टिप्पणीआइतवार, फाल्गुण २९, २०७३

चल्ल, मल्ल र खस एउटै होइनन्

वसन्त महर्जन

खस सम्राटहरू पहिचानको लागि नभएर प्रतिष्ठाका निम्ति थर ग्रहण गर्थे।


कीर्तिखम्बः खस साम्राज्यको स्थापनादेखि पृथ्वी मल्लसम्मको वृत्तान्त कुँदिएको दुल्लुस्थित शिला अभिलेख। यो अभिलेख तिब्बती वंशावलीसँग मिल्छ।

१२ औं शताब्दीतिर स्थापित खस साम्राज्यलाई १५ सम्राटले हाँके। सिंजा उपत्यका (जुम्ला) राजधानी रहेको यो साम्राज्य करीब तीनसय वर्षपछि सन् १३९१ तिर विघटनको दिशामा गयो। खस साम्राज्यका संस्थापक नागराज तिब्बतको ङारी (खारी) प्रदेशका राजा थिए। उनी राज्य विस्तारका क्रममा दक्षिणको खसान क्षेत्रमा झरेका थिए। 

शुरूका बाहेक खस सम्राटहरूले चल्ल र मल्ल दुई वटा थर प्रयोग गरेका छन्। 'घर हाल्ने' प्रथा अनुसार ज्वाइँलाई ससुराली थर दिएर कुलमा भित्र्याइएका पुण्य मल्लबाहेक सबै खस सम्राटलाई एउटै रक्तका राजवंश भएको पुष्टि कीर्तिखम्बमा रहेको अभिलेख, तिब्बती वंशावली र श्रीपाली वंशावलीले गरेपछि चल्ल र मल्लमा फरक नभएको बुझाइ पनि देखियो।

तर, चल्ल र मल्ल मात्र नभई खस पनि एउटा बेग्लै पहिचानसहितको अर्को जातीय समुदाय हो। यो प्रकरणलाई एकै राजवंश भए पनि एउटै थर नहुने त्यो बेलाको चलनअनुसार बुझ्दा इतिहासका रोचक पक्षहरू उजागर हुन्छन्।

नागराज खस नै भएको र तिब्बततिर राज्य हात पारेर दक्षिण सिंजामा राजधानी सारेको भन्ने एकथरी मत पाइन्छ। नागराज खस समुदायको नभएर तिब्बती मूलका हुन् भन्ने अर्को मत पनि छ।

प्राप्त ऐतिहासिक स्रोतहरूमा खस सम्राटहरूले आफ्नो अभिजन वा पृष्ठभूमिबारे नखुलाए पनि रिपु मल्ल र उनका छोरा संग्राम मल्लको मुखाकृति चित्रित एउटा पौभाः (थांका) भेटिएको छ, जसमा मुखमुद्रा, पोशाक तथा केशसज्जा तिब्बती शैलीको छ।

यो स्रोतले खसान क्षेत्रमा तिब्बती मूलका राजवंशले राज्य गरेको र खसहरूका राजा भएकाले 'खस राजा' वा 'खसिया राजा' वा 'खस सम्राट' भनिएको तर्फ संकेत गर्छ।

तिब्बती स्रोतले खस सम्राटलाई 'यात्से ग्याल्बो' भनेका छन्। त्यसको अर्थ 'खस राजा' नै हुन्छ। खस राजा भनेपछि खस समुदायकै हुनुपर्दैन, अन्य जातिका पनि हुनसक्छन् भन्ने हेक्का राख्दा यो इतिहास बुझ्न/बुझाउन सजिलो हुन्छ।

खसान क्षेत्रका खस सम्राटहरूले आपत् पर्दा तिब्बततिर नै झुकाव राख्ने गरेको पाइन्छ। सुरक्षाका लागि तिब्बततिर भागेका आदित्य मल्लले त्यहाँ भिक्षु जीवन बिताएका थिए।

गौतम बुद्ध (इपू. ५६३–४८३) को समयमा पावा र कुशीनगर (भारत) लाई राजधानी बनाएर शासन गरिरहेका मल्लहरू बौद्धधर्ममा झुकाव राख्ने भएकाले उनीहरू नै खसान क्षेत्रमा पुगेको अनुमान इतिहासक्रमसँग मिल्दैन।

त्यतिबेला नेपालमण्डलमा देव र मल्ल राजवंशको द्वैधशासन थियो। देव राजवंशको सम्बन्ध खस साम्राज्यसँग थियो। देवहरू मल्ल राजवंशमाथि चढाइँ गर्न खस साम्राज्यसँग मद्दत माग्थे भन्ने कुरा स्पष्ट भइसक्यो। मल्लहरूलाई सघाउने शक्ति दक्षिणको तिरहुत राज्य थियो।

मल्ल थर धारण गर्ने पहिलो खस सम्राट जितारी मल्ल हुन्। उनले नेपालमण्डलमा तीन पटक आक्रमण गरेका थिए–सन् १२८७, त्यसको चौध महीनापछि १२८८ मा र १२८९ मा। मल्लमाथि विजय गरेको आत्मगौरव गर्दै उनले मल्ल थर धारण गरेको मान्न सकिन्छ।

खस सम्राटहरूको अभिजन जसरी मल्ल होइन, त्यसरी नै 'चल्ल' पनि नभएको बुझिन्छ। नागराजका उत्तराधिकारीहरूले खस साम्राज्य विस्तार गरेका थिए। साम्राज्य विस्तारको क्रममा कहीं कतै चल्लहरूसँग मूठभेड भएको र विजयपछि चल्ल थर धारण गरेको अनुमान गरिन्छ।

नागराज, चाप र चापिल्ल पछि क्राशि चल्लको नाम आउँछ। त्यसपछि क्राधि, क्रा र अशोकसम्मले चल्ल थर ग्रहण गरेको पाइन्छ। जितारीपछि रिपु, अक्षय, आदित्य, पुण्य, पृथ्वी, सूर्य र अभयले मल्ल थर धारण गरे। नेपालमण्डलबाट लगेको मल्ल थर खसान क्षेत्रमा प्रतिष्ठाको कुरा हुने गरेको डोटीका राजा नाग मल्लको प्रसंगबाट स्पष्ट हुन्छ।

नाग मल्ल खस साम्राज्यको एउटा सामन्त प्रदेश डोटीका सामन्त निरय पालका छोरा हुन्। मल्ल कन्या सूर्यमालासँग विवाह भएपछि नाग मल्ल भए, नाग पाल। डोटीको राजवंशमा मल्लको शुरूआत यही बेलादेखि भयो।

अहिले आफ्नो कुलपरम्परा र पहिचानको रूपमा जोगाइने थर त्यतिबेला राज्य शक्ति संग्रह वा प्रतिष्ठा वृद्धिसँग सम्बन्धित रहेको बुझिन्छ।

उतिबेलाका राजाहरूले आफ्नो नामबाट नभएर पराजित राजाको नामबाट सम्वत् चलाएको पाइन्छ। त्यस्तैमध्येको एउटा हो– लक्ष्मणसेन सम्वत्।

यो सम्वत् राजा लक्ष्मणसेनले चलाएको नभएर उनीमाथि विजयप्राप्त गर्ने अर्कै राजाले चलाएका थिए। यसबाट बुझिन्छ, खस सम्राटहरूले कुनै थर त्याग्नु र ग्रहण गर्नुमा प्रतिष्ठाको कुरा मात्र थियो, पहिचान होइन। अर्थात्, चल्ल, मल्ल र खस एउटै होइनन्।

प्रतिकृया दिनुहोस