यो सरकार नेपाल र नेपालीको होइनः ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यो सरकार नेपाल र नेपालीको नभएको आरोप लगाएका छन् ।
एमालेको मेची महाकाली अभियान अन्तरगत २९ फागुनमा रुपन्देहीको भैरहवास्थित अञ्चलपुरमा आयोजित सभालाई सम्बोधन गर्दै सरकारले जनता र देशका लागि काम नगरेको आरोप लगाए ।
एमाले अध्यक्ष ओलीले भने, “यो सरकार नेपाल र नेपालीको होइन । विधिवत् रुपमा त संसदबाट बनाए जस्तो देखिन्छ । तर, चारतिर फर्केकाहरुलाई एउटै ठाउँमा ल्याएर टाउको जुधाएर मित लगाउने काम अर्कैले गरिदिएको छ ।”
पहाडी र मधेसी भनेर झगडा गर्ने र जातजातका नाममा झगडा गराउने काम भइरहेको उनको आरोप थियो । एमाले हिमाल, पहाड, तराई पस्नबाट कसैले रोक्न सक्ने बताउदै सम्बोधनका क्रममा ओलीले भने, “मोर्चाका नेताहरु एमालेलाई तराई पस्न नदिने भन्छन् । नयाँ शक्ति नामक बुद्धिबिग्रिएकाहरुको संस्थाले पनि एमालेमुक्त नेपाल भनेर ट्वीट गरेछ । कसको दाना खाएर उनीहरु यस्तो गर्दैछन् ? नेपाल देशव्यापी छ, नेपालीव्यापी छ । हामीलाई कुनै ठाउँमा जानबाट कसैले रोक्न सक्दैन ।”
उनले संविधानमा विभेद नभएकोले संशोधन नहुने बताए । अहिले संशोधन भए यसले अन्य प्रदेशहरुमा संशोधनको कुरा उठ्ने उनको भनाई थियो । नागरिकतामा कसैलाई विभेद नभएको दावी गर्दै ओलीले भने, “उहिले उहिले रानीको जन्म दिनमा केटाकेटी जम्मा पारेर चकलेट बाँडिन्थ्यो । त्यसरी सीमामा अरु देशका मानिस जम्मा गरेर नागरिकता बाँड्न सकिन्न ।”
सभालाई एमाले उपाध्यक्षा वामदेव गौतम, एमाले पोलिट्ब्युरो सदस्य दलबहादुर राना, लोकतान्त्रिक मधेसी संगठनका अध्यक्ष रघुवीर महासेठले पनि बोलेका थिए ।
दीपक ज्ञवाली, भैरहवा