एमालेको मेची–महाकाली अभियान फेरि शुरु
तीन दिनका लागि स्थगित नेकपा एमालेले मेची महाकाली अभियान आज हेटौडाबाट शुरु हुँदैछ ।
सप्तरी घटनापछि तीन दिनका लागि स्थगित भएका अभियानलाई एमालेले आज मकवानपुरको हेटौंडाबाट निरन्तरता दिन लागेको हो ।
आज, २७ फागुन दिउँसो २ बजे हेटौंडाको भुटनदेवी विद्यालय परिसरबाट शुरु हुने कार्यक्रममा एमाले अध्यक्ष केपी ओली, बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल लगायतका शीर्ष नेताहरु सहभागी हुने एमाले प्रचार विभाग सिचव विष्णु रिजालले जानकारी दिए ।
औपचारिक कार्यक्रमअघि बिभिन्न स्थानबाट र्याली र बिभिन्न साँस्कृतिक झाँकी प्रदर्शन गरिने एमाले जिल्ला अध्यक्ष मुनु सिग्देलले बताइन् ।
उनका अनुसार कार्यक्रममा मकवानपुरलगायत छिमेकी जिल्लाहरु बारा, पर्सा, रौतहटलगायतका जिल्लाबाट समेत कार्यकर्ता सहभागी हुनेछन् ।
सप्तरी घटनाको विरोधमा संघीय गठबन्धनले नेपालबन्दको आह्वान गरे पनि एमाले कार्यक्रम स्थलमा बन्दको प्रभाव देखिएको छैन् ।
अभियानको टोली भोली २८ फागुन बिहान चितवनतर्फ प्रस्थान गर्नेेछ ।
भोलि कावासोतीमा आमसभा
अभियानको टोली भोलि नै चितवन हुँदै नवलपरासीको कावासोती पुगी आमसभा गर्ने कार्यक्रम तय भएको छ ।
आम सभामा प्रदेश नं. ४ का १० जिल्लाका कार्यकर्ताहरु सहभागी हुने एमाले प्रचार बिभाग प्रदेश नं. ४ ले कावासोतीमा गरेको पत्रकार भेटघाटमा जानकारी गराइएको छ ।
शुक्रबार हेटौडाबाट शुरु हुने अभियान शनिवार दिउँसो एक बजे गैडाकोट आउने र त्यही टोली कावासोती आउने एमाले स्थायी कमिटिका सदस्य एवम् प्रदेश नं. ४ का संयोजक किरण गुरुङले जानकारी दिए ।
उनले सभामा ५० हजार एमाले कार्यकर्ता सहभागी हुने दाबी गरे ।
दीपक ज्ञवाली, हेटौंडाबाट, विद्रोही गिरी नवलपरासी