कञ्चनपुर घटना : सरकारको आलोचना सत्तारुढ सांसद्बाटै
व्यवस्थापिका–संसद्को आजको बैठकमा सत्तारुढ र विपक्षी दलका सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन् ।
कञ्चनपुरको आनन्द बजारमा भारतीय सीमा सुरक्षा बलको गोली प्रहारबाट गोविन्द गौतमको मृत्यु भएपछि उचित चासो नदिएको र भारतसँग कुटनीतिक पहल नगरेको भन्दै अधिकांश सांसदहरुले सरकारको चर्को आलोचना गरेका हुन् ।
बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले सार्वभौम राष्ट्रमा यति ठुलो घटना हुँदा समेत सरकारले सामान्य झारा टार्ने विज्ञप्ति निकालेको भन्दै आलोचना गरे । रावलले घटनाको क्षतिपूर्ति भारतबाटै भराउनुपर्ने भन्दै त्यसका लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने धारणा राखे ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद अग्नि सापकोटाले नेपाल सानो मुलुक भए पनि यसको आफ्नै स्वाभिमान भएकाले राष्ट्रिय अस्मिताको रक्षामा सरकार पछि हट्न नहुने र भारतीय पक्षसँग स्पष्ट जवाफ माग्नुपर्ने बताए ।
एमाले सांसद् युवराज ज्ञवालीले कञ्चनपुर घटनामा भारतीय पक्षले माफी माग्नुपर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीकुमारी शाहीले सिमानामा बस्ने नेपाली हरेक दिन भारतीय सुरक्षाकर्मीबाट प्रताडीत हुनुपरेको बताउँदै सरकारले यसको उचित सुनुवाइ नगरेको भन्दै आलोचना गरिन् ।
विशेष समयमा बोल्दै नेपाली काँग्रेसका तारिणीदत्त चटौत, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र अनुराधा थापामगर, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का योगेन्द्र चौधरी, राष्ट्रिय जनमोर्चाका मिना पुनलगायतले सरकारको चर्को आलोचना गरेका थिए ।