त आयो अनी

श्री पृथ्वीनारायण लाई मैले मित्यारिका पुत्र बनाइ जैले

तिन् हित् सहर सौंपि दिना र तैले

(उदयानन्दको पृथ्वीन्द्र बाट)

प्रतिकृया दिनुहोस