सुख्खा पहिरोले दरम खोला थुनियो, मध्यपहाडी लोकमार्ग बन्द
मध्यमहाडी लोकमार्ग खण्डको रिघा–७ बाग्लुङमा पहिरो जाँदा दरम खोला थुनिएको छ ।
बाग्लुङको खर्वाङ्ग प्रहरी चौकीका अनुसार २०० मिटरमाथिबाट करिब १५० मिटर जमिन खसेको हो । सुख्खा पहिरोले दरम खोला थुनिनुका साथै मध्यपहाडी लोकमार्गमा यातायात अवरुद्ध भएको छ ।
पहिराका कारण थुनिएको दरम खोला तत्काल खुल्ने नसक्ने खर्वाङ्ग प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भोजराज बानियाले बताए ।
सडक अवरुद्ध भएपछि बाग्लुङ बुर्तीबाङ्देखि सदरमुकाम हुँदै काठमाण्डौ चल्ने सवारी साधनहरु खर्वाङ्गमा रोकिएका छन् । बाटो खुलाउन पनि सहज नभएको प्रहरीले जनाएको छ ।
हिजोदेखि खस्न थालेको सुख्खा पहिरो आज पनि नरोकिएको स्थानीय बासिन्दा जनाएको छ । अहिले सुख्खा पहिरो गएको ठाउँमा प्रहरी टोली पुगेको छ । पहिरोका कारण त्यस क्षेत्रको विद्युत सेवा पनि अबरुद्ध भएको छ ।