अन्तर्वार्ता/विचारमंगलवार, चैत्र १, २०७३

मिथकको महायात्रा

हिमालखबर

सेवा भट्टराई

 

मिथकमा आधारित आख्यानहरु महाभारत र रामायणमा केन्द्रित हुन्छु । एउटा व्यासको भनिएको महाभारत छ, एउटा बाल्मिकीको भनिएको रामायण । यीनैलाई आधार बनाएर अरु किताबलाई तुलना गर्दैछु ।

मिथकीय लेखनको कुरा गर्नुअघि मिथक के हो ? बुझ्न जरुरी छ । मिथक भनेको लेखिएको कथा मात्रै हो की हामीले सुनेको र बुझेको कथा पनि हो ? महाभारत र रामायणमा जे लेखिएका छन्, हामीले सुनेको र बुझेको भन्दा निकै फरक पनि हुन सक्छन् । मिथकमा पुनःलेखन आजमात्रै होइन, मिथकको शुरुवातदेखि नै भइरहेको छ । र, पुनःलिखित संस्करण झनै शक्तिशाली भएर आएका पनि छन् ।

जस्तैं, लक्ष्मण रेखा भन्ने प्रसंग । बाल्मिकी रामायणमा लक्ष्मण रेखा भन्ने नै छैन । यस्तो सुन्दा त्यो रामायण हो की होइन जस्तो लाग्छ । सीता बसिरहेको बेला, साधुको भेषमा रावण आउँछ । उसले सीतासँग भिक्षा माग्छ, हात तान्छ, अनि लिएर जान्छ । पाँच हजारदेखि सातहजार वर्ष पुरानो रामायणमा त्यस्तो छ । लक्ष्मण रेखा भन्ने कुरा १२औं–१३औं शताब्दीको अर्थात् एक हजार वर्ष अघिको तमिल भाषाको कम्बन रामायणमा फेला पर्यो । मौखिक परम्परामा त्यो भन्दा अघिदेखि थियो होला, त्यसैले लेखिएर आयो ।

अब हामीले कुनलाई मिथक भन्ने त ? लक्ष्मण रेखालाई मिथक भन्यौ भने त्यो त मूल कथामा छैन रहेछ। हामीले बुझेको कथा त लक्ष्मण रेखाको हो र जे बुझेका छौ, जे मा विश्वास गर्छौं त्यो विश्वासलाई नकार्न पनि त मिल्दैन फेरी। नेपालमा भन्दा पनि भारतमा यो विवाद निकै चर्केको छ ।

मिथकका अध्येता एके रामानुजनले एउटा लेख लेख्नु भएको थियो, ‘थ्रि हन्ड्रेड रामायाणज’ । ति पनि कम हुन भन्ने गरिन्छ । रामायणका धेरै संस्करण छन् । हिन्दुवादी, कट्टरपन्थीहरुलाई यो लेख मन नपर्दा पाठ्यक्रममा राखेको पनि निकाले ।

मिथक के हो त ? पुस्तकमा जे लेखिएको त्यही हो त ? हो तर त्यति मात्रै त पक्कै होईन। किनकी परिवर्तित मिथकमा हाम्रो विश्वास भइसकेको हुन्छ। कसैले पनि यहाँ यस्तो लेखिएको छ त्यसैले तिम्रो बुझाई गलत हो भन्ने कुरा त आउँदैन । हामीले जे जानेका छौं, जे बुझेका छौं, त्यो पनि मिथ हो। मिथक हामी सबैको हो, किन भने यो मनको कुरा हो, विश्वासको कुरा हो ।

हरेक समाजले आफ्नो छुट्टा छुट्टै कथा भन्छ भने ठिकै छ, ति सबै नै हाम्रा मिथक हुन । मेरो मिथक तपाईसँग मिल्दैन भने पनि ठिकै छ, ति सबैले फरक फरक परिचय दिइराखेका हुन्छन् । त्यसकारण मिथकमा हाम्रो अधिकार छ, मिथक लेखन, पुनःलेखन जे पनि गर्न सक्छौं । तर त्यसो भन्दा मिथक पुनःलेखन गर्ने उद्देश्य के हो, त्यो सोच्नुपर्ने हुन्छ। किनकी मिथक पुर्नव्याख्या गर्नु भनेको कुनै कथाको पुनर्कथन गर्नु मात्रै होईन, त्यसले कसैको विश्वासमा फरक पार्छ।

महाभारको युद्धमा कृष्ण र अर्जुन । स्केच: सेखण्ड

लक्ष्मण रेखाको चर्चा गर्यौं । त्यस्तो प्रसङ्ग ल्याउनुको के उद्देश्य हुन सक्छ, रामायाणमा? मैले हेर्दा कस्तो देखिन्छ भने, एउटा निर्दोष पात्र छिन सीता । उसले केही पनि गरेकी छैनन् । उनी घरमा बसिराखेकी छिन् । भिक्षा माग्न एक जना मान्छे आउँछ । हात तानेर लिएर जान्छ । तर एउटा लक्ष्मण रेखा भन्ने राखिदिएपछि हामीले भन्न पायौ नि त ‘तिमी नै काटेर गयौं लक्ष्मण रेखा । तिम्रै दोष हो ।’ यसरी जो लेखक हुन्छ, लेख्ने शक्ति जोसँग हुन्छ, उनीहरुले मिथकलाई आफ्नोतिर ढल्काएर लेखेको इतिहास धेरै पाउँछौं । शक्तिशाली बर्गतिर मिथक ढल्किंदै ढल्किंदै गएको देखिन्छ ।

हाम्रै भानुभक्त रामायणको कुरा गरौं । सीतालाई त्यसरी रावणले लिएर गयो, छोयो, अपवित्र भइन भन्ने आम धारणा छ । त्यो मान्यता त्यतिबेलाको समाजलाई मन परेन। त्यो मन नपरेपछि अर्को संस्करण निस्क्यो । त्यो संस्करण अद्भूत रामायण भन्ने छ । भानुभक्त रामायण चाहिं अद्भूत रामायणमा आधारित भनिन्छ । बाल्मिकीको रामायणमा चाहिं राम एक जना मानव हुन । उनलाई केही देवताहरुले अन्तिममा गएर ‘तिमी देवता हौं’ भनेपछि मात्रै आफ्नो देवत्व बोध गर्छन् । तर हजारौं वर्षको विकासक्रममा त राम सुरुदेखि नै देव भएर जन्मिएको पाउछौं, यो अद्भूत रामायणमा । उनी जन्मिदै पूर्ण मानव भएर जन्मिन्छन्। आमालाई बाल लिला देखाउनका लागि बालक हुन्छन् । उनलाई थाहा हुन्छ, म रावणको बध गर्न जाँदैछु । रावणले सीतालाई यस्तो गर्छ भन्ने थाहा हुन्छ । उनले बनाउँछन, एउटी छाया सीता । छाया सीतालाई कुटीमा राखिन्छ, असली सीतालाई उनले अग्नीको जिम्मा लगाएका हुन्छन् । लक्ष्मणलाई दुर्वाच्य बोल्ने, लक्ष्मण रेखा नाघेर जाने त्यो सबै काम छाया सीताले गर्छिन् ।

यो संस्करणले के गर्छ त भन्दा सीताको एउटा ‘पवित्रता’ भन्ने छ, त्यसलाई कायम राख्छ । रावणले छोएर, तानेर लैजाने सीता होईन, छाया सीता रहेछ त भन्ने देखाउन खोज्छ ।

पुनःलेखनको इतिहास हेर्यौ भने, लेखकले समाजलाई के दिन खोजेको छ, कस्तो खालको मुल्यमान्यता दिन खोजेको छ, भनेर देख्छौं । मिथकमा किन यति रुचि, मिथकको पुनःलेखन नै किन गर्नुपर्यो? भन्दा मिथकबाट हामी हाम्रो मूल्यमान्यता पाउँदारहेछौ, के सहि छ, के गलत छ भन्ने कुरा । एउटा आदर्श पुरुष राम होस की एउटा आदर्श पत्नी सीता अथवा अरु धेरै उदाहारण हुन ।

निलम कार्की निहारिकाको ‘चीरहरण’को अन्त्यमा एउटा उदाहरण छ । निहारिका र उनका साथीहरु स्कुलबाट हाँस्दै हाँस्दै घर आउँदै रहेछन् । एक जना पुरुषले भनेछन, ‘नानी नहास, केटी मान्छे हाँसेर त्यत्रो महाभारत भयो ।’ भन्नुको अर्थ मिथक हाम्रो दिन दिनैको जीवनमा यसरी आइरहेको छ की हामी तिनीहरुबाटै उदाहरण लिन्छौं, तिनीहरुबाटै सिक्छौं । त्यसैकारण हामीलाई पुनःलेखन गर्न मन लाग्छ ।

समुद्रमन्थन ।        स्केच: दासभत्र

जुन किसिमले शक्तिशाली वर्गको रुपमा मिथक ढल्किदै गएका उदाहरण विगतमा थिए, पछिल्लो समय महिलाहरुले पनि मिथकको पुनःलेखन गर्न थालेका छन्, र मिथकलाई आफ्नोतिर ढल्काउन थालेका छन् । यसलाई राम्रो, नराम्रो के भन्ने ? त्यसलाई प्राकृतिक भनौं ।

निहारिकाको उदाहरण ‘नानी नहाँस, महिलाले हाँसे त महाभारत हुन्छ’ भन्ने कुरा हेरौं । दुर्योधन लगायत कौरव इन्द्रप्रस्थ हेर्न आउँछन् । उनी पानीमा चिप्लिन्छन् । चिप्लिएपछि द्रौपदीले भन्छिन, ‘अन्धाको छोरा अन्धा’ र त्यसपछि हाँस्छिन् । धेरैले भन्छन की दाजुभाइबीच केही झगडा थिएन, द्रौपदी हाँसेको कारण युद्ध छेडियो । निहारिकाले आफ्नो किताबमा के लेख्छिन भने, ‘द्रौपदीले त्यस्तो भनेपछि उनलाई एकदमै पश्चाताप भएछ । उनले आफ्नो आमासँग पनि माफी मागिन, सबैसँग माफी मागिन् । तर घटनाक्रम रोकिएन ।’ उनले द्रौपदीलाई सकारात्मक पात्रका रुपमा प्रस्तुत गर्ने कोसिस गरेकी छिन् । यस्तो महिला पात्रको पुनःलेखन र आफ्नोतिर ढल्काउने काम भारततिर पनि भइरहेको छ । चित्रा दिवाकरुनी वेनर्जी भन्ने लेखिका छिन्, उनको किताब निकै नै चर्चित भएको थियो, ‘प्यालेस अफ इलुजन्स्’ । द्रौपदीको दृष्टिकोणबाट महाभारतलाई हेरिएको छ किताबमा । त्यो किताबमा द्रौपदीले के भन्छिन भने ‘म त पर्दा पछाडी बसेकी थिएँ । एउटा दासी हाँसेकी थिइन । मैले दासीलाई त्यहीँ सजाय दिएको भए हुन्थ्यो, दिइन । घटनाक्रम यसरी अगाडी बढ्यो कि रोक्नै सकिन् ।’ उनले द्रौपदीको दोष होइन, अर्कैको दोष हो भने जस्तो गरि लेखिन।

यसरी पुनःलेखन गर्दा पात्रको चरित्र फेरिएको देखियो। मिथकको पुनःलेखन पाठकले किन पढ्ने ? लेखकलाई ती पात्र कस्ता लाग्छन भनेर पढ्ने की पात्र मिथकमा कस्ता थिए भनेर पढ्ने ? मिथकका पात्र कस्ता छन भन्ने बुझ्नलाई पढ्ने हो नी।द्रौपदीको जुन आक्रोस छ, आक्रमकता छ, जुन सुरुदेखि अन्तिमसम्म भेटिन्छ महाभारतमा, यो पुनःलेखनमा त्यो कहाँ पुग्यो ?

अर्को कुरा, यी लेखकले मिथकका महिला पात्रलाई जुन सकारात्मक ढंगमा देखाउनु खोज्नु भएको छ, महाभारतै पढेको भए त झनै सजिलो हुनेरहेछ नि त । किन भने महाभारतमा त्यो घटना नै छैन ।

महाभारतमा के हुन्छ भने दुर्योधन आउँछन, उनी पानीमा चिप्लिन्छन् । त्यसपछि भिमसेन हाँस्छन्, त्यसपछि सबै हाँस्छन्, त्यसपछि दरबारका सबै महिला हाँस्छन भनेर लेखिएको छ । केटीमान्छे हाँसेर महाभारत भयो भनेर जुन मौखिक व्याख्यान छ, त्यो त छैनरैछ नि त ।

हुन त मौखिक व्याख्यान पनि मिथक हुन् र तिनीहरुमाथि आधारित भएर लेख्न नपाईने होईन। तर मिथकको पुनर्व्याख्या नै गर्ने लेखकको ईच्छा हो भने एकाध मौखिक व्याख्यानको आधारमा सिंगो मिथक उल्ट्याउन पनि सकिन्न, किनकी त्यसले झन् धेरै अन्यौल पैदा गर्छ। मिथकको जरासम्म बुझेर लेख्दा नै लेखक र पाठक दुबैलाई फाइदा हुन्छ।

निहारिकाकै पुस्तकको चर्चा गरौं, पुस्तकको नामै ‘चीरहरण’ छ (तर लक्ष्मण रेखा जस्तै चीरहरण पनि ‘मूल’ महाभारतमा छैन। उनलाई घिसारेर सभाकक्षमा ल्याइएको प्रसंग मात्रै छ)। द्रौपदीलाई सभामा आउने आदेश दिइन्छ, तर जान नमानेर द्रौपदीले प्रश्न सोध्छिन्, ‘त्यो मान्छे को हो ? त्यो मेरो पति हो । मलाई दाउमा राख्ने हक छ की छैन त्यसलाई?’

महाभारतमा द्रौपदीले ‘युधिष्ठिरलाई मलाई दाउमा राख्ने हक छ की छैन’ भनेर सोध्दिनन् । उनले सोध्छिन, ‘उसले पहिले आफूलाई हार्यो की मलाई हार्यो ? ऊ पहिलो दास हो भने दासको सम्पत्ती हुन्छ ? दासले मलाई दाउमा राख्न पाउँछ ?’ यी दुइटा प्रश्नमा धेरै फरक छ । महाभारतमा उनले प्रश्नै गरेकी छैनन, ममाथि पतिको हक छ की छैन भनेर । ममाथि पतिको हक छ तर दासको छैन भन्नेमा उनी स्पष्ट छिन् ।

पाण्डवले जुवामा हारेपछि चीरहरणको गरिएको भनिएको एक दृश्य । स्केचः फन बज टाइम्स

हो, हाम्रो मनमा यो प्रश्न उठ्छ, पत्नीमाथि पतिको यत्रो हक हुन्छ की हुँदैन ? जुवामा दाउमा हाल्न पाउँछ की पाउँदैन पतिले पत्नीलाई? तर यो त हाम्रो प्रश्न हो नी, द्रौपदीको प्रश्न होइन। हामीले त एपिक बाहिर उभिएर यो प्रश्न सोध्नुपर्ने हो, एपिक भित्र यो प्रश्न सोधियो भने हामीले एपिक कसरी बुझ्ने ? त्यतिबेलाको समाज हामीले कसरी बुझ्ने ?

यसरी पुरानो समाजलाई आधुनिक आँखाबाट हेरेर पुनःलेखन गरिएको धेरै पाइएको छ । त्यसले गर्दा पाठकलाई घाटा के हुन्छ भने, आधुनिक दृष्टिकोण पढ्ने भए त आजकै कथा पढे भइहाल्यो । मिथक पढ्ने भए त मिथकमा के छ, त्यो कुरा आउनु पर्यो नी।

यस्तो प्रवृत्तीको विपरीत उभिएका छन् मदनमणि दीक्षित। धेरै अध्ययन गरेर आफूले लेख्न खोजेको विषय भन्दा बाहिरका वाङ्मय पढेर, विश्लेषण गरेर उनले लेखेका छन् माधवी र भूमिसुक्त लगायतका कृतिहरु।

माधवीको कथा अचम्मको छ । एक जना गालव भन्ने पात्र हुन्छन, उनलाई ८ सय वटा घोडा आवश्यक हुन्छन्, एउटा विशेष किसिमको । ययाति भन्ने राजाकोमा उनी जान्छन, ति घोडा कसरी प्राप्त गर्न सकिन्छ भनेर । यायातिले उनलाई – मेरी छोरी लैजाऊ, घोडाहरु प्राप्त गर भन्छन् । गालबले माधवीलाई ‘तिमी चार राजालाई एक एक पुत्र देऊ, उनीहरुले मलाई ती पुत्रको बद्लामा घोडा दिन्छन’ भन्छन् । तीनजना राजालाई माधवीले पुत्र दिएपछि गालवलाई ६ सय घोडा प्राप्त हुन्छन । अन्तमा गालबले आफ्ना गुरु, जसलाई घोडा दिनुपर्ने हो, उनलाई माधवी दिन्छन र भन्छन, ‘तपाई यिनीबाट पुत्र प्राप्त गर्नुस ।’ गुरुले भन्छन, ‘तिमीले मलाई माधवी पहिले नै दिएको भए हुन्थ्यो नि, म चार वटा पुत्र प्राप्त गर्थें। घोडा नै चाहिन्नथ्यो।’

यो सबै सकिएपछि ययातिले माधवीका लागि स्वयम्वर आयोजना गर्छन । तर माधवी ‘यो स्वयम्वर मलाई मञ्जुर छैन’ भनेर जंगल जान्छिन्, सन्यासी बन्छिन् ।

माधवी ।    स्केचः टकिङ मिथ्स डट कम

यस्तो किसिमको अचम्मको कथा छ । एक जना युवतीले चार जना पुरुषलाई पुत्र दिएपछि उनको विवाह हुन आँट्दैछ । यस्तो कथाको शिल्पी थिएटरमा मञ्चन हुदा (भारतीय लेखक भिष्म साहनीले लेखेको) कस्तो देखेँ भने सुरुमै माधवी र गालवको त प्रेम पो हुँदोरहेछ । अन्तिममा चारजना छोराकी आमा भनेर तिम्री शरीर बिग्रिसक्यो भनेर गालवले माधवीलाई अस्वीकार गर्दोरहेछ। र गालवले आफ्नो प्रेम अस्वीकार गरेपछि विरक्तिएर माधवी जंगल जाँदीरहिछिन्। यस्तो कथा एक त महाभारतमा छैन, गालव र माधवीको कुनै प्रेम प्रसङ्ग छैन । गालवले खुसीसाथ माधवीलाई जान दिन्छन, माधवीले आफ्नै खुसीले स्वयम्वर त्यागेर जान्छिन् । आधुनिक पुनःकथनहरुमा ती ४ पुरुषले हेयका दृष्टिले हेर्ने माधवीलाई महाभारतमा ती चारैजनाले अत्यन्त उत्कृष्ट नारी भन्दै प्रशंसा गरेका छन्। मदनमणि दीक्षितको बाहेकका पुनःकथनमा चाहिँ यो कथा महाभारतको संस्करणमा भन्दा अन्तैतिर केन्द्रित देखिन्छ। हुँदै नभएको प्रेम प्रसङ्ग जोडिएको, र माधवीको चारजना पुरुषसँग शारीरिक सम्बन्धमाथि केन्द्रित गरिएको। महाभारत पढ्यौ भने माधवीको जुन चारजनासँग अस्थथायी सम्झौता थियो, त्यो त्यति अचम्मको पनि होइन की भने जस्तो देखिन्छ । त्यस्तो अचम्मको हुँदो हो भने त एकपछि अर्को राजाले माधवीबाट युवराज जन्माउन स्वीकार्ने पनि थिएनन् र माधवीको बुवाले उनका स्वयम्वर आयोजना पनि गर्दैनथे। यो कुरा मदनमणि दीक्षितको किताबबाट बुझिन्छ, जहाँ उनले माधवीको मात्रै होइन, त्यस्ता थुप्रै अरु कथा प्रस्तुत गरेका छन् ।

एउटा महिलाको एउटा मात्रै यौनसाथी हुन्छ वा हुनुपर्छ भन्ने हाम्रो विगत हो । हामीले बुझेको, सुनेको पनि यस्तै छ । तर हामीले धेरै पुराना मिथकको अध्ययन गर्यौं भने त्यस्तो पाउँदैनौ। आधुनिक पुनःकथनहरु माधवीको चार जनाबाट यौन शोषण भयो भन्नेमा केन्द्रित देखिन्छन्। तर एक भन्दा बढी यौनसाथी अमान्य भएको हाम्रो आधुनिक दृष्टिकोणलाई एकछिन बिसाएर हेर्दा यो कथामा अरु पनि महत्वपूर्ण प्रश्न छन् । जस्तो किः तिमी चारजनालाई पुत्र देऊ भनेर माधवीलाई आज्ञा गर्ने हक उनका पितालाई छ की छैन् ? माधवीले त्यो निर्णय आफैले गर्नुपर्ने हो की होइन ? अथवा माधवीले किन पुत्र चाहिं पितालाई जिम्मा लाउनुपर्ने? पुत्र माताको होइन, पिताको हो भन्ने निर्णय किन र कसले गर्यो? जन्मेको बच्चामा कसको हक लाग्छ त ? यि पनि महत्वपूर्ण प्रश्न हुन ।

स्वयम्वरको मुखैमा किन माधवी सन्यासी बनिन्? ‘गालवले उनको प्रेम अस्वीकार गरेका कारणले‘ भन्ने आधुनिक बुझाइलाई महाभारतले पुष्टि नगर्ने हुनाले हामी तिनै प्रश्नमा ठोक्किन पुग्छौं। आफ्नो यौनिकता र मातृत्वमाथि आफ्नै अधिकार नहुँदा माधवी विरक्तिएकी हुन्? त्यो कस्तो समाज हो जहाँ महिलालाई धेरै यौनसाथी बनाउन छूट छ तर सन्तानमाथि अधिकार छैन? बारम्बार राजा र ऋषिहरुले कुमारीत्व गुमाएकी नारीबाट आफ्नो उत्तराधिकारी जन्माउने चाहना राख्छन् भने के त्यस्तो किसिमको सम्बन्ध स्वाभाविक अथवा मर्यादित मानिन्थ्यो? त्यो प्रसंगलाई आजका पुनःकथनले वेश्यावृत्तीका रुपमा हेरेका छन्, तर त्यो मर्यादित नभएको भए के ती पुरुषले वेश्याबाट उत्तराधिकारी जन्माउन राजी हुन्थे? त्यो समाजमा कस्ता जटिलताहरु थिए!

महाभारतले उठाएका र दीक्षितले विस्तार गरेका यी प्रश्नमा केन्द्रित नभएर अहिलेको पुनःलेखनमा हेर्ने हो भने माधवीका चारजना यौनसाथी भन्दा हामी अगाडि नै बढ्दैनौं ।

दीक्षितले भर्खरै भूमिसुक्त किताब लेख्नु भएको छ । यसमा पितृसत्ता आउनुभन्दा अगाडीको समाजको चित्रण छ । आमाको उमेरको रानीले छोराको उमेरको पुरुषसँग विहे गर्ने । वर्षेनी राजाको बध गर्ने र त्यो रानीको वर्षेनी विहे हुने । त्यस्तो किसिमको समाज थियो भनेर भूमिसुक्तमा लेख्नु भएको छ । यो मिथक मात्रै होइन की समाजशास्त्र पढ्ने हो भने पनि हाम्रो शुरुवात त्यस्तो थियो भन्ने हामी पाउँछौं । त्यस्तो खाले प्रथाको किन अन्त्य भयो भन्दा खेरी दीक्षितको आफ्नै तर्क छ । वर्षेनी राजाको बध गर्नुपर्यो, त्यो प्रथा हिंसात्मक भयो भन्ने उनको तर्क छ, हुन त समाजशात्रीका पनि आफ्नै तर्कहरु छन् तर आज त्यो हाम्रो विषय होईन। यस कथाको अवशेष अहिले पनि हाम्रो समाजमा पाइन्छन् । शिल्पीले नै मञ्चन गरेको थियो, चिरिएका साँझहरु नाटक । जुन भक्तपुरमा मनाईने विस्केट जात्रामा आधारित थियो । हरेक राती एक जना नारी सुत्न जान्छिन र उनको नाकबाट नाग निस्किन्छ र त्यो नागले हरेक राती उनको पतिलाई मारिदिन्छ । अचानक एक दिन आएर, एउटा मान्छेले त्यो नागलाई मारेर सधैको लागि राजा हुन्छन् ।

त्यस्तै इडिपस भन्ने ग्रिक मिथक पढ्नु भयो भने पितालाई बध गरेर आमासंग बिहे गर्नु पाप हो भनेर उल्लेख गरिएको छ । अथवा त्यो भन्दा अगाडी त्यस्तो हुन्थ्यो र त्यो पाप हो भन्ने ज्ञान भएपछि त्यो हुन छोड्यो। हाम्रै लोककथामा पनि यस्तो प्रथा र त्यसको अन्त्यका थुप्रै अवशेष पाइन्छन्।

हाम्रो समाज के हो, हाम्रो विगत के हो ? हामीले सुनेको दुईचार वर्षमात्रै हाम्रो मिथक हो की त्यो भन्दा धेरै धेरै वर्ष अघिको हो ? मिथकमा यस्ता धेरै धेरै विषय छन तर हामी ति विषयभन्दा पनि थोरै संकुचित विषयमा छलफल गरिरहेका छौं । हुँदै नभएको चीरहरण अर्थात द्रौपदीको नग्नता महाभारतको केन्द्रिय घटना बनेर आएको छ। हो, त्यो प्रसंगमा द्रौपदीमाथि दुर्व्यवहार गरिएको छ तर अन्य दुर्व्यवहार र यौन दुर्व्यवहारमा धेरै फरक छ। यसरी यौनिकतामा केन्द्रित हुँदा विशेष गरी महिलाको चित्रण साँघुरो भए जस्तो छ।  महिलाको कति जनासँग सम्बन्ध थियो भनेर जज गर्ने, त्यो हिसाबको चित्रण धेरै पाइएको छ ।  

कृष्ण धरावासीको कृति राधाकै कुरा गरौं । एउटा दृश्य छ, द्रौपदी जंगलमा भएको बेलामा कौरवकी बहिनीको श्रीमान जयद्रथले उनलाई हरण गरेको प्रसंग। राधाका लेखक कृष्ण धरावासीले मात्रै होइन की धेरै अध्ययन गरेर लेखेका भारतीय लेखक देवदत्त पटनायकले पनि के भन्छन भने, ‘तँ वेश्या होस । तेरा पाँच जना पति छन् । तँलाई ६ जना भए के हुन्छ र ?’ उनले तानेर लान्छन र भन्छन, ‘म छु, म पछि मेरो सारथीले लान्छ ’।’ यस्तै यस्तै । व्यासको भनिएको महाभारत हेर्नु भयो भने त्यस्तो छैन । त्यसको उल्टो छ । जयद्रथ भन्ने पात्र द्रौपदीको बारेमा सुनेर, त्यस्ती उत्कृष्ट नारिबाट मोहित भएर ‘म यिनलाई मेरी पत्नी बनाउछु’ भनेर गएको हुन्छ । त्यस्तो चित्रणबाट यस्तो चित्रणमा हामी कसरी आइपुग्यौं भन्दा हामी मिथकलाई आजको नजरले हेरिराखेका छौं । त्यो समाजमा अहिलेको जस्तो धेरै नियम बनिसकेका थिएनन् । त्यस्तो कम नियम भएको समयलाई आजको जस्तो धेरै नियम भएको समयको आँखाबाट हेरिरहेका छौं ।

राधामा हेर्दा नारीलाई मात्रै होईन कृष्णलाई पनि त्यस्तै गरी चित्रण गरेको पाउँछौं । महाभारतमा हेर्दा कृष्ण जस्तो शालिन र ज्ञानी पात्र अरु कोही छैन। त्यस्तो पात्रलाई धरावासीकै शब्दमा ‘घिन लाग्ने गरि महिला थुपार्ने मानिस’ को रुपमा चित्रण गर्न हामी कसरी आइपुग्यौं ? महाभारतमा हेर्दा गोपिनीहरु पनि छैनन्, राधा पनि छैन । महाभारत पाँचसात हजार वर्ष पुरानो मानिन्छ भने राधा चाहिं हजारबाह्रसय वर्ष पुरानो मानिन्छ । उनको १६ हजार गर्लफ्रेन्ड पनि छैनन् । कृष्णको पात्र पनि संकुचित भयो नि त ।


लक्ष्मण रेखाको परिकल्पना । स्केचः दिनोपेज डट टप

हुन त फेरी पनि यो मौखिक व्याख्यानहरुको पुनर्व्याख्या हो र मौखिक व्याख्यान पनि हाम्रा मिथक होईनन् भन्न सकिन्न। र कृष्णका प्रेमप्रसंगहरुलाई नकारात्मक भन्न खोजेको पनि होईन, प्रेम र यौनको खुला अभिव्यक्ति नहुने समाजमा ती मानवीय भावनाहरु दबाएर दबाइन्नन् भन्ने एउटा उदाहरण पनि हो, हाम्रो जस्तो सख्त बन्न पुगेको समाजमा त्यस्तो प्रेमीको पूजा। कृष्णको चरित्रको ऐतिहासिक विकासक्रम हेर्ने हो भने त्यस्तो देखिन्छ। चाहे राधाको कथा होस् वा चैतन्य महाप्रभुको, मीराको होस् वा तमिल नाडुका अरावानीहरुको, महिला र पुरुष दुबैले प्रेम प्रकट गर्ने एउटा प्रतीक, एउटा आउटलेट जस्तो पाएका छन् कृष्णको पात्रमा। ती सबै कथाहरु तत्कालीन समाजका ऐना हुन्। ती सबैलाई बेवास्ता गरेर फेरी पनि किन हामी यौनमै आएर टुंगिने र त्यो भन्दा अघि नबढ्ने?

हो, हाम्रो समाजको नैतिकता अनुसार त्यो पात्र ‘घिनलाग्दो’ लाग्ला र विगतमा भएका पुनःलेखनले पनि पुनःलिखित संस्करणमा आफ्नो समाजको ऐना दिंदै गए झैं यो बुझाइले पनि हाम्रो समाजको ऐना दिन्छ। तर कृष्णको पात्र त्यतिमा सीमित पनि त छैनः मूल कथाका ज्ञानी पात्रदेखि लिएर ऐतिहासिक विकासक्रमका विभिन्न चरचणका विभिन्न भावनात्मक भूमिकाहरु छन् उनका। महाभारतमा गीता छ, ज्ञान छ, त्यो सबै बेवास्ता गरेर ‘लभर ब्वइ’ मा मात्रै केन्द्रित हुँदा त पाठकको पनि त दायरा फराकिलो बन्न पाउँदैन। हामीले मिथकको पुनःलेखन गर्दा आफ्नो समाज देखाउने हो कि मिथकमा निहीत र मिथकको विकासक्रममा देखिएका समाज बुझ्न / बुझाउन खोज्ने हो? त्यसमा स्पष्ट हुनुपर्यो।

त्यही क्रममा फेरी मिथलाई डिमिस्टिफाइ गर्ने काम पनि भइरहेको छ, आधुनिक आँखाबाट। मिथमा जुन चमत्कारिक कुरा छन, त्यसलाई सामान्य तवरले प्रस्तुत गरिँदै आएको छ ।

राधाकै कुरा गरौं, कुन्तीले देवताहरुलाई आह्वान गरेर बच्चा जन्माइन भन्ने कुरा छ महाभारतमा। सूर्यदेव, इन्द्रदेव यस्ता देवताहरुलाई आह्वान गरिन् भन्ने कथा छ । राधामा त्यसलाई डिमिस्टिफाइ गरेर कुन्तीले बालसखा सूर्यसँग, अर्का बालसखा धर्मसँग सम्पर्क गरेर बच्चा जन्माइन भन्ने लेखिएको छ । कृष्णले छोडेपछि राधाको प्रसङ्ग आउदैन, महाभारतमा त राधा पात्र नै छनन् र मौखिक व्याख्यानहरुमा पनि राधा त्यसपछि हराउँछिन् । कृष्ण धारावासीले राधा तीर्थ यात्रामा गइन होला भनेर लामो तीर्थ यात्राको बारेमा लेख्नु भएको छ । उनले त रासलीलालाई नै कृष्ण र सबै गोपीनिहरुको रात्रीभोज बनाइदिएका छन्, जुन कथा एक कान दस कान हुँदै बढ्दै गएर मानिसहरुले रासलीला बुझ्न थाले रे! अर्थात मिथकमा यस्तो भयो होला भनेर लेखकले आफैं व्याख्या गर्ने प्रवृत्ती देखिएको छ, नेपालमा मात्रै होईन भारतमा पनि।

तर भाषाविद बालकृष्ण पोखरेलले भन्छन्, मिथकलाई जस्तो छ, त्यस्तै बुझ्ने होइन, यसमा विम्ब र प्रतिक हुन्छन् । समुद्र मन्थनको उदहारण दिएका छन् । समुद्र मन्थन भनेको देउता यता बस्ने, राक्षस उता बस्ने, नागले तान्ने र त्यहाँबाट अमृत र विष निकाल्ने होइन भन्छन् उनी। त्यो भनेको दुइटा समाज हुन, देउताको समाज, राक्षसको समाज, नाग भन्ने पनि एउटा समाज नै हो । ति समाजहरुको अन्तरमन्थनबाट के के निस्किए त ? त्यहाँबाट चिकित्साको ज्ञानदेखि लिएर समाजमा राम्रो र नराम्रो तत्वहरु निस्किए। यस्ता धेरै धेरै लक्षणहरु, अर्थहरु हुन्छन मिथकमा । हामीले डिमिस्टफाइ गर्यौं भने ति अर्थहरु हराउँछौ।

नयाँ जेनेरेसनको पुनःलेखनमा धेरै सकारात्मक कुरा पनि छन् । महाभारत, पुराण खासै नपढ्ने, नयाँ पुस्ताका मान्छेले पुनःलेखन पढिरहेका छन् । माधवीको सुरुवातमै चषक भन्ने शब्द छ, त्यो भनेको गिलास रहेछ । दीक्षितसँग कुरा गर्दा भन्नु भयो, ‘मैले विज्ञान सम्मत कुरा मात्रै लेखेको छु, मेरो पुस्तकमा । करुवा कसरी भएको हो ? करुवामा टुटी हाल्ने काम कहिले भयो ? माधवीको समयमा करुवामा टुटी हालियो र त्यसलाई गलन्तिका भनियो, मैले त्यही लेखे ।’ त्यस्तो क्लिष्टतालाई छोडेर नयाँ पुस्ताका लेखकले स्पष्ट भाषामा लेखेका छन् । यसले हामीलाई मिथमा परिचित हुन त सजिलो बनाइदिएको छ।

त्यो बाहेक पनि मिथकलाई नयाँ तरीकाले प्रस्तुत गर्ने धेरै तरिका हुन सक्छन् जसबाट पाठकले केही नयाँ कुरा पाओस्। भारतमा त्यस्ता केही उदाहरण छन्। दा भिन्सी कोड भन्ने अंग्रेजी किताबमा मिथकलाई मिस्ट्रीका रुपमा प्रस्तुत गरिएको छ । भारतीय लेखक आस्विन शांघीले पनि त्यस्तै शैली पछ्याउने कोशिश गरेका छन्। सुरुदेखि नै क्लुज दिन्छन्, पछि पछि खुलासा गर्छन् । जस्तो की सात पल्ट बनाएर, सात पल्ट भत्काएको शहर कुन हो भन्ने क्लुज हुन्छ । अन्तमा गएर खुलासा हुन्छ, त्यो त सोमनाथ रहेछ । मिथकलाई रोचक बनाउने काम गरेका छन्। अनि अमिश त्रिपाठी मिथकबाट पात्र लिएर मिथकबाट केही पर हटेर लेख्छन्। कथा ठ्याक्कै मिथकको जस्तो हुँदैन । महादेव र सतीको कथा छ, सती एउटा यस्तो समाजमा हुन्छिन्, जहाँ बच्चा जन्माएर अर्कैलाई दिनुपर्ने, बच्चा र आमासँगसँगै नहुर्किने जस्तो । त्यस्तो कथा त हाम्रो मिथकमा छैन । तर पनि त्रिपाठीले मिथकका पात्रहरुलाई प्रयोग गरेर दार्शनिक प्रश्न उठाउने राम्रो मञ्च बनाउका छन् । नेता भनेको के हो, भगवान भनेको के हो ? देखेको भगवान हो की लेखिएको भगवान ? हाम्रो विश्वास गरिएको मात्रै भगवान हो की ? अर्को लेखिका हुनुहुन्छ प्रतिभा रे, ओडिया भाषामा लेख्नुहुन्छ । उहाँ मिथकलाई आधुनिक दृष्टिकोणले हेर्नु हुन्न, जस्तो थियो, त्यस्तै प्रस्तुत गर्नुहुन्छ ।

त्यसरी नेपालमै पनि बदरीनाथ भट्टराईले लेख्नु हुन्थ्यो । आजको आँखाले होइन की मिथकमा के थियो, त्यो लेख्नुहुन्थ्यो । रेणुका भन्ने पौराणिक पात्रको कथा लेख्नु भएको छ । रेणु भनेको वालुवा । खाली हात खोलामा जान्छिन, आफ्नो तपको बलले वालुवाबाट भाँडा बनाएर त्यसमा पानी लिएर आउँछिन् । एक दिन पतिले सोध्छन, ‘तिमी आज पानी लिएर आएनौं, तिम्रो तप कसरी भङ्ग भयो ?’ रेणुका चाहिँ एक जना कसैलाई देखेर मोहित भएकी हुन्छिन् । उनको पतीले छोरालाई तिम्रो आमालाई काट भन्छन् । छोराले आमाको टाउको काट्छन् । ग्रिक मिथकमा पनि यस्तै कथा छ अगामेम्नन र क्लाइटेम्नेष्ट्राको। आमाको अर्कैसँग प्रेमसम्बन्ध भएपछि छोराले आमालाई काटेको हुन्छ । अर्थात यसमा छोराले आमालाई खोजी खोजी मारेर बाबुलाई प्राथमिकता दिएको हुन्छ । अध्येताहरु यो कथाले इतिहासको एउटा मोडलाई चित्रण गरेको छ, भन्छन् । अघि हामीले चर्चा गरेजस्तो खुला समाजबाट नियमहरु बाँधिंन थालेको समाजको, मातृसत्ताको प्रभाव हट्दै गएर पिता शक्तिशाली हुँदै आएको समाजको। यस्ता कथा हाम्रो समाजमा पनि छन् । हामी किन तिनीहरुलाई नपढ्ने? नकेलाउने? विगतको समाज र समय बुझ्न नखोज्ने? किन सीमित हुने संकुचित आधुनिक दृष्टिकोणमा ?

मिथकलाई हेर्ने धेरै दृष्टिकोण हुन सक्छन् । विम्ब र प्रतीक पनि भन्न सकिन्छ, विगतको एउटा अभिलेख पनि भन्न सकिन्छ । हामीले आधुनिक दृष्टिकोणबाट यो पात्रले किन यस्तो गर्यो होला भन्यौं भने हामी नै सिमित हुन्छौं।

मिथक भनेको सबैको हो । हामीले यसलाई आफ्नै तरिकाले बुझ्ने र पुनःब्याख्या गर्ने सबैलाई हक छ किनकी विश्वासमाथि हाम्रो आफ्नो मात्रै हक लाग्छ अरु कसैको लाग्दैन। पाठकलाई दिंदा चाहिं मैले किन दिदैछु त, मैले दिनुको के उद्देश्य छ ? विचार गरेर दिंदा राम्रो होला । व्यक्तिगत दृष्टिकोण मात्रै समातेर अघि बढ्यौ भने मिथकमा निहीत जुन विगतको समयको ज्ञान छ, त्यो छुटाउन सक्छौं । दृष्टिकोण जति फराकिलो पारेर मिथकका विभिन्न संस्करण रचना भएका समयलाई बुझ्न सक्यौं त्यति लेखक र पाठकलाई फाइदा छ।
(पत्रकार सेवा भट्टराईले बुकहोलिक्सद्वारा हालै आयोजित ३८औं चकटी बहसमा व्यक्त विचारको सम्पादित अंश)

 

प्रतिकृया दिनुहोस