नेपाल र भारतका अधिकारीबीच तीनबुँदे सहमति
कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा २२ वर्षीय गोविन्दप्रसाद गौतमको २६ फागुनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर मृत्यु भएपछि सीमा क्षेत्रको तनाव कम गर्न नेपाल र भारतका अधिकारीबीच तीनबुँदे सहमति भएको छ ।
घटनापछि भारतको उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लाका डिएम आकाश दीप र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालबीच भएको छलफलपछि तीन बुदे सहमति भएको हो । सहमति भएपछि सीमा क्षेत्रमा देखिएको तनाव पनि मन्थर भएको छ ।
दुई देशको विवादित सीमा क्षेत्रमा दुवै देशको संयुक्त सर्भे टोलीले रेखाङ्कन गरी सीमा विवाद हल गर्ने, एसएसबीको गोली प्रहाराबट नेपालीको मृत्यु भएको घटनाको छानबिन गरेर दोषीमाथि कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको कञ्चनपुरका प्रजिअ खनालले जानकारी दिए ।
त्यस्तै स्थानीयस्तरमा देखिने सीमा समस्या नेपाली सशस्त्र प्रहरी र एसएसबीले समन्वय गरेर हल गर्ने तथा माथिल्लो निकायमा विवादबारे समयमै जानकारी गराउने पनि सहमति भएको छ ।