सिंहदरबारबाटै सरकारको कामको अनुगमन गर्छु: प्रम दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक कार्यक्रममा धेरै सहभागी नभई सिंहदरबारभित्र बसेर सरकारका कामको निरीक्षण, अनुगमन गरी परिणाम निकाल्न चाहेको बताएका छन् ।
“औपचारिक कार्यक्रममा जानुभन्दा परिणामुखी कामलाई प्राथमिकतामा राखेको छु, अहिले म यसैमा केन्द्रित हुन थालेको छु, ”प्रधानमन्त्री निवास बालुवाटारमा आफूलाई बधाई तथा शुभकामना दिन गएका सिन्धुलीका टोलीसँगको भेटमा प्रधानमन्त्री दाहालले भने ।
वर्तमान सरकारले संविधान संशोधन गरी निर्वाचनको प्रक्रियामा जाने वातावरण बनाउन लागि परेको जानकारी दिएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार सो अवसरमा प्रधानमन्त्री दाहालले संविधान संशोधनको प्रस्ताव दर्ता गरेर स्थानीय तहको निर्वाचनमा जाने र यसले देशमा राजनीतिक स्थिरताको वातावरण तयार गर्ने विश्वाससमेत व्यक्त गरेका थिए ।
चीन र भारतसित सन्तुलित कूटनीतिक सम्बन्धका लागि उच्चस्तरीय दूत पठाएको चर्चा गर्दै प्रधानमन्त्री दाहालले आन्तरिक र बाह्य राष्ट्रियतालाई एकीकृत गर्नु आफ्नो दायित्व भएको पनि दाहालले बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) का हरिबोल गजुरेलसहित गएको सिन्धुलीको टोलीले भूकम्पपीडितका लागि राहत थोरै भएको भन्दै राहत रकम वृद्धि गर्न माग गर्दै प्रम दाहालको ध्यानाकर्षण गराएको थियो । रासस